अभियान संवाददाता
काठमाडौं । कतार एयरवेजले ग्रीसको माइकोनोस उडान गर्ने भएको छ । सोमवार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा एयरलाइन्सको नयाँ गन्तव्यबारे जानकारी दिँदै कतार एयरवेजले सो कुरा बताएको हो । यसअघि ग्रीसको एथेन्स र थेसालोन्कीमा उडान गरिरहेको कतारका लागि यो तेस्रो गन्तव्य हो ।
कार्यक्रममा नेपालका लागि ग्रीसका अनेररी काउन्सेलर विक्रम पाण्डेले मानव सभ्यताको प्राचीन इतिहास र पहिचान बोकेको कतारले ग्रीसमा उडान शुरू गरेर नेपाल र ग्रीसलाई जोड्ने काम गरेको बताए । उनले यो सेवाले नेपालको पर्यटनमा टेवा पुग्ने भन्दै नेपालबाट छोटो समयका लागि ग्रीस घुम्न जान सकिने गन्तव्य बन्ने जानकारी दिए ।
कार्यक्रममा कतार एयरवेजका नेपालस्थित कण्ट्री म्यानेजर जयप्रकाश नायरले कतारको यो सेवाले नेपाली तथा विदेशी दुवै लाभान्वित हुने बताए । उनले आकर्षक गन्तव्य मानिने माइकोनोस जान चाहनेका लागि कतारको उडान सहयोगी हुने धारणा राखे । कण्ट्री म्यानेजर नायरले हाललाई माइकोनोसमा साताको चारओटा उडान दोहा हुँदै गरिने बताए । कतारले एयरबस ३२० बाट एथेन्समा दैनिक चार र थेसालोन्कीमा साप्ताहिक चारओटा उडान गरेको कार्यक्रममा जानकारी दिइयो ।
माइकोनोसमा उड्ने एयरबसमा १२ सीट बिजनेश क्लास र १ सय ३२ सीट इकोनोमी छन् । कतार एयर सन् २०१७ मा ‘एयरलाइन्स अफ दि एयर’बाट सम्मानित विमान कम्पनी हो ।