किन ढिलो हुन्छ धितोपत्र निष्कासनको प्रस्ताव स्वीकृत हुन ?
Jun 24, 2018
 
लगानी
अभियान संवाददाता
केही कम्पनीले घोषणा गरेको धितोपत्र निष्कासनमा धेरै ढिलो हुने गरेको लगानीकर्ताको गुनासो बढेको छ । यसमा नेपाल धितोपत्र बोर्डको अनुमति नपाएर ढिलो भएको भन्ने भनाइ कम्पनीहरूको हुन्छ । प्राथमिक शेयर (आईपीओ) तथा हकप्रद शेयर निष्कासन दुवैमा यस्तो समस्या छ । कुनै कम्पनीको जारी हुन लागेको धितोपत्रको प्रस्तावमा कुनै त्रुटि देखिए वा केही कागजपत्र नपुगेमा बोर्डले निवेदन स्वीकृत गर्दैन ।
आँखुखोला जलविद्युत् कम्पनी र गर्जाङ उपत्यका हाइड्रोपावरले ल्याउने भनिएको आईपीओ अहिलेसम्म स्वीकृत भएको छैन । २०७३ सालदेखि यी दुई जलविद्युत् कम्पनीको आईपीओ प्रस्ताव धितोपत्र बोर्डमा ‘पेण्डिङ’ छ । त्यस्तै, अपी पावर कम्पनी, श्रीराम सुगर मिल्स र एनसीसी बैङ्कले हकप्रद शेयर जारी गर्न बोर्डको अनुमति पाएका छैनन् । धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीका अनुसार धितोपत्र बोर्डले मागेको विवरण यी कम्पनीले पेश नगरेपछि धितोपत्र निष्कासनको अनुमति नदिएको हो ।
२०७३ जेठ ३१ गते आखुखोला जलविद्युत् कम्पनीले २० लाख कित्ता शेयर आईपीओ जारी गर्न निवेदन दिएको थियो । यस कम्पनीको कागजपत्रमा समस्या देखिएपछि बोर्डको प्रक्रिया रोकिएको कम्पनीको विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटका मर्चेण्ट बैङ्किङ प्रमुख कमल खत्रीले बताए । कम्पनीले साधारण शेयर निष्कासनका लागि निवेदन पेश गरिसकेपछि स्थानीयका लागि जारी हुने शेयरको शतप्रतिशत अण्डरराइटिङ हुनुपर्ने नियम बन्यो र त्यो नियम पूर्णरूपले लागू हुन १ वर्ष लाग्यो । र, २०७५ जेठ १३ गते सम्पन्न भएको कम्पनीको साधारणसभाले उक्त नियमलाई आफ्नो आईपीओ प्रस्तावमा पनि समेट्यो । साथै, बोर्डले मागेका कागजपत्र तथा अन्य व्यवस्था पनि अद्यावधिक गरेर पेश गरिसकिएको तथा कम्पनीको साधारण शेयरको निष्कासनको प्रक्रिया बोर्डले हाल अगाडि बढाइरहेको उनको भनाइ छ ।
गर्जाङ उपत्यका हाइड्रोपावरले स्थानीयका लागि २ लाख कित्ता शेयरको आईपीओ जारी गर्न २०७३ असोज १४ गते बोर्डमा निवेदन दिएको थियो । धितोपत्र बोर्डले यस कम्पनीलाई क्रेडिट रेटिङ गराएर पेश गर्न २०७४ वैशाख १३ गते अनुरोध गरेको थियो । कम्पनीले आवश्यक कागजपत्र उपलब्ध नगराएपछि धितोपत्र बोर्डमा उसको आईपीओको प्रस्ताव पेण्डिङ छ ।