ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

नेशनल मेडिकल कलेजलाई ‘फाईदा’ हुने गरी वीरगञ्ज महानगरको कर निर्धारण

Jul 5, 2018  
समाचार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता
असार २१, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको कर निर्धारणले नेशनल मेडिकल कलेजलाई फाईदा पुगेको छ । महानगरको दोस्रो नगरसभाले मेडिकल कलेजका लागि यसअघि तय भएको करको आधामात्र तिरे पुग्ने गरी कर निर्धारण गरेको हो । सञ्चालनको डेढ दशकदेखि कर तिर्न अटेर गर्दै आएको कलेजलाई महानगरको यही असार १० देखि जारी सभाले ४ करोड ९४ लाख रुपैयाँ कर तिरे पुग्ने गरी निर्णय गरेको छ । यसअघि महानगरले नै मेडिकल कलेजले ९ करोड २ लाख ४७ हजा रुपैयाँ कर तिराउन विभिन्न निकायमा पत्राचार गरेको थियो । यो २ वर्षअघिको कर भएकाले अहिले नियमित कर र जरीवानासमेत गरी १० करोड रुपैयाँभन्दा माथि पुग्ने दाबी महानगरको लेखा शाखाका एक कर्मचारीले गरे । कर्मचारीले महानगर सञ्चालन गर्दा निर्धारण गरिएको कर जनप्रतिनिधि आएपछि पुनःनिर्धारण गरी घटाइएको हो । यसअघि महानगरका तत्कालिन कार्यकारी अधिकृत विष्णु कोइरालाले कलेजलाई १ करोड ३५ लाख रुपैयाँ कर तिराएका थिए । अहिले नगरसभाबाट कर तय भएलगत्तै कलेजले पहिला तिरेको रकमसमेत समायोजन हुने गरी कसम्पूर्ण कर बुझाइसकेको छ । करमध्ये पछिल्लो ४ वर्षको एकीकृत सम्पत्ति र त्यसअघिको व्यवसाय कर रहेको महानगरले बतायो । महानगरपालिकाका प्रुमख विजयकुमार सरावगीले तत्कालिन कर्मचारीले मनोमानीरुपमा कर तोकिदिएकोमा अहिले नगरसभाबाट उचित कर निर्धारण भएको बताए । ‘पहिला हचुवा पारामा कर तोकिएको रहेछ । हामीले कर निर्धारण समिति बनाएरै टुङ्गो लगाएका हौं,’ सरावगीले आर्थिक अभियानसित भने । उनले कलेजलाई फाइदा पुग्ने गरी नभएर उचित कर लिएको दाबीसमेत गरे । २०६० सालदेखि वीरगञ्जको भेडियाहीमा सञ्चालनमा आएको कलेजले कर तिर्न अटेर गर्दै आएको थियो । कर निर्धारणका लागि पटकपटक कलेजमा पुगेका कर्मचारीलाई गेटबाट छिर्नै नदिएपछि महानगरले गुगल म्यापका आधारमा कर तोकिदिएको थियो । तर, उसले कर तिरेको थिएन । तत्कालिन अधिकृत कोइरालाले दबाब दिएर पछि फछ्र्यौट हुने गरी १ करोड ३५ लाख रुपैयाँ तिराएका थिए । अहिले कलेजको सम्पत्ति स्वघोषणाका आधारमा कर लगाइएको हो । नगरमा जनप्रतिनिधि आएपछि कलेजले पुनः कर निर्धारणको माग गर्दै निवदेन दिएको थियो । वर्षौसम्म कर्मचारीलाई हाताभित्र छिर्नसमेत नदिएको कलेजले महानगरले कर निर्धारण नगरिदिएको भन्दै अख्तियारसमेत गुहारेपछि अख्तियारले महानगरलाई कर तोक्न निर्देशन दिएको थियो । महानगरको गत माघमा सम्पन्न पहिलो नगरसभाले उपप्रमुख शान्ति कार्कीको संयोजकत्वमा ३ सदस्यीय कर निर्धारण समिति बनाएकोमा समितिको प्रतिवेदनका आधारमा दोस्रो सभाले टुङग्याएको सरावगीले बताए । कलेजका प्रबन्ध निर्देशक बसुरुद्धिन अन्सारी नेकपा एमालेबाट महानगरमा मेयरको प्रत्यासी थिए । महानगरको प्रमुखको उम्मेदवार प्रबन्ध निर्देशक रहेको कलेजले करोडौं कर नतिरेको भन्दै आलोचना हुन थालेपछि अन्सारीले मनोनयनको मुखमा कलेजबाट अलग भएको घोषणा गरेर चुनावी मैदानमा उत्रिएका थिए । चुनावी प्रतिस्पर्धामा उनी सरावगीसित पराजित भएका थिए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)