अभियान संवाददाता
काठमाडौं । आफ्नो उद्योग व्यवसायलाई आवश्यक जनशक्ति नेपालकै उत्कृष्ट बिजनेश स्कूलबाट छनोट गरेर लिन सकिन्छ भन्नेमा नेपाल उद्योग परिसङ्घका वरिष्ठ उपाध्यक्ष सतीशकुमार मोर निर्धक्क भएका छन् । न्यूबिज बी–स्कूल रेटिङ–र्याङ्किङ अवार्डपछि उनी बिजनेश स्कूलसँग छलफल गर्दै सम्बन्ध विस्तार गर्ने निचोडमा पुगेका छन् ।
शर्मा एण्ड कम्पनीका निर्देशक लता शर्मा पनि न्यूबिज बी–स्कूल रेटिङ–र्याङ्किङ अवार्डपछि काठमाडौंबाहिरका उत्कृष्ट र काठमाडौंका स्तरीय कलेजबारे जानकार भएकी छन् । कार्यक्रमकै माझ उनले विभिन्न व्यवस्थापन सङ्काय अध्ययन गराउने शैक्षिक संस्थासँग सम्बन्ध बनाउन थालेकी छिन् । ‘कामको व्यस्तता र भेटघाटको वातावरण नबनेकाले प्राज्ञिक उद्यमीसँग अन्तरसंवाद हुन सकिरहेको थिएन,’ कार्यक्रममा सहभागी एक व्यवसायीले भने, ‘यो कार्यक्रमले छलफलको वातावरण बनेको छ ।’
न्यू बिजनेश एज प्रालिको आयोजनामा गत शुक्रवार बी–स्कूल रेटिङ–र्याङ्किङ अवार्ड २०१८ आयोजना हुँदा अधिकांश सहभागीले सम्मान र प्रेरणाका साथ सम्बन्ध गाँस्ने वातावरण पनि बनाए । न्यूबिजको आयोजनामा अवार्डको चौथो संस्करण सम्पन्न भएको हो । देशभरका १ हजार २ सय ७४ व्यवस्थापन कलेज मध्येबाट यस पटक उत्कृष्ट ३७ कलेज सम्मानित भए ।
अहिले एकातर्फ उद्यमी–व्यवसायीले नेपालमा शीप जानेका दक्ष जनशक्ति पाउन मुश्किल भइरहेको अनुभव गरिरहेका छन् भने अर्कोतर्फ शैक्षिक उद्यमीले विद्यार्थीलाई काम दिलाउने वातावरण बनाउन गाह्रो भइरहेको अनुभव गरिरहेका छन् । यसरी दुई निकायबीच सामञ्जस्य हुन नसकिरहेको अवस्थामा न्यूबिजले गरेको बी स्कूल रेटिङ–¥याङ्किङ अवार्ड कार्यक्रम एक–अर्कालाई चिन्ने र सम्बन्ध गाँस्ने प्लेटफार्म बनेको छ ।
अवार्डले बिजनेश स्कूल र बिजनेश कम्युनिटीबीच भेटघाटको वातावरण बनेको मात्र नभई एक–अर्काको आवश्यकता पूरा गर्ने परिस्थिति पनि तयार गरिदिएको छ । उक्त कार्यक्रममा व्यवसायीले कलेजहरूलाई आवश्यक पर्ने जनशक्तिका लागि विषय र प्रयोगात्मक ज्ञान दिन आग्रह गर्न भ्याए भने बिजनेश स्कूलहरूले जब प्लेसमेण्ट र इण्टर्नशिप गराउने वातावरण बनाइदिन अनुरोध गरे ।
एमबीए, एमबीएस, बीबीए, बीबीएस र बीएचएम गरी पाँच क्याटेगोरीका उत्कृष्ट १०/१० र पब्लिकतर्फ उत्कृष्ट ६ तथा प्रदेशबाट उत्कृष्ट ६ कलेज पनि कार्यक्रममा सम्मानित भए । त्यसमध्ये हरेक क्याटेगोरी र प्रदेशका उत्कृष्ट एक/एक गरी १२ ओटा कलेजले ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे । बाँकी अन्य कलेजलाई प्रमाणपत्रद्वारा सम्मान गरियो ।
होटल र्याडिसनमा आयोजित कार्यक्रममा उपस्थित व्यवसायीहरूले अवार्ड वितरणले उत्साह छाएको र अझ प्रगति गर्न घचघच्याएको अभिव्यक्ति दिए । कार्यक्रममा उपस्थित नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले भने, ‘यो अवार्ड विवादरहित हुनु, चौथो संस्करणसम्म आइपुग्दा झनै विश्वस्त र पारदर्शी बन्नु गर्वको कुरा हो ।’
कार्यक्रममा सहभागीहरूले नेपालको व्यावसायिक इतिहासमा न्यू बिजनेश एज प्रालिले आयोजना गर्दै आएको यो अवार्डलाई प्रतिष्ठित अवार्डको उपमा दिए । उनीहरूका अनुसार यसले यस वर्ष पनि उद्यमी व्यवसायी र प्राज्ञिक व्यक्तिमा नयाँ उमङ्गका साथै सकारात्मक ऊर्जा प्रवाह गरेको छ ।
भविष्यका लागि आवश्यक उत्कृष्ट व्यवस्थापक र नयाँ उद्यमी उत्पादन गरिरहेका कलेजलाई सम्मानित तथा उत्साहित गर्ने उद्देश्यले यस प्रकारको कार्यक्रम गरिएको न्यू बिजनेश एज प्रालिका अध्यक्ष मदन लम्सालले बताए । शिक्षा सचिव खगराज बरालले अन्तरराष्ट्रिय जगत्मा राज्यले नै कलेजहरूको र्याङ्किङ गरिदिने व्यवस्था रहेको र नेपालमा हुन नसकिरहेको अवस्थामा न्यू बिजनेश एजले गरेको कार्यको सराहना गरे ।
न्यूबिजले यो अवार्ड कार्यक्रम सन् २०१३ देखि शुरू गरेको हो । सन् २०१३ र २०१४ मा नियमित रूपमा सम्पन्न भएको कार्यक्रम भूकम्प तथा अन्य विविध कारणले बीचमा २ वर्ष आयोजना हुन सकेको थिएन । गत वर्षदेखि कार्यक्रमले पुनः निरन्तरता पाएको हो ।