अभियान संवाददाता
वीरगञ्ज । वीरगञ्जको वीरगञ्ज पब्लिक कजेल (बीपीसी)मोफसलमै नमूना व्यवस्थापन कलेजको रूपमा स्थापित भएको छ । विसं २०५७ सालदेखि सञ्चालनमा आएको यो कलेजले व्यवस्थापन सङ्कायको उच्च शिक्षामा आफूलाई स्थापित गर्न सफल भएको हो ।
कलेजका कार्यकारी निर्देशक डा. दीपक शाक्यले कलेजको अहिलेको अवस्था करीब २ दशकदेखिको अथक परिश्रमको परिणाम भएको बताए । ‘शुरूमा दुईओटा सेक्सनबाट सञ्चालित यो कलेजले अहिले व्यवस्थापन सङ्कायमा ११ र १२ देखि बीबीएस, बीबीए, एमबीएस र एमबीए तह सञ्चालन गरिरहेको छ,’ शाक्यले भने । कलेजले यसै वर्षदेखि बीआईएम र सीएको कक्षा पनि सञ्चालन गर्ने शाक्यले बताए । कलेजले अहिले आफ्नै पाँचतले दुईओटा भवन, लाइब्रेरी, ई–लाईब्रेरी, क्याण्टिन र आधुनिक शिक्षा प्रविधिको व्यवस्थापन गरेको छ । कलेजमा अहिले ३ हजार विद्यार्थी अध्ययन गरिरहेका छन् ।
बीपीसीले हालै न्यू बिजनेश एज प्रालिले आयोजना गरेको ‘न्यूबिज बी–स्कूल रेटिङ–र्याङ्किङ’ अवार्डमा सर्वोत्कृष्ट एमबीएससहित पाँच विधामा पुरस्कार हात पारेको छ । एमबीए, बीबीए र बीबीएसमा उत्कृष्ट र प्रदेश नम्बर २ को सर्वोत्कृष्ट व्यवस्थापन कलेजको उपाधिसमेत बीपीसीले पाएको छ ।