आर्थिक अभियान
पुसोममा ‘जब प्लेसमेण्ट’ कार्यक्रम
विराटनगरको तीनपैनीस्थित भूपालमान मार्गमा रहेको पूर्वाञ्चल युनिभर्सिटी स्कूल अफ म्यानेजमेण्ट (पुसोम) २२ वर्षदेखि सञ्चालनमा छ । व्यवस्थापन शिक्षाका लागि यो कलेज नेपालको पूर्वी क्षेत्रकै ख्यातिप्राप्त मानिन्छ । संस्थाले विद्यार्थीलाई व्यवसायका सैद्धान्तिक ज्ञान दिनुका साथै पाठ्यक्रम निर्माणदेखि इण्टर्नशिपसम्मका काममा सघाइरहेको छ । विद्यार्थी, शिक्षक र अन्तररराष्ट्रिय विद्वान्हरूको समेत सहकार्यमा उसले विभिन्न पक्षका व्यवस्थापन सम्बद्ध ६ ओटा जर्नल प्रकाशन गरिसकेको छ । कलेजले हरेक वर्ष स्थानीय उद्योग वाणिज्य महासङ्घसँगको सहकार्यमा जब प्लेशमेण्ट कार्यक्रम गर्दछ । औद्योगिक क्षेत्रमा रहेको यसले उद्योगका व्यवस्थापकीय ज्ञान भएका व्यक्तित्वका साथै अन्तरराष्ट्रिय व्यक्तित्वलाई समेत निम्त्याएर विद्यार्थीमा आजको व्यावसायिक दुनियाको एक्स्पोजर दिँदै आएको छ । यसका उत्पादन ख्यातिप्राप्त शैक्षिक तथा अन्य संस्थामा उच्च पारिश्रमिक पाउने पदमा छन् भने कतिपयले आप्mनै व्यवसाय गर्दै आएका छन् ।
कर्पोरेट लीडर उत्पादन गर्दै वीरगञ्ज पब्लिक कलेज
कर्पोरेट लीडर उत्पादन गर्ने लक्ष्यले पर्सामा २०५९ सालमा वीरगञ्ज पब्लिक कलेजको स्थापना भएको हो । देशकै एक प्रमुख औद्योगिक क्षेत्र वीरगञ्जमा रहेको यस कलेजले स्थानीयदेखि हेटौंडासम्मका उद्योगमा विद्यार्थीलाई भ्रमण लैजानुका साथै त्यहाँका उद्यमी व्यवसायीलाई गेष्ट लेक्चररका रूपमा निम्त्याउने गरेको छ । यसका उत्पादन बैङ्क, वित्तीय संस्थाका साथै उद्योगमा समेत कार्यरत छन् । बीबीए, बीबीएस, एमबीए र एमबीएसको शिक्षा प्रदान गर्दै आएको यस कलेजले ‘जर्नल अफ इकोनोमिक्स एण्ड म्यानेजमेण्ट’ नामक दुई अङ्क जर्नल प्रकाशन गरिसकेको छ । कलेजले न्यूनतम शुल्कमा शिक्षा प्रदान गर्दै आएको छ ।
केसीएमका उत्पादन व्यवसाय गर्न सक्षम
२१ वर्षदेखि व्यवस्थापन शिक्षा प्रदान गर्दै आएको काठमाडौं कलेज अफ म्यानेजमेण्ट (केसीएम) एक्स्प्लोर, इभल्भ, एक्सेल नारा लिएर अघि बढेको छ । वर्षेनि हजारौं नेपाली विद्यार्थी करोडौं खर्चेर पढ्नकै लागि विदेशिइरहेका बेला यो कलेजको ध्यान भने विदेशी विद्यार्थी यहाँ ल्याएर पढाउनेतर्फ छ । कलेजले दक्षिण एशियामै उत्कृष्ट व्यवस्थापन शिक्षा प्रदायक हुने लक्ष्य लिएको छ । सोहीअनुसार उसले आफ्ना सेवासुविधा एवम् कार्यक्रम अघि बढाइरहेको छ । गुणस्तरीय जर्नल तथा फ्याकल्टिज, यहाँका उत्पादनको उच्चस्तरीय संस्थामा नेतृत्व एमव् उद्यम सञ्चालन यसका उच्च मूल्याङ्कनका आधार हुन् । नेपालका ख्यातिप्राप्त संस्था एवम् औद्योगिक क्षेत्रको भ्रमण, इण्टर्नशिप, गेष्ट लेक्चररबाट अनुभव आदानप्रदान जस्ता कार्य पनि कलेजले गर्छ । यसले फाइनान्स एवम् मार्केटिङका बीबीए शिक्षा प्रदान गर्दै आएको छ । विद्यार्थीलाई वर्तमानमा व्यवसाय गर्न सक्षम बनाउने यसको आफ्नै इन्क्युबेशन सेण्टरसमेत छ ।
कुसोममा केस स्टडी, रिसर्च तथा कन्सल्ट्यान्सी सुविधा
काठमाडौं युनिभर्सिटी स्कूल अफ म्यानेजमेण्ट (कुसोम)ले व्यवस्थापन कलेजले गर्नैपर्ने केस स्टडी, रिसर्च, कन्सल्ट्यान्सी जस्ता महत्त्वपूर्ण कार्य सञ्चालन गर्दै आएको छ । कुसोमले आन्त्रप्रेनरशिप डेभलपमेण्टका लागि विभिन्न गतिविधि सञ्चालन गर्नुका साथै इन्क्युबेशन सेण्टरका माध्यमबाट विद्यार्थीलाई एक कुशल व्यवसायी बनाएर मात्रै कलेजबाट बिदा गर्दछ । उत्कृष्ट स्तरको जर्नल प्रकाशन, गुणस्तरीय फ्याकल्टिज (शिक्षक), उच्चस्तरका स्टूडेण्ट एक्स्पोजर कार्यक्रमका साथै यहाँबाट उत्पादित जनशक्तिको बजारमा उच्च माग यसका सबल पक्ष हुन् । व्यवस्थापन शिक्षाका लागि देशकै उत्कृष्ट यो कलेजले देश–विदेशका बैङ्किङ, वित्तीय, औद्योगिक तथा अन्य क्षेत्रका लामो एवम् प्रभावकारी इतिहास रच्न सफल व्यक्तिलाई गेष्ट लेक्चररका रूपमा आमन्त्रण गर्दछ । कुसोममा बीबीए, एमबीए/ईएमबीए, बीएचटीएस, बीबीआईएस, एमएसएम जस्ता व्यवस्थापन सम्बद्ध विषय पठनपाठन हुँदै आएको छ ।
डीएभी कलेज अफ म्यानेजमेण्टमा बिजनेश प्लानको कार्यशाला
‘पूर्वीय मन, पाश्चात्य मस्तिष्क’ नाराका साथ सन् २००३ मा स्थापना भएको यस कलेजले बीबीए र बीबीएसको शिक्षा प्रदान गर्दै आएको छ । नेपाली संस्कृतिको सम्मान गर्दै प्रतिस्पर्धी वातावरणमा काम गर्न सक्षम नेतृत्व एवम् व्यवस्थापकीय क्षमता भएका जनशक्ति उत्पादन गर्नुलाई यस कलेजले आफ्नो लक्ष्य बनाएको छ । यस कलेजसँग स्टुडेण्ट एक्स्पोजरका स्थानीयदेखि राष्ट्रिय–अन्तरराष्ट्रिय स्तरका विविध कार्यक्रम छन् । देशभित्रकै ख्यातिप्राप्त उद्यमी, व्यवसायी तथा प्रोफेशनललाई गेष्ट लेक्चररमा रूपमा निम्त्याउने यस कलेजले अन्तरराष्ट्रिय व्यक्तित्वलाई समेत उपस्थित गराउँदै आएको छ । व्यवस्थापन कलेजमा हुनैपर्ने केस एनालिसिस कलेजको बलियो पक्ष हो । यसले दुई संस्करण रिसर्च जर्नल पनि प्रकाशन गरेको छ । भविष्यका उद्यमी उत्पादन गर्ने उद्देश्यले कलेजले विद्यार्थीलाई बिजनेश प्लान बनाउन लगाई त्यसमाथि कार्यशाला समेत गर्दै आएको छ ।
टूरिजम तथा होटल म्यानेजमेण्टमा नाथमको ४५ वर्षे अनुभव
नेपाल एकेडेमी अफ टूरिजम एण्ड होटल म्यानेजमेण्ट (नाथम)ले टूरिजम तथा होटल म्यानेजमेण्टका क्षेत्रमा विगत ४५ वर्षदेखि अध्यापन गराउँदै आएको छ । हाल यस कलेजले ब्याचलर इन होटल म्यानेजमेण्ट (बीएचएम), ब्याचलर अफ ट्राभल एण्ड टूरिजम म्यानेजमेण्ट (बीटीटीएम) र माष्टर अफ हस्पिटालिटी म्यानेजमेण्टका कोर्स सञ्चालन गरिरहेको छ । यसबाहेक यहाँबाट छोटा अवधिका र विभिन्न स्थानमा गर्ने खालका तालीम पनि सञ्चालन हुँदै आएको छ । आफ्नै टीचिङ होटल (२० कोठा) समेत रहेको यो कलेज सार्क क्षेत्रकै टूरिजम तथा हस्पिटालिटी शिक्षाका लागि गन्तव्य शैक्षिक संस्था बन्ने लक्ष्यका साथ अघि बढेको छ । प्रयोगात्मक शिक्षण विधिका लागि कलेजसँग आफ्नै २० कोठे होटल, कफी शप, बार, रेष्टूराँ, किचेन तथा बेकरीको तालीमको समेत व्यवस्था छ । यस क्षेत्रको शिक्षाका लागि नेपालको पुरानो यस शैक्षिक संस्थाका उत्पादन देश तथा विदेशका उच्चस्तरीय संस्थामा कार्यरत छन् ।
प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्दै ला ग्य्राण्डी इण्टरनेशनल
पोखराको सिमलचौरमा रहेको ला ग्य्राण्डी इण्टरनेशनल कलेजले सन् २००४ देखि बीबीए कार्यक्रम शुरू गरेको हो । सम्बन्धित क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनका लागि आवश्यक शीप, क्षमता तथा ज्ञान प्रदान गर्नु यो कलेजको मुख्य विशेषता हो । स्टुडेण्ट एक्स्पोजरअन्तर्गत इण्टर्नशिप तथा व्यावसायिक संस्था भिजिट जस्ता कार्यक्रम कलेजले गर्दै आएको छ । यसका उत्पादन विभिन्न संस्थामा कार्यरत छन् ।
राप्ती बबई गुणस्तरीय शिक्षा समर्पित
राप्ती बबई कलेजले सन् २००६ मा बीबीएस कोर्स सञ्चालनसँगै व्यवस्थापनको शिक्षण शुरू गरेको हो । नयाँ पुस्तालाई गुणस्तरीय शिक्षा दिँदै समाज, राष्ट्र र विश्वलाई नै जिम्मेवार, अनुशासित र प्रतिस्पर्धी जनशक्ति प्रदान गर्ने यो कलेजको लक्ष्य छ । विभिन्न क्षेत्रका विज्ञलाई निम्त्याएर कक्षा सञ्चालन गर्नुका साथै उसले विद्यार्थीलाई उद्योगको भ्रमण पनि गराउँछ । यस्तै, बजारको मागलाई ध्यानमा राखेर कलेजले कोर्सभन्दा बाहिरका व्यावहारिक ज्ञानसम्बन्धी तालीम पनि दिँदै आएको छ ।
नेतृत्वदायी संस्था बन्ने प्रयासमा सहारा क्याम्पस
सुर्खेतको वीरेन्द्रनगरमा रहेको यो कलेजले सन् २०१३ देखि बीबीएसको अध्यापन गर्दै आएको छ । नवीनता, सिकाइ तथा गुणस्तरीय शिक्षामा नेतृत्वदायी एवम् जीवन्त संस्थाको रूपमा स्थापित हुने यो कलेजको लक्ष्य छ । यसले उद्योग भ्रमण तथा इण्टर्नशिप जस्ता स्टूडेण्ट एक्स्पोजर कार्यक्रम आयोजना गर्दै आएको छ ।
विश्वविद्यालय बन्ने लक्ष्यमा कैलाली बहुमुखी क्याम्पस
यो क्याम्पस विश्वविद्यालय अनुदान आयोग तथा शिक्षा मन्त्रालयको मूल्याङ्कनमा पनि नेपालभरकै उत्कृष्ट सामुदायिक क्याम्पसका रूपमा घोषित तथा पुरस्कृत छ । सन् १९८७ देखि व्यवस्थापन विषय पढाइरहेको यस कलेजको भविष्यमा विश्वविद्यालयका रूपमा स्थापित हुने उद्देश्य छ । यहाँ बीबीएस, बीबीए, एमबीएस र एमबीएका कक्षा सञ्चालनमा छन् । विद्यार्थीमा नेतृत्वदायी क्षमता विकासका कार्यक्रम चलाउने यसले तीन भोलुम जर्नल प्रकाशन गरिसकेको छ । नेतृत्वका वास्तविक आधारभूत नैतिक चुनौती र त्यसलाई सामना गर्न अपनाउनुपर्ने उपयुक्त विधिका सम्बन्धमा विद्यार्थीलाई सचेत गराउन कलेजले अल्पकालीन लीडरशिप एण्ड ह्युमन भ्यालू कोर्स सञ्चालन गर्दै आएको छ । यस कलेजका उत्पादन बैङ्क, वित्तीय संस्थाका साथै अन्य विभिन्न क्षेत्रमा आबद्ध छन् ।