आर्थिक अभियान
बिजनेश संस्थाहरूबीच अन्तरक्रियाको कमी छसूर्यकिरण श्रेष्ठप्रोग्राम कोअर्डिनेटर(बीएचएम), नाथम
सामान्यतया सरकारी कलेज निजी क्षेत्रका कलेजभन्दा पछाडि छन् भन्ने कुरा आउँछ । तर, नाथमको हकमा त्यस्तो छैन, यो कुरा यसै छनोट प्रक्रियाले पनि पुष्टि गरेको छ । अब यसले गरेको पुष्टिलाई कायम राख्न अझ राम्रोसँग लागि पर्नुपर्छ भन्ने महशुस भएको छ । बिजनेश कलेज र बिजनेश संस्थाहरूबीच अन्तरक्रियाको कमी छ, त्यसलाई दुवै पक्ष मिलेर अन्त्य गर्नुपर्छ । आगामी वर्षको छनोटमा अझ धेरै कलेज सहभागी हुने अवस्थाको निर्माण गर्नुपर्छ भन्ने मेरो सुझाव छ ।
कलेजहरूले शिक्षालाई व्यावसायिक बजारसँग जोड्नुपर्नेलक्ष्मण रेग्मीक्याम्पस प्रमुखराप्ती बबई कलेज
उपत्यकाबाहिरका कलेजको राम्रो मूल्याङ्कन गरिएका कारण यो अवार्ड हाम्रा लागि धेरै महत्त्वपूर्ण छ । यसले अगाडि बढ्न थप प्रेरित गरेको छ । बैङ्किङ क्षेत्र, व्यावसायिक क्षेत्र र अडिटिङ क्षेत्रलगायत श्रम बजारमा हाम्रा विद्यार्थीको माग बढिरहेकाले हामीले बीबीएस चौथो वर्षमा अध्ययतरत विद्यार्थीका लागि अडिटिङ र बुककिपिङको ३ महीने प्रशिक्षण पनि दिँदै आएका छौं ।
सबै व्यवस्थापन कलेजले शिक्षालाई व्यावसायिक बजारसँग कसरी जोडिने भन्ने कुराको शिक्षा दिँदै व्यक्तिगत कौशलको विकासमा जोड दिन आवश्यक रहेको छ । अवार्डमा पारदर्शिता ल्याउन सबै कलेजले आफ्ना सूचना अनलाइनको माध्यमबाट सम्प्रेषण गर्न सकून् भन्नका लागि एउटा छुट्टै सफ्टवेयरको विकास गर्नुपर्ने देखिएको छ । उत्कृष्ट कलेजका प्रतिनिधिको एक टोली गठन गरेर सो सूचनाको परीक्षण पनि गर्न सकिन्छ ।
अवार्डले प्रोत्साहन गरेको छदीपक शाक्यनिर्देशक, वीरगञ्ज पब्लिक कलेज
वीरगञ्जमा तीनओटा व्यवस्थापन कलेज चल्न नसकेर बन्द भएको अवस्थामा हामीले यो कलेज स्थापना गरेका हौं । निजी संस्था भए पनि शैक्षिक संस्था सार्वजनिक हुन् भन्ने मान्यताका साथ हामीले कलेजको नाममा पब्लिक जोडेका हौं । निम्नमध्यम वर्गलाई शिक्षा दिने उद्देश्यले स्थापना गरेको कलेज हुँदा शुल्क पनि एकदमै कम राखेका छौं । यसरी काम गर्दा पनि आजका दिनसम्म कसैबाट सकारात्मक मूल्याङ्कन नभएर निराश भइसकेकोमा यस अवार्डले उत्साह जगाएको छ ।
हरेक वर्ष हामी ठूला व्यावसायिक गृह, जनशक्ति व्यवस्थापक तथा आप्mनो क्षेत्रका उद्योगीहरूको सहभागितामा छलफल चलाउँछौं । सो क्रममा उनीहरूले कस्तो जनशक्ति चाहेका हुन्, पत्ता लगाउँछौं । यसले विद्यार्थीमा कर्पोरेट संस्कार विकास गर्न मद्दत पुग्दछ ।
प्रचारबाजी गर्नेलाई अवार्ड दिइनु हुँदैनविजय केसीप्रोफेसर, काठमाडौं स्कूल अफ म्यानेजमेण्ट (कुसोम)
अवार्ड पाउनु र नपाउनुमा कुनै ठूलो कुरा होइन । काठमाडौं युनिभर्सिटीले जुन अवार्ड पाएको छ, यो पहिलोपटक होइन । पहिला पनि दुईपटक सर्वोत्कृष्ट र एकपटक दोस्रो भएका थियौं । अहिले हामी प्रथम भएका छौं । नेपालको बिजनेश कलेज र रियल लाइफको बिजनेशबीचको अन्तरसम्बन्ध सुमधुर छ । आफूले गर्ने र आबद्ध हुने कम्पनीहरूको बिजनेश छनोट कसरी गर्ने भन्ने विषय हामी सिकाउँदै आएका छौं, जसमा प्रयोगात्मक र लिखित आवश्यकता पर्छ । इण्टर्नशिप कसरी गर्नेबारे समेत हामीले विद्यार्थीलाई सिकाएका हुन्छौं ।
इण्टर्नशिपमा रिसर्च गर्न फिल्डमा समेत खटाउने गरेका छौं । त्यसले गर्दा बिजनेश हाउसको समस्या बुझ्न र सोबारे जान्ने कसरी भन्ने थाहा हुन्छ । अगामी वर्षको अवार्डका लागि मापदण्ड निर्धारण गर्न जरुरी छ । प्रचारबाजी गर्ने तर पढाइमा जोड नदिने कलेजलाई अवार्ड दिइनु हुँदैन । विद्यार्थीलाई कतिसम्म सिकाउन सके र सक्षम बनाए, यस्ता विषय मापदण्डमा पर्न जरुरी छ ।
राम्रो काम गर्न प्रेरणा मिलेको छपदमराज जोशीक्याम्पस प्रमुख, कैलाली बहुमुखी क्याम्पस
यस्तो कार्यक्रम शैक्षिक क्षेत्रका लागि ठूलो प्रेरणाको स्रोत हो । यसका आयोजकलाई यस्तो महत्त्वपूर्ण कार्य गरेकोमा धन्यवाद व्यक्त गर्दछु । यसले विद्यार्थी, शिक्षक तथा सरोकारवाला सबैलाई झनै राम्रो गर्ने प्रेरणा प्रदान गरेको छ । आगामी दिनमा पाठ्यक्रमलाई थप प्रभावकारी बनाउँदै अघि बढ्नेछौं । पहिले पहिले राम्रो नम्बर ल्याउने विद्यार्थीलाई उत्कृष्ट भनिन्थ्यो । तर, अब तत्काल रोजगारीमा लगाउन सक्ने शिक्षा प्रदान गर्ने कलेज उत्कृष्ट हुने समय आएको छ । त्यसैले, शैक्षिक संस्था र बिजनेश समुदायबीच रहेको खाडललाई पुरेर अघि बढ्नु अत्यन्त जरुरी भइसकेको छ ।
अवार्डले थप जिम्मेवार बनाएको छअनिल केडियाअध्यक्ष, डीएभी कलेज अफ म्यानेजमेण्ट
यस पुरस्कारले हाम्रा लागि थप चुनौती बढाएको छ । न्यू बिजनेश एज प्रालिले आयोजना गरेको ‘बिजनेश स्कूल अवार्ड’मा हामीले लगातार तेस्रोपटक अवार्ड तथा सम्मान पाइसकेका छौं । यो अवार्डले हामीलाई थप जिम्मेवार बनाएको छ । अहिले दिइरहेको सेवालाई गुणस्तर र हालको स्थानलाई कायमै राख्ने दायित्व थप बढेको छ । यसले हामीलाई आगामी दिनमा धेरै राम्रोसँग अघि बढ्न थप उत्साह प्रदान गरेको छ । म एक व्यावसायिक पृष्ठभूमिको व्यक्ति हुँ र मैले आफैले बिजनेश स्कूल पनि स्थापना गरेको छु । एक उद्यमीको रूपमा मलाई थाहा छ, अहिले व्यावसायिक क्षेत्रमा देखिएको जनशक्तिको ग्यापलाई पूरा गर्न आवश्यक छ । हामीले कलेजमा पुस्तकका साथसाथै उद्यमशीलताको अनुभव दिइरहेका हुन्छौं, जुन पुस्तकको ज्ञानबाट मात्रै प्राप्त हुँदैन । त्यसैले हामीले नेतृत्व अभिवृद्धि, सञ्चार, व्यक्तिगत क्षमता र व्यक्तित्व विकास गर्ने खालको पाठ्यक्रम नै तयार पारेका छौं । हाम्रा कलेजका ९० प्रतिशत विद्यार्थीले रोजगार प्राप्त गरिसकेका छन् ।
मेहनतको प्रतिफल मिल्योकिरण केसीप्रिन्सिपल, ला ग्राण्डी इण्टरनेशनल कलेज
हामी कलेजहरूले परम्परागतभन्दा फरक ढङ्गको शिक्षा दिँदै आएका छौं । हामी बढीभन्दा बढी विद्यार्थीका गतिविधि केन्द्रित हुन्छौं । यही हाम्रो मेहनतको प्रतिफल स्वरूप यो अवार्ड मिलेको महसूस भएको छ । यसले हामीलाई झन् राम्रो गर्न प्रोत्साहनका साथै चुनौती पनि थपेको छ । व्यवसाय र शैक्षिक क्षेत्रको अन्तरसम्बन्धमा ठूलो खाडल छ । यदि व्यावसायिक क्षेत्रले कस्तो जनशक्ति आवश्यक छ, भनिदिए हामीलाई त्यसैअनुसार गर्न सजिलो हुन्छ । यसले दुवै पक्षलाई लाभ प्रदान गर्दछ ।
व्यवसायी बनाउने वातावरण आवश्यकश्रीकृष्ण न्यौपानेक्याम्पस प्रमुख, आदिकवि भानुभक्त क्याम्पस
अवार्ड सानो वा ठूलो जे भए पनि महत्त्वपूर्ण हुन्छ । यसले कलेजको कामको सम्मान गर्छ । यो अवार्डले थप विद्यार्थीको इलमेण्ट बढाउने आशा गरेका छौं । बिजनेश कलेजमा कोर्स मात्र नपढाएर विद्यार्थीलाई भविष्यमा व्यवसाय गर्नसक्ने उद्यमी र राम्रो व्यवस्थापक बन्नेगरी काम गर्नुपर्छ । त्यसका लागि विभिन्न सङ्घसंस्थासँग राम्रो अन्तरसम्बन्ध बनाएर काम गर्नुपर्ने हुन्छ । कलेजमा विद्यार्थीलाई पनि खाली पढाइ र जागीरमा केन्द्रित गराउनुभन्दा व्यवसायी वनाउने वातावरणमा पठनपाठन गराउनुपर्छ ।
कर्पोरेट हाउसले सहयोग गर्नुपर्छविष्णुराज अधिकारीप्रबन्ध निर्देशककाठमाडौं कलेज अफ म्यानेजमेण्ट
विशेषतः शहरबजारका विद्यार्थीले व्यवस्थापन विषय पढ्न धेरै खर्च गर्छन् । गरीब तथा जेहेनदार विद्यार्थी उनीहरूभन्दा धेरै तगडा हुन्छन् । उनीहरूका लागि कर्पोरेट हाउसले १० प्रतिशत मात्रै छात्रवृत्ति प्रदान गरिदिने हो भने पनि धेरै सहयोग हुने थियो । यस्तो काम मानव धर्मभन्दा माथिको काम हुनेछ । हाम्रो कलेजमा भारतको राजस्थान, देहरादून र नेपालका पनि विभिन्न ठाउँका विद्यार्थी आउने गर्छन् । मेधावी विद्यार्थी भने छात्रवृत्ति पूरै पाए पनि काठमाडौंमा खानबस्न नसकेर पढ्न सक्दैनन् । हामीले १० प्रतिशत छात्रवृत्ति राखेका छौं । कसैलाई त पूर्ण छात्रवृत्तिमा पनि पढाउँछौं । तर, काठमाडौंमा खानबस्न नसकेर पलायन भएका उदाहरण प्रशस्त छन् । त्यसैले, तिनीहरूलाई पनि बसेर पढ्ने वातावरण निर्माण गर्नुपर्छ ।
कार्यक्रमले विद्यार्थीलाई राम्रो वातावरण सृजनाउत्तमकुमार रेग्मीक्याम्पस प्रमुखपूर्वाञ्चल युनिभर्सिटी स्कूल अफ म्यानेजमेण्ट
हामीले २२ वर्षदेखि क्याम्पस चलाइरहेका छौं । यस क्षेत्रमा हामी ‘पायनियर’ कलेज नै हौं । यस अवार्डले हामीलाई यसै क्षेत्रमा लगनशील भएर अगाडि बढ्न प्रेरणा दिएको छ । यस्ता कार्यक्रमले भोलिका दिनमा विद्यार्थीका लागि राम्रो वातावरण सृजना गर्नेछ । अहिले हामीले विद्यार्थीलाई व्यावसायिक क्षेत्रमा काम लाग्ने खालको सैद्धान्तिक ज्ञान त दिइनै रहेका छौं । व्यवसाय र व्यवस्थापन कलेजको सम्बन्ध थप बलियो बनाउन विभिन्न उद्योगसँग टाइ–अप गरी मिलेर कोर्स डिजाइन गर्नेदेखि इण्टर्नसिप कार्यक्रम चलाइरहेका छौं । फलतः यी दुई पक्षबीचको ‘ग्याप’ भर्न हामी निकै हदसम्म सफल भएका छौं । भोलिका दिनमा सूचनाका आधारमा मात्रै नभएर कलेजहरूको भ्रमण गरेर त्यहाँको पूर्वाधारलगायत सबै पक्षलाई राम्रोसँग केलाउन सके आगामी दिनमा यो अवार्ड थप निष्पक्ष हुन सक्थ्यो ।