अभियान संवाददाता
काठमाडौं । अमेरिकाको म्यासाच्युएट्स इन्ष्टिच्युट अफ टेक्नोलोजी (एमआईटी)ले नेपालमा एमआईटी ग्लोबल स्टार्टअप ल्याब्स (जीएसएल) कार्यक्रम शुरू गरेको छ । एमआईटीले काठमाडौं विश्वविद्यालय र एनसेलसँगको सहकार्यमा कार्यक्रम सञ्चालन गरेको हो । नेपालमा एमआईटी जीएसएलले विकासशील अर्थतन्त्रमा प्रविधिमा आधारित उद्यमीलाई सबल बनाउन तथा स्टार्टअपको विकासका लागि आवश्यक प्रणालीको सिर्जना गर्न सहयोग पुर्याउँदै आएको छ ।
एमआईटीले विगत १८ वर्षदेखि दक्षिण एशियाको भारत र श्रीलङ्कालगायत विश्वका २५ देशमा यस्तो कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रमले प्रविधिमा आधारित युवाउद्यमीको प्रवद्र्धन गर्दै आर्थिक विकासमा सहयोग पु¥याउँदै आएको छ । नेपालमा एनसेलको सहयोगमा यो कार्यक्रम सञ्चालन हुन लागेको हो ।
नेपालका लागि श्रीलङ्काली राजदूत स्वर्ण परेरा, अमेरिकी दूतावासकी कल्चरल अफेयर्स अफिसर ग्रेस क्यारोल, नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनाल, काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार प्राडा भोला थापा, एमआईटीका इलेक्ट्रिकल इञ्जिनीयरिङ र कम्प्युटर साइन्स विभागका एशोसिएट विभाग प्रमुख तथा जीएसएलका फ्याकल्टी को—डाइरेक्टर प्रोफेसर समन अमरासिङ्घे एवम् एनसेलका प्रबन्ध सञ्चालक सुरेन जे. अमरासेकराले शुक्रवार एक कार्यक्रमबीच संयुक्त रूपमा उक्त कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रमअन्तर्गत काठमाडौं विश्वविद्यालयका विद्यार्थी तथा विश्वविद्यालयका अल्मुनाईबाट छानिएका ३५ जना विद्यार्थीले मोबाइल प्रविधि र उद्यमशीलतासम्बन्धी एमआईटीको पाठ्यक्रमअन्तर्गत प्रशिक्षण प्राप्त गर्नेछन् । कार्यक्रम शुक्रवारदेखि आगामी साउन १७ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रको अन्त्यमा सहभागी विद्यार्थीले आफ्नो परियोजनाका प्रोटोटाइप प्रस्तुत गर्नेछन् । विद्यार्थीलाई उद्यमशीलताको ज्ञान प्रदान गर्नु र स्टार्टअपको विकासमा सहयोग गर्नु कार्यक्रमको लक्ष्य रहेको बताइएको छ ।