अभियान संवाददाता
काठमाडौं । विद्यार्थीको सिकाइ उपलब्धि प्रत्येक वर्ष घटेको नेशनल एसेसमेण्ट अफ स्टुडेण्ट अचिभमेण्ट (नासा)को प्रतिवेदनले देखाएको छ । शिक्षा मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले सन् २०११ देखि २०१७ सम्म नेपाली, अङ्ग्रेजी र गणित विषयमा कक्षा ५ का विद्यार्थीको सिकाइबारे अध्ययन गरेको थियो । उक्त अध्ययनअनुसार प्रत्येक वर्ष यी विषयमा सिकाइ उपलब्धि घटेको तथ्य हालै सार्वजनिक भएको हो ।
प्रतिवेदनअनुसार सन् २०१२ मा राष्ट्रिय औसतका आधारमा कक्षा ५ का विद्यार्थीको अङ्ग्रेजीको सिकाइ उपलब्धि ५४ प्रतिशत, नेपालीको ६० प्रतिशत र गणितको ५३ प्रतिशत थियो । सन् २०१५ मा आइपुग्दा घटेर अङ्ग्रेजीको सिकाइ उपलब्धि ४७ प्रतिशत, नेपालीको ४६ प्रतिशत र गणितको ४८ प्रतिशत पुगेको छ ।
शिक्षा पत्रकार समूहले मङ्गलवार आयोजना गरेको ‘विद्यार्थीको सिकाइ स्तर, कसरी गर्ने सुधार ?’ अन्तरक्रियामा समूहकी अध्यक्ष रोश्ना सुब्बाले नासाको प्रतिवेदनलाई आधार मानी प्रदेश नम्बर २ मा विद्यार्थीको सिकाइ स्तरको अवस्थाबारे गरिएको स्थलगत प्रतिवेदन सार्वजनिक गरेकी हुन् । सो प्रतिवेदनले ५ कक्षाका विद्यार्थीले आफ्नो नाम, विद्यालयको नाम, बुबाको नामलगायत सामान्य लेखाइसमेत नजानेको प्रमाणसहित प्रस्तुत गरिएको थियो ।
प्रतिवेदनले विद्यालयकोे भण्डाफोर गरेको प्रतिक्रिया दिँदै शिक्षा मन्त्रालयका सचिव खगराज बरालले कमजोर शिक्षकका कारण सिकाइ कमजोर बनेको बताए । उनले सक्षम शिक्षक उत्पादन र विकासमा सरकार लाग्ने प्रतिबद्धता व्यक्त गरे । शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले सरकार भर्ना अभियानमा मात्रै केन्द्रित हुँदा सिकाइ सुधारमा खासै केन्द्रित हुन नसकेको स्वीकार गरे । दोस्रो चरणको भर्ना अभियानपछि सिकाइ सुधारका लागि विशेष कार्यक्रम ल्याउने उनले जानकारी दिए । शिक्षाविद् प्राडा. विद्यानाथ कोइरालाले कमजोर सिकाइ स्तरको दोष एक अर्कालाई लगाउन छाडेर संयुक्त रूपमा सिकाइ सुधारको पहल हुनुपर्नेमा जोड दिए । शिक्षकको योग्यताको आधारमा वर्गीकरण गरी उत्कृष्टलाई पुरस्कृत र सम्मानका साथै कमजोर शिक्षकलाई तत्काल हटाउनुपर्नेमा उनको जोड थियो ।