उद्योग मन्त्रीको सिफारिसमा ४ ठूला चिनी उद्योगी पक्रिन गृहको सर्कुलर
Jun 24, 2018
 
समाचार
मुख्य खबर
अभियान संवाददाता
असार १०, काठमाडौं । उद्योग मन्त्रालयको सिफरिसमा ४ ठूला चिनी उद्योगीलाई तत्काल पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयले निर्देशन दिएको छ । ऊखु किसानलाई समयमा भुक्तानी नदिएको आरोपमा उद्योग मन्त्रालयले ४ ठूला उद्योगीलाई पक्राउ गर्न सिफारिस गरेपछि गृहले पक्राउको सर्कुलर जारी गरेको छ ।
उद्योग मन्त्रालयले अन्नपूर्ण सुगर एण्ड जनरल इन्डष्ट्री प्रालि सर्लाहीका सञ्चालक राकेश अग्रवाल, इन्दिरा सुगर मिल्स नवलपरासीका सञ्चालक ज्ञानप्रसाद भट्टराई, बागमती सुगर मिल्स नवलपरासीका सञ्चालक जगदीशकुमार अग्रवाल र एभरेष्ट सुगर एण्ड केमिकल्स इन्डष्ट्रिज महोत्तरीका सञ्चालक शशिकान्त अग्रवाललाई पक्राउ गर्न गृहलाई सिफारिस गरेको छ । शशिकान्त अग्रवाल चीनि उत्पादक सङ्घका अध्यक्षसमेत हुन् ।
उद्योग मन्त्री मातृका यादवले गृहलाई पत्र नै लेखेर कारवाहीको लागि सिफारिस गरेका छन् । ऊखुबाट चिनी उत्पादन गरेर विक्री गरिसक्दासमेत किसानलाई भुक्तानी नदिएपछि कारवाहीको बाटोमा जानु परेको उद्योग मन्त्रालयका प्रवक्ता दिनेश भण्डारीले बताएका छन् ।
सर्लाही, महोत्तरी, नवलपरासी पूर्व र पश्चिमका जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै उद्योगी पक्रन गृहले निर्देशन दिएको बताईएको छ । ‘हालसम्म ऊखु किसानलाई दिनुपर्ने भुक्तानी नदिई कार्यालय बन्द गराई किसानहरुलाई मर्कामा पारेको’ले पक्राउ गर्न निर्देशन दिइएको गृहको पत्रमा उल्लेख छ । पत्रमा ती उद्योगका सञ्चालकलाई पक्राउ गरी कानूनबमोजिम कारवाही अघि बढाउन र त्यसको जानकारी गृह मन्त्रालयलाई दिन पनि भनिएको छ ।
ऊखु किसान र उद्योगीबीच ऊखुको मूल्य भुक्तानीको विवाद बढिरहेका बेला सरकारले उद्योगीलाई पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाएको हो । प्रत्येक वर्ष उखुको मूल्य भुक्तानीको विवाद बढिरहे पनि यस्तो कारवाहीको दबाब भने अहिलेसम्म भएको थिएन् ।
नेपालमा उत्पादन हुनेभन्दा आयातित चिनी सस्तो हुने भन्दै चिनी उत्पादक सङ्घले चिनीमा ५० प्रतिशत भन्सार लगाउन माग गरेको थियो । अर्थ मन्त्रालयले बजेटअघि नै भन्सार दर १५ बाट ३० प्रतिशत पुर्याइदिएको छ । यद्यपि, अझै पनि आयातित चिनीसँग प्रतिस्पर्धा गर्न नसकेको कारण भुक्तानी दिन नसकको उद्यागीहरुको भनाई छ ।