आर्थिक अभियान
कलेजहरूको विश्वास बढेको छकिशोर थापाअध्यक्ष, उत्कृष्टकलेज छनोट समिति
व्यवस्थापन विषय पढाइ हुने देशभरका १ हजार २ सय ७४ कलेजको सूचीका साथ छनोट प्रक्रिया थालिएको हो । अघिल्ला संस्करणमा झैं यसपटक पनि छनोटको पहिलो आधार सम्बन्धित कलेजको वेबसाइटलाई बनाइएको थियो । पारदर्शिताका साथै कलेज स्वयम्को सूचना व्यवस्थापन जस्ता विषय महत्त्वपूर्ण हुने भएकाले सम्बन्धित कलेजको वेबसाइटलाई छनोटको पहिलो आधार बनाइएको हो । यो कुनै पनि संस्थाको उत्कृष्टता पहिचानका लागि वर्तमान विश्वमा चलेको छनोटकै अभ्यास हो । यसले गर्दा पहिलो चरणको छनोटपछि नै ३ सय १० ओटा कलेज बाँकी रहे । वेबसाइटमा उपलब्ध कलेजको जानकारी सङ्कलनपछि भीएमओ (भीजन, मिशन, अब्जेक्टिभ/गोल)का आधारमा दोस्रो चरणको छनोट गरिएको थियो । दोस्रो चरणको छनोटपछि १ सय ७० कलेज बाँकी रहे ।
बाँकी कलेजको थप जानकारी वेबसाइटबाट लिनुका साथै सम्बन्धित कलेजलाई थप जानकारी उपलब्ध गराइदिन आग्रहसहित ईमेलबाट फर्म पठाइयो र फोन गरेर कन्फर्म गरियो । यो फर्म गूगलमा राखेर त्यसैमा विवरण भर्न सकिने व्यवस्था गरियो ।
चुनौतीहरू
१. फर्म पठाएका १ सय ७० मध्ये ३० कलेजले मात्र फर्म भरे भने केही कलेजले फर्म भरेर अवार्डको प्रक्रियामा प्रवेश गर्न नचाहेको समेत जानकारी गराए । तर, कुन कलेजको अवस्था कस्तो छ भन्ने थाहा पाउनु शिक्षा लिने विद्यार्थी तथा आफ्ना सन्तानको शिक्षाका लागि ठूलो लगानी गरिरहेका अभिभावकको अधिकार हो । उनीहरूलाई सही सूचना दिनु सञ्चारमाध्यमको पनि कर्तव्य भएकाले ती कलेजलाई पनि यो प्रक्रियामा समेटिएको छ ।
२. छनोट चरण पार गर्दै जाँदा केही प्रदेशमा छनोटयोग्य कलेज नै नहुने अवस्था पनि आयो । तर, यो वर्षदेखि प्रदेशभित्रका उत्कृष्ट कलेज पनि छनोट गर्ने नीति भएकाले वेबसाइटबाट प्राप्त जानकारीका आधारमा सम्बन्धित प्रदेशका उत्कृष्ट केही कलेज छानियो ।
सुखद अनुभव
१. अघिल्ला वर्षको तुलनामा कलेजहरूले वेबसाइट बनाउने, आफ्ना जानकारी तथा गतिविधि सार्वजनिक गर्ने क्रम बढेको पाइयो ।
२. देशका दूरदराजका जिल्लाका केही सामुदायिक कलेजहरूका पनि व्यवस्थित वेबसाइटका साथै राम्रो शैक्षिक गतिविधि सञ्चालनमा रहेको भेटियो ।
३. निर्धारित समयभित्र फर्म भर्न नसकिएको अवस्थामा समय थप गरिदिन आएका आग्रहले यस अवार्डप्रतिको विश्वास र सम्मान अनुभूत भयो ।
कलेजहरूलाई आफ्नो अवस्था थाहा पाउन सहयोगीशैलेन्द्रराज गिरीसंस्थापक, अध्यक्ष एवम् प्रबन्ध निर्देशकमेरो जब डटकम तथा सदस्य, उत्कृष्ट कलेज छनोट समिति
शैलेन्द्रराज गिरी रियल सोलुशनअन्तर्गतको मेरो जब डटकमका संस्थापक, अध्यक्ष एवम् प्रबन्ध निर्देशक हुन् । उनले बिजनेश म्यानेजमेण्ट विषयमा भारतको बैङ्लोरबाट स्नातक र नेपालबाट स्नातकोत्तर गरेका छन् । उनले अन्तरराष्ट्रिय गैरसरकारी संस्था, बैङ्क, बहुराष्ट्रिय कम्पनीहरू, सरकारी निकाय तथा इण्टरनेट सेवा प्रदायकलाई जनशक्ति व्यवस्थामा योगदान पुर्याउँदै आएका छन् । प्रस्तुत छ, न्यूबिज बी–स्कूल रेटिङ–र्याङ्किङ अवार्ड कार्यक्रमका लागि उत्कृष्ट कलेज छान्दाको उनको अनुभव :
देशकै बेष्ट कलेज छान्नु एक प्रकारको चुनौती नै थियो । अवार्डको स्ट्याण्डर्ड र विश्वसनीयता कायम गर्न जुन प्रक्रिया अपनाएर कलेज छानियो, त्यो धेरै दुःखको काम थियो । तर, नेपालभरका कलेजलाई समेटेर उत्कृष्ट कलेज छान्न पाउँदा खुशी पनि लागेको छ । यसरी छनोट गर्दा काठमाडौंबाहिर पनि राम्रा कलेज भएको थाहा पाउन सकिन्छ । त्यसका लागि यो कार्यक्रमलाई सफल रूपमा लिनुपर्छ । देशभरका कलेजको अवस्था हेर्दा अझै पनि ‘अप टु द मार्क’ देखिएका छैनन् । नेपालीले देशमै जागीर खान पढ्ने हो कि विश्वव्यापी स्तरमा प्रतिस्पर्धी हुने हिसाबले पढ्ने हो, छुट्याउन सकेको पाइँदैन । पढ्दा ‘मोड अफ एक्स्पोजर’ अझै धेरै हुनुपर्ने देखिन्छ । एक्स्पोजर गराउने प्रक्रियामा कलेज सचेत हुनुपर्ने ठान्छु । अवार्डका लागि कलेज छनोटमा पहिलेभन्दा धेरै पारदर्शी र विश्वसनीय आधार तय गरिएका छन् । न्यू बिजनेश एजले र्याङ्किङमा परेका उत्कृष्ट १० कलेजलाई प्रकाशित गरिदिनुपर्दछ । यसले सबै कलेजलाई उत्कृष्ट बन्न र अगाडि बढ्न प्रोत्साहन मिल्छ । अवार्डले सहभागी कलेजहरूलाई आफू कहाँ छु र कस्तो अवस्थामा छु भनेर थाहा पाउन पनि टेवा पुगेको छ ।
कलेजले सुधार गर्नुपर्ने ठाउँ पनि धेरै छन्विकेश प्रधानाङ्गप्रबन्ध निर्देशक, जेड कन्सल्ट तथा सदस्य, उत्कृष्ट कलेज छनोट समिति
विकेश प्रधानाङ्ग जेड कन्सल्टका प्रबन्ध निर्देशक हुन् । उनले बेलायतको युनिभर्सिटी अफ लिङ्कनबाट मार्केटिङ विषयमा एमबीए गरेका छन् । उनको कम्पनीले जलविद्युत् उत्पादन तथा प्रसारण लाइनका क्षेत्रमा कन्सल्टिङ गर्दै आएको छ । प्रस्तुत छ, न्यूबिज बी–स्कूल रेटिङ–र्याङ्किङ अवार्ड कार्यक्रममा कलेज छनोटबारे उनको विचार :
यस पटक बिजनेश स्कूल छनोटको तरीका विगतको वर्षभन्दा प्रभावकारी भएको छ । पहिलेभन्दा केही फरक तरीकाले सम्बन्धित कलेजहरूको मूल्याङ्कन गरेका थियौं । यसका लागि कलेजको डाटा पनि धेरै केलाइएको थियो । विगतका वर्ष र यो वर्षको अनुभवले आगामी संस्करणमा अझै प्रभावकारी र चुस्त ढङ्गले कलेजको छनोट गर्न सकिने देखिन्छ । छनोटका लागि केलजहरूको प्रारम्भिक जानकारीमा थप सूचना लिनुपर्ने आवश्यकता महसूस भएको छ । समग्रमा हाम्रा कलेजको अवस्था ठीकै देखिन्छन् । यद्यपि, कलेजहरूले सुधार गर्नुपर्ने ठाउँ पनि धेरै छन् । भौतिक संरचना, अध्यापन प्रणालीलगायतमा थप सुधार गरेमा कलेजहरूको गुणस्तर बढ्ने निश्चित छ ।