‘हाइकिङ काठमाडौं’ सार्वजनिक : उपत्यकाका ६४ हाइकिङ रूट र १ दर्जन होम स्टे विवरण
Jun 18, 2018
 
बजार
अभियान संवाददाता
काठमाडौं । हाइकिङ पर्यटनमा टेवा पुर्याउने उद्देश्यले हाइकिङविज्ञ रामदेवी महर्जनले लेखेको पुस्तक ‘हाइकिङ काठमाडौं’ सार्वजनिक भएको छ । महर्जन नेपालका हाइकिङ अभियन्ता पनि हुन् । महर्जनको पुस्तकमा काठमाडौं उपत्यकाका ६४ हाइकिङ रूट, १ दर्जन होम स्टे गाउँको सचित्र विवरण समेटिएको छ । हरेक हाइकिङ रूटको जानकारी, नक्सा, तस्वीर र हाइकर्सको तस्वीर समेटिएको छ ।
हिमालयन म्याप हाउसले प्रकाशन गरेको पुस्तकको राजधानीमा विमोचन गरिएको छ । आइतवार नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशी, प्रकृतिप्रेमी समूहका संस्थापक डा. उमेश श्रेष्ठ, समूहका अध्यक्ष रमेश चित्रकार, म्याप हाउसका निर्देशक पवन शाक्य र पुस्तक लेखक रामदेवी महर्जनले पुस्तक सार्वजनिक गरेका हुन् । हाइकिङ काठमाडौं पुस्तकमा हाइकिङ गन्तव्यको चिनारीका साथै हाइकिङ गर्ने तरीका, विश्व सम्पदा क्षेत्र र स्वास्थ्यका विभिन्न शीर्षक समेटिएको छ । यो पुस्तक हाइकिङका साथै साइक्लिङ, बाइकिङ, ड्राइभिङ गर्नेका लागि समेत उपयोगी छ ।
पर्यटन बोर्डका सीईओ जोशीले हाइकिङ नेपालको पर्यटनमा एउटा अनुपम प्रडक्ट रहेको बताउँदै यसले काठमाडौंको हाइकिङ पर्यटनमा महŒवपूर्ण योगदान दिने बताए । उनले भने, ‘हाइकिङ काठमाडौं पुस्तक पर्यटन इतिहासमा एउटा ठूलो उपलब्धि हो ।’ हाइकिङ काठमाडौं पुस्तककी लेखक महर्जनले स्वस्थ पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउन पुस्तक लेखेको बताइन् ।