अभियान संवाददाता
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि १ अर्ब ६३ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । उपप्रमुख मीनाकुमारी लामाले आइतवार तेस्रो नगरसभामा प्रस्तुत गरेकी हुन् ।
कुल बजेटको १० दशमलव १८ प्रतिशत अर्थात १६ करोड ६० लाख रुपैयाँ प्रशासनिक खर्च, वडास्तरीय आयोजना तथा कार्यक्रमका लागि २० करोड ५० लाख रुपैयाँ, सामाजिक विकासअन्तर्गत ५९ करोड १८ लाख रुपैयाँ र पूर्वाधार विकासमा ३७ करोड ९ लाख रुपैयाँ प्रस्ताव गरिएको छ । चालू आवका लागि कुल आन्तरिक आय १५ करोड ५० लाख रुपैयाँ अनुमान गरिएकोमा वैशाखसम्म १३ करोड ४६ लाख २४ हजार रुपैयाँ सङ्कलन भएको लामाले जानकारी दिइन् ।
बाह्य आयतर्फ सरकारबाट प्राप्त भएको सशर्त तथा समानीकरण अनुदान र प्रदेश सरकारबाट प्राप्त भएको सशर्त तथा समानीकरण अनुदान रकमसमेत समावेश गरी कुल आय प्रक्षेपण गरिएको उनले बताइन् । बजेट विनियोजन गर्दा भूगोल, जनसङ्ख्या, गरीबीको अवस्था र पूर्वाधारको विद्यमान अवस्थाको आधारमा वडालाई ‘क’ र ‘ख’मा वर्गीकरण गरिएको छ । वडा नं. १, ३, १२, १३, १४, १५, १६, १७, १८ र १९ लाई ‘क’ वर्ग अर्थात् उच्च प्राथमिकतामा राखी प्रतिवडा १ करोड १५ लाख र अन्य ९ ओटा वडालाई ‘ख’ वर्गमा राखी प्रतिवडा १ करोड रुपैयाँ विनियोजन गरिएको छ ।