असार १२, काठमाडौं । मङ्गलवार शेयर बजार कारोबार भएदेखि नै घटेर बन्द भएको छ । १ हजार २ सय १० दशमलव १८ विन्दुबाट शुरु भएको कारोबार १५ दशमलव २९ अङ्कले घटेर १ हजार १ सय ९४ दशमलव ८० विन्दुमा पुगेर बन्द भएको छ । नेप्से पुनः तीन महीना अघिको विन्दुतिर पुगेको छ । कारोबार भएका नौ समूहको परिसूचक घटेपछि समग्र नेप्से परिसूचक १ दशमलव २६ प्रतिशतले घट्न पुगेको हो ।
बजारले पुनः तीन महीनाअघिको अवस्थातर्फ लागेको हुँदा बजारले १ हजार १ सय ३० देखि १ हजार २ सयसम्म टेवा पाउन सक्ने अनुमान विश्लेषकले गरेका छन् । यस समयमा खरीदकर्ता भित्रिने बेला हो, तर बैङ्कहरुले लगानीकर्तालाई मार्जिन कल गर्न थालेपछि शेयर विक्री गर्ने लगानीकर्ता बढ्न पुगेकाले ओभर सप्लाई भएको ब्रोकर बताउँछन् । बैङ्कहरुले ब्याजदरले गर्दा पनि बजार बढ्न नसकेको लागनीकर्ताको भनाइ छ ।
होटल समूहको परिसूचक २ दशमलव ८१ प्रतिशत, उत्पादन तथा प्रशोधनको २ दशमलव १६, लघुवित्तको २, बीमाको १ दशमलव २८, बैङ्किङको १ दशमलव २४, विकास बैङ्कको १ दशमलव शून्य ४, वित्तको शून्य दशमलव ८६ प्रतिशतले घटेको छ । कारोबार भएका १ सय ६० कम्पनीको ३ हजार ६ सय २३ पटकको व्यापारमा ६ लाख २१ हजार ७ सय ९६ कित्ता शेयरको रू. २३ करोड १० लाख बराबरको शेयर कारोबार भएको छ ।
नेप्सेमा सर्वाधिक शेयर कारोबार हुने १० कम्पनीमा नविल बैङ्क लिमिटेडको संस्थापक तर्फको शेयर प्रतिकित्ता रू. ७ सय २० मा रू. १ करोड ३१ लाख बराबरको सर्वाधिक शेयर कारोबार भएको छ । सर्वाधिक कारोबार हुनेमा ९ कम्पनी वाणिज्य बैङ्क परेका छन् । आरम्भ माइक्रोफाइनान्स कम्पनीको शेयर मूल्य ४ दशमलव ७९ प्रतिशतले बढेको छभने सप्तकोशी डेभलपमेण्ट बैङ्कको ७ दशमलव ३७ प्रतिशतले घटेको छ ।