अभियान संवाददाता
असार २, दोलखा । दोलखामा रहेको दिव्य प्लाई उद्योगले वार्षिक ६ करोड रुपैयाँभन्दा बढीको प्लाई उत्पादन गरेको छ । भीमेश्वर नगरपालिका–७, मकैबारीमा रहेको प्लाई उद्योगले उक्त रकमको प्लाई उत्पादन गर्ने गरेको हो ।
१३ करोड रुपैयाँको लागतमा २०६८ सालमा स्थापना भएको उद्योगले पूर्ण क्षमतामा काम गर्दा १ सय ५० भन्दा बढीले रोजगारी पाइरहेको उद्योग सञ्चालक शिव शिवाकोटीले बताए ।
उद्योगले हाल ३ ब्राण्डका विभिन्न मोटाइका प्लाई उत्पादन गरिरहेको छ । उद्योगका उत्पादनमा दिव्य प्लाई, दोलखा प्लाई तथा पावरटच रहेको उद्योगले जानकारी दिएको छ । उद्योगले हाल नर्मल प्लाई, डोरप्लाई तथा वाटरप्रुफ प्लाई उत्पादन गरिरहेको शिवाकोटीको बताए ।
अत्याधुनिक मेशिन तथा गुणस्तरीय सामग्रीको प्रयोग गरी प्लाई उत्पादन गरिने भएकोले यसका उत्पादनको गुणस्तरीयतामा उपभोक्ताबाट कुनै गुनासो नआएको शिवाकोटीको दाबी छ ।
गुणस्तरीयतामा ग्राहकको विश्वास जित्न सकेको कारण आफ्ना उत्पादनको माग दोलखाका अतिरिक्त यसका छिमेकी जिल्ला, काठमाडौं उपत्यका तथा पोखरासम्म रहेको उनले बताए ।
उद्योगका लागि कच्चापदार्थका रूपमा प्रयोग गरिने उत्तीस, स्थानीय चन्दनलगायत नरम जातका काठ दोलखाबाटै प्राप्त भइरहेको तथा रेजिन पाउडर, झोल तथा फेसपत्ता भारतबाट ल्याइने उद्योगले जानकारी दिए । उद्योगमा नेपालीका अतिरिक्त २५ भारतीयले समेत रोजगारी पाइरहेका उद्योगले बताएको छ । उद्योगमा २३ रोपनी क्षेत्रफलमा फैलिएको छ ।