ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सार्कका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

Jul 5, 2018  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले नेपालमा लगानीका लागि सार्क क्षेत्रका लगानीकर्तालाई आग्रह गरेकी छन् । भारतको नयाँ दिल्लीमा जारीे सार्क विकास कोषको साझेदारी सम्मेलन–२०१८ मा सहभागी राणाले नेपाल दक्षिण एशियामा लगानीका लागि उर्वर क्षेत्र रहेकाले पर्यटन, पूर्वाधार, जलस्रोत, कृषिलगायत क्षेत्रमा लगानी गर्न पर्याप्त अवसर रहेको जानकारी गराइन् । अध्यक्ष राणाले सदस्य राष्ट्रबीच सम्पर्क (जल, स्थल, हवाई) विस्तार, सहज आवागमन तथा सीमापार व्यापारमा पनि जोड दिइन् । सार्क सदस्य राष्ट्रका सरकारी तथा निजीक्षेत्रका प्रतिनिधि, नीति निर्माता, अर्थशास्त्री, सार्क सचिवालय, सार्क उद्योग वाणिज्य सङ्घको सहभागिता रहेको उक्त सम्मेलनको दोस्रो प्राविधिक सत्रमा सामाजिक शीर्षकअन्तर्गत गरीबी निवारण, मानव विकास, शिक्षा, स्वास्थ्य आदि क्षेत्रमा सह–वित्तीयकरणका लागि सम्भावित परियोजनाको पहिचान विषयक विशेष सत्रमा राणाले नेपालमा लगानीको सम्भावना रहेको बताइन् । आइफाडका एशिया प्रशान्त क्षेत्रीय अर्थशास्त्री फेब्रिजिओ ब्रेससिआनीको अध्यक्षतामा आयोजित सम्मेलनमा सह–वित्तीयकरणका लागि पर्यटन, साना तथा मझौला उद्यम (एसएमइज), कृषि, क्षेत्रीय प्रयोगशाला, ऊर्जालगायत सम्भावित क्षेत्रमा परियोजना प्रस्ताव गरिएको छ । महासङ्घ अध्यक्ष र सेसेल्सका राजदूतबीच भेटवार्ता नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले नेपालमा लगानीको लागि नयाँ दिल्लीस्थित पूर्वी अफ्रिकी राष्ट्र गणतन्त्र सेसेल्सका राजदूतलाई आग्रह गरेकी छन् । नयाँ दिल्लीमा सिसेल्सका राजदूत फिलिपे लगलबीच भएको द्विपक्षीय भेटवार्ताका क्रममा राणाले सो आग्रह गरेकी हुन् । सो अवसरमा नेपाल र सिसेल्सबीच व्यापार तथा लगानीका सम्भाव्यता विषयमा छलफल भएको नेपाल उद्योग वाणिज्य महासङ्घले जानकारी दिएको छ । अध्यक्ष राणाले दुवै पक्षबीच पर्यटन, मत्स्यपालनलगायत अन्य व्यावसायिक क्षेत्रमा लगानीको ठूलो सम्भाव्यता रहेको बताइन् । यस्तै, राणाले नवीनतम उपायद्वारा दुई देशबीचको पर्यटन क्षेत्रका सम्भाव्यता अध्ययन गर्न जोड दिइन् । भेटवार्तामा राजदूत फिलिपे लगलले नेपाली निजीक्षेत्रसँग भेटवार्ता गर्न पाएकोमा खुशी व्यक्त गर्दै नेपाल र सेसेल्सबीच निजीक्षेत्रका प्रतिनिधि संस्थाका माध्यमबाट आपसी सम्बन्ध विस्तार र सहकार्य गर्न सकिनेमा जोड दिए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)