अभियान संवाददाता
असार १०, वीरगञ्ज । वीरगञ्ज महानगरको दोस्रो नगरसभाले आइतवार आगामी आर्थिक वर्ष २०७५/७६ का लागि करीब ५ अर्ब रुपैयाँको आयव्यय सार्वजनिक गरेको छ । नगर उपप्रमुख शान्ति कार्कीले ४ अर्ब ९४ करोड ३१ लख रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरिन् ।
चालु खर्चतर्फ एक अर्ब ४४ करोड ७९ लाख र पूँजीगततर्फ ३ अर्ब ५१ करोड ४३ लाख रुपैयाँ खर्च अनुमान गरिएको छ । वित्तीय व्यवस्थापनमा १ करोड ५८ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । बजेटले क्षेत्रगत रुपमा वातावरण तथा विपद् व्यवस्थापनमा १ करोड ९१ लाख, सामाजिक विकास क्षेत्रतर्फ ८५ करोड ५५ लाख, कृषि र पर्यटनमा २ करोड २० लाख रुपैयाँ विनियोजन गरेको छ ।
यो रकममध्ये सङ्घीय सरकारबाट सशर्त अनुदान ५५ करोड, प्रदेश सरकारबाट ३ करोड, सङ्घीय सरकारका कार्यक्रमसँग आबद्ध रकम २५ करोड ४६ लाख, वैदेशिक स्रोततर्फ २ अर्ब ६१ करोड ८२ लाख रुपैयाँ आउने बताइएको छ । सङ्घीय सरकारको समानीकरण अनुदान ४३ करोड १७ लाख, प्रदेश सरकारको ७७ लाख ९९ हजार, राजस्व बाँडफाँटबाट २२ करोड १८ लाख र आन्तरिक आय ५९ करोड ५३ लाख हुने उल्लेख छ ।
पूर्वाधार निर्माण, स्वास्थ्य, शिक्षा र कृषिको विकाससँगै उद्योग व्यापार मैत्री नीति अवलम्बन गर्दै करका नयाँ दर लागू गरिएको महानगरका प्रमुख विजयकुमार सरावगीले बताए । नगर प्रमुख सरावगीले नगरको विकासमा आफू लागिपर्ने बताए । विकासमा राजनीति गर्न नहुने भन्दै उनले राजनीतिक हस्तक्षेपका कारण काम गर्न समस्या भएको गुनासोसमेत गरे ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत डा. भिष्मकुमार भुषालले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।