सीएसएबीएफ फोरम बैठक चीनको कुनमिङमा : लगानीकर्तालाई नेपालमा लगानी गर्न अध्यक्ष राणाको आग्रह
Jun 17, 2018
 
बजार
अभियान संवाददाता
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले बीआरआई अभियान दक्षिण एशिया क्षेत्रको विकासका लागि कोशेढुङ्गा हुने बताएकी छन् । चीनको युनान प्रान्तको कुनमिङमा आयोजित १३औं चीन–दक्षिण एशिया व्यवसाय फोरमको बैठकमा राणाले बीआरआई चीन तथा दक्षिण एशियाली राष्ट्रसँग दक्षिण पूर्वी एशिया, मध्य एशिया, यूरोप, अफ्रिकाको अर्थतन्त्रलाई जोड्ने शताब्दीकै महत्त्वपूर्ण आधार हुने विश्वास व्यक्त गरिन् ।
अन्तरराष्ट्रिय व्यापार प्रवद्र्धनका लागि चिनियाँ परिषद्, युनान उपपरिषद् र सार्क उद्योग वाणिज्य सङ्घद्वारा संयुक्त रूपमा आयोजना गरिएको उक्त फोरमको बैठकमा भाग लिन महासङ्घका अध्यक्ष राणाको नेतृत्वमा महासङ्घको प्रतिनिधिमण्डल चीनको युनान प्रान्तमा रहेको छ ।
चीन तथा दक्षिण एशियाका व्यवसायिक नेतृत्वको सो फोरमलाई सम्बोधन गर्दै अध्यक्ष राणाले मित्रराष्ट्र चीन सरकारले अगाडि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ अभियानले रोजगारी सृजना, पूँजी वृद्धि, नवीनतम प्रविधिको विकासमार्फत चीन तथा दक्षिण एशिया क्षेत्रका जनताको जीवनस्तर उच्च बनाउने धारणा राखिन् ।
नेपालका साथै चीन, भारत, अफगानिस्तान, भुटान, पाकिस्तान, श्रीलङ्का, माल्दिभ्स, बङ्गलादेशका व्यावसायिक नेता, सार्क उद्योग वाणिज्य सङ्घका अध्यक्षसहित पदाधिकारी, बाह्य देशका प्रतिनिधिहरू सहभागी सो फोरमको यस वर्षको प्रमुख विषय सेपिङ फ्यूचर टुगेदर–इण्डष्ट्रियल कोअपरेशन अफ म्यूचियल ओपनिङ रहेको छ । राणाले चिनियाँ लगानीकर्ताहरुलाई चीन तथा बीआरआईस“ग जोडिएका देशमा खपत हुन सक्ने वस्तुहरू उत्पादन गर्ने गरी नेपालमा लगानी गर्न आग्रह गरिन् । आपसी सहकार्यका माध्यमबाट नयाँ नयाँ अवसरको सृजना गरी यस क्षेत्रका बासिन्दाको जीवस्तर सुधारमा अग्रगामी सोचका साथ अघिबढ्नु पर्नेमा जोड दिँदै अध्यक्ष उनले यस क्षेत्रका राष्ट्रका बजारसम्म सहज पहुँच पु¥याउन सकियो भने विकास र समृद्धि टाढाको विषय नहुने बताइन् ।