ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘सरकारले पूर्वाधार बनाओस् बाँकी काम निजीक्षेत्रले गर्छ’

Jul 4, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
विराटनगर । विराटनगरका उद्यमी व्यवसायीले पूर्वाधार क्षेत्रको विकास नै विराटनगरको पुनरुत्थानको प्रमुख आधार रहेको बताएका छन् । उनीहरूले पूर्वीक्षेत्रको आर्थिक केन्द्रबिन्दु र प्रदेश नं १ को राजधानी भएर पनि पूर्वाधारको क्षेत्रमा सरकारले उचित विकास गर्न नसक्दा विराटनगर विकासमा पछाडि परेको पनि दुखेसो पोखेका छन् । विराटनगरको पुनरुत्थान, उद्योग, व्यापार, पूर्वाधार, कानून एवम् नीतिका बारेमा आर्थिक अभियानले मङ्गलवार विराटनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उद्यमी व्यवसायीले विराटनगरको विकासका बारेमा विभिन्न सुझावसमेत दिएका छन् । प्रदेशको आर्थिक समृद्धिमा पर्यटनलाई मुख्य आधार माने पनि विराटनगरमा अध्यागमन कार्यालय नहुँदा धेरै पर्यटकले दुःख पाउँदै आएकाले यो समस्याको तत्काल समाधान गर्नुपर्ने सुझाव पनि कार्यक्रममार्फत उद्यमी व्यवसायीले दिएका थिए । कार्यक्रममा मोरङ व्यापार सङ्घका अध्यक्ष पवन शारडाले राजनीति क्षेत्रमा नेतृत्व गर्ने प्रधानमन्त्री, मन्त्रीहरू विराटनगरले उत्पादन गरे पनि विकासमा पछाडि पर्नु विडम्बनाको विषय भएको बताए । उनले भने, ‘यस क्षेत्रको पुनरुत्थानमा विशेष औद्योगिक क्षेत्र(सेज)को स्थापना हुन नसक्नु, सुनसरी मोरङ कोरिडोरका उद्योग धराशयी बन्दै जानु र विराटनगर विमानस्थल क्षेत्रीय विमानस्थलका रूपमा विकास नहुनु हो ।’ उनका अनुसार मोरङ, झापा, सुनसरीको कृषिक्षेत्रलाई अगाडि बढाउन सिँचाइको प्रबन्ध नभएकाले आकाशे पानीमा भर पर्दा खाद्यान्नमा परनिर्भरता बढ्नुजस्ता कारणले यो क्षेत्रको विकास पछाडि धकेलिएको छ । ‘सरकारले बढाएको अत्यधिक करका कारण यस क्षेत्रका उद्योगधन्दा बन्द हुने अवस्थामा पुगेका छन् । यसले विराटनगरको बजारलाई सुनसान बनाएको छ र जोगबनीमा खुट्टा राख्ने ठाउँ छैन् । सरकारले बढी कर लगाएर राजस्वमात्र उठाउने लक्ष्यभन्दा करको दायरा बढाउनेतिर सोच्न आवश्यक छ,’ उनले भने । उद्योग सङ्गठन मोरङका नवनिर्वाचित अध्यक्ष भीम घिमिरेले निजीक्षेत्रलाई साथ लिएर अगाडि नबढे सरकारले लिएको समृद्धिको लक्ष्य प्राप्त नहुने बताए । विराटनगरको उत्थानका लागि सुनसरी मोरङ सिँचाइ आयोजनाअन्तर्गत रहेको नहरलाई बाइपास रोडका रूपमा विकास गरेर मालवाहक सवारीसाधनलाई व्यवस्थित गर्नुपर्ने, विद्युत्मा देखिएको लोभोल्टेजको समस्या समाधान गर्नुपर्ने, उत्पादनमूलक उद्योग स्थापना गरी निर्यात बढाउनुपर्ने, भौतिक पूर्वाधार, सडक नाला निर्माणमा सरकारको नीति कमजोर भएको, विराटनगर विमानस्थलबाटै माउण्टेन प्mलाइटको व्यवस्था गर्न सके पर्यटनमा टेवा पुग्ने, जोगवनी किमाथाङ्का सडकलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा पूरा गर्ने र विराटनगरमा चक्रपथको विकास गर्न सके विकासमा कायापलट हुने उनको सुझाव छ । ‘उद्योगीको प्रभावमा परेर नीति निर्माण गर्ने परम्पराको अन्त्य गरी एउटा उद्योग फस्टाउने र अर्को डुब्ने नीतिको अन्त्य हुन जरुरी छ,’ घिमिरेले भने, ‘आर्थिक समृद्धिका लागि सरकारसँग मिलेर अगाडि बढ्न निजीक्षेत्र तयार छ ।’ उद्योगी महेश जाजूले विराटनगर विमानस्थल हुँदै देशका अन्य आन्तरिक विमानस्थलमा पनि उडान गर्नुपर्ने बताए । विगत लामो समयदेखि उद्योगीले उठाएका विषयमा सरकारले कुनै सम्बोधन नगरेकोमा दुःखी भए पनि निराश भइनसकेको पनि उनले जानकारी दिए । ‘सरकारले पूर्वाधार बनाइदिए निजीक्षेत्रसँग अन्य सबै काम गर्न सक्ने आँट र तागत छ, हामी सरकारसँग मिलेर अगाडि बढ्न तयार छौं,’ व्यापार सङ्घ मोरङका महासचिव नवीन रिजालले विकासका पूर्वाधारमा सरकारले अनुगमन र निरीक्षण राम्रो गर्न नसकेकाले आपूmहरूलाई पनि समावेश गर्न आग्रह गरेका छन् । विशेषगरी पर्यटकीय क्षेत्रको विकास गरी भारतीय पर्यटक भिœयाउन सके विराटनगरको आर्थिक विकासमा ठूलो टेवा पुग्ने सबैजसो सरोकारवालाको सुझाव छ । कार्यक्रममा उपस्थित उद्योगी व्यवसायी, बैङ्क तथा वित्तीय संस्थाका प्रतिनिधि, शिक्षाविद्, होटल व्यवसायीलगायत क्षेत्रबाट सहभागीहरूले विराटनगरको विकास र पुनरुत्थानका लागि पर्यटन, उद्योग, पूर्वाधारमा विकास, सरसफाइ, लोडशेडिङको अन्त्य, शिक्षा र स्वास्थ्यक्षेत्रमा लगानी बढाई शैक्षिक र स्वास्थ्य हब बनाउनुपर्ने, गरीबी अन्त्यका लागि रोजगारीको वृद्धि, उत्पादन बढाउनुपर्ने, कृषिक्षेत्रलाई व्यावसायिक बनाउँदै निर्यात गर्ने अवस्थामा पुर्‍याउनुपर्नेलगायत सुझाव दिइएको छ । कार्यक्रम आयोजकका तर्फबाट न्यू बिजनेश एजका अध्यक्ष मदन लम्सालले परिवर्तित वातावरणमा सकारात्मक सोचका साथ सरकार र निजीक्षेत्र एकआपसमा मिलेर आर्थिक समृद्धिका लागि अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए । कार्यक्रममा उठेका सुझाव र गुनासोहरूको सम्बोधन गर्दै प्रदेश नम्बर १ का प्रमुख सचिव सुरेश प्रधानले उद्योगी व्यवसायीदेखि हरेक सरोकारवालाको मागका विषयमा सरकारको नीति तथा कार्यक्रमले समेटेकाले त्यसको कार्यान्वयन हुन सके विराटनगर र समग्र प्रदेश १ को विकास हुने विश्वास व्यक्त गरे । उनले भने, ‘आर्थिक समृद्धिका लागि निजीक्षेत्रसँग सहकार्य गर्न प्रदेश सरकार तयार छ, नीति तथा कार्यक्रम कार्यान्वयनका लागि सहभागिता, समझदारी र समन्वय गर्ने काम निजीक्षेत्रबाट होस् ।’ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव किशोर गौतमले उद्योग, कृषि, पर्यटन, वातावरणका क्षेत्रमा सरकारले ल्याएका कार्यक्रम पर्याप्त भए पनि त्यसको कार्यान्वयन तहमा समस्या रहेकाले सबैको सकारात्मक सहयोग भएमा विराटनगर र प्रदेशको विकास सम्भव रहेको बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)