अभियान संवाददाता
तनहुँ । धार्मिक तथा आयुर्वेदिक क्षेत्रमा प्रयोग हुँदै आएको बेल तनहुँका केही सामुदायिक वनको आयआर्जनको माध्यम बनेको छ । जिल्लास्थित म्याग्दे गाउँपालिका–१, २ र ३ मा रहेका ६ ओटा सामुदायिक वन उपभोक्ता समूह मिलेर बेल जुस उद्योग स्थापना गरेपछि बेलबाट राम्रो आम्दानी हुन थालेको हो ।
२०७१ सालमा ६ ओटा सामुदायिक वन, यूएसएड, केएर नेपाल र हरियो वन कार्यक्रममार्फत मेशिनरी औजार खरीद गरी उद्योग स्थापना गरिएको थियो । उद्योग स्थापना तथा मेशिनरी औजार खरीदका लागि ११ लाख २८ हजार यूएसएड, केएर नेपाल, हरियो वन कार्यक्रममार्फतको आर्थिक सहयोग प्राप्त भएको हो भने ४ लाख ६० हजार रुपैयाँ सामुदायिक वनले लगानी गरेको हो । संयुक्त लगानीमा माउण्टेन तनहुँ सामुदायिक बेल तथा फलफूल प्रशोधन उद्योग स्थापना भएको थियो ।
जामुनेको सिद्धवतासन, उमाचोक, भीरपानी बच्र्याङ, पँधेरीखोला र पोर्सेली सामुदायिक वन समूहको सक्रियतामा उद्योग स्थापना भएको हो । उद्योग सञ्चालन गर्दै आएका ६ ओटा सामुदायिक वनमध्ये १ सय १७ हेक्टर क्षेत्रफलमा बेल पाइन्छ र बेलको ५० प्रतिशत मात्र उपयोग गर्नसके मात्र पनि वार्षिक १ करोडको जुस उत्पादन गर्न सकिन्छ । १ वर्षमा २ हजार ५ सय बोतल जुस उत्पादन गरी बजारमा विक्री गरेर ३ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको उद्योगका संयोजक विष्णुकुमार श्रेष्ठले जानकारी दिए । उद्योगबाटै प्रतिबोतल १ सय ३० रुपैयाँमा विक्री हुने बेलको जुस तनहुँका साथै पोखरा, काठमाडौं र नारायणगढका बजारमा निर्यात हुने गर्छ ।
उक्त उद्योगमा सातजना महिलाले रोजगारीसमेत पाएका छन् । उद्योगबाट स्थानीय उत्पादन अदुवा, सुन्तला र कागतीबाट समेत जुस बनाउन शुरू गरिएको छ । बेलको जरा, बोक्रा, पात, काण्ड, फल र बियाँसमेत आयुर्वेदिक औषधिमा प्रयोग हुन्छ । बेल हैजा, मधुमेह, दम र रक्तअल्पता, आउँ, झाडापखाला, कब्जियत, मधुमेह र रक्तचापका बिरामीका लागि पनि अति उपयोगी हुने विशेषज्ञले बताउँछन् ।