ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल एसबीआई बैङ्कको २५औं वार्षिकोत्सव : बैङ्कहरूलाई क्षेत्रीय कार्यालय खोल्न जोड

Jul 7, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
असार २३, काठमाडौं । स्थानीय तहमा बैङ्किङ पहुँच पुर्‍याउन वाणिज्य बैङ्कहरूलाई शाखा विस्तारमा दबाब दिँदै आएको नेपाल राष्ट्र बैङ्कले सातै प्रदेशमा बैङ्कको क्षेत्रीय कार्यालय खोल्न जोड दिएको छ । नेपाल एसबीआई बैङ्कको शनिवार राजधानीमा आयोजित २५औं वार्षिकोत्सवको उद्घाटन गर्दै नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले त्यस्तो जोड दिएका हुन् । उनका अनुसार देशभर अहिले बैङ्क तथा वित्तीय संस्थाका शाखा ६ हजार १ सय ५ ओटा छन् । त्यसमध्ये २ हजार ८ सय ५ ओटा वाणिज्य बैङ्कका हुन् । ती सबैमा गरी २ करोड २५ लाख खाता रहेका छन् । डेपुटी गभर्नर शिवाकोटीले बैङ्कहरूलाई कृषिमा १० प्रतिशत लगानी गर्न दिइएको निर्देशन पूरा हुन नसकेको बताउँदै तोकिएको वा सोभन्दा बढी कृषिमा लगानी गर्न र आधुनिक कृषि प्रविधि भित्र्याउन सहयोग गर्न पनि आग्रह गरे । उनले भने, ‘बैङ्कहरूले तरलता घट्न नदिन वैदेशिक ऋण ल्याउन पनि जरुरी छ ।’ उनले नेपाल राष्ट्र बैङ्कले जारी गरेका निर्देशनहरू पालना गर्न पनि बैङ्कहरूको ध्यानाकर्षण गरे । वित्तीय सूचना प्रणाली (फिनटेक) नेपाल भिœयाउनमा एसबीआई बैङ्कले निर्वाह गरेको अग्रणी भूमिकाको पनि उनले प्रशंसा गरे । नेपाल एसबीआई बैङ्कका अध्यक्ष सुजितकुमार बर्माले बैङ्कको मुनाफा बढेकाले शेयरधनीलाई अपेक्षित प्रतिफल वितरण गर्न सकिने अवस्था रहेको बताए । उनले कागजरहित बैङ्किङका लागि बैङ्कलाई प्रविधिमैत्री बनाइने बताउँदै कार्यालयमा प्लाष्टिकलाई दुरुत्साहन गरिने जानकारी पनि दिए । उनले भने, ‘त्यसैले हामीले इण्टरनेट तथा मोबाइल बैङ्किङ, नेपाल–इण्डिया पेमेण्ट गेटवे, मोबाइल वालेट, रोबोट बैङ्किङ, इण्टच आउटलेटजस्ता प्रविधि भित्र्याएका छौं ।’ बैङ्कका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृतअनुकूल भटनागरले नेपाल राष्ट्र बैङ्कको निर्देशनअनुसार विभिन्न गाउँपालिकामा थप १५ ओटा शाखा ३ महीनाभित्र खोलिसकिने जानकारी दिए । उनले भने, ‘आगामी दिनमा हामी उद्यमशीलता, रोेजगारी, व्यापार व्यवसाय एवम् उत्पादकत्व अभिवृद्धिलगायत समग्र आर्थिक क्षेत्रको विकासका लागि निरन्तर क्रियाशील रहनेछौं ।’ रू. १२ करोडको चुक्तापूँजीबाट कारोबार थालेको बैङ्कको चुक्तापूँजी अहिले रू. ८ अर्ब १० करोड पुगेको छ । हालसम्म बैङ्कले रू. ८५ अर्बभन्दा बढी निक्षेप परिचालन गरी रू. ७६ अर्बभन्दा बढी कर्जा प्रवाह गरेको छ । बैङ्कमा ८ सय ७२ कर्मचारी कार्यरत छन् र तिनले ८ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदैआएको छ । वार्षिकोत्सवको अवसर पारेर बैङ्कले लुम्बिनी, झापालगायत मुख्य क्षेत्रमा करीब २ हजार ५ सय वृक्षरोपण गरेको छ । अहिले बैङ्कका ६९ ओटा शाखा, ७ ओटा एक्सटेन्सन काउण्टर, २ ओटा ई–कर्नर, एउटा इण्टच आउटलेट र ३ ओटा क्षेत्रीय कार्यालय गरी कुल ८२ ओटा व्यावसायिक एकाइ सञ्चालनमा छन् । यसबाहेक १ सय १० ओटा एटीएम पनि सञ्चालनमा रहेका छन् । बैङ्कले रजतजयन्तीको अवसर पारी शाखारहित बैङ्किङ पनि शुरू गरेको छ । बैङ्कले हालै सञ्चालनमा ल्याएका ३ ग्रामीण शाखा (चामुण्डा बिन्द्रासैनी गाँउपालिका–दैलेख, धर्मदेवी नगरपालिका–सङ्खुवासभा तथा गौमुखी गाँउपालिका–प्युठान)को रिमोट दबाएर डेपुटी गभर्नर शिवाकोटीले उद्घाटन पनि गरे । कार्यक्रममा बैङ्कको २५वर्षे व्यावसायिक यात्राका क्रममा प्राप्त उपलब्धि तथा नेपाली अर्थतन्त्र एवम् समाजमा पुर्‍याएका योगदानलाई समेटेर तयार पारिएको सचित्र ‘कफी टेबल बूक’ तथा बैङ्कका विविध गतिविधिसँग सम्बन्धित विद्युतीय तस्वीरहरूको सङ्ग्रह ‘मुभिङ कलेज’को पनि लोकार्पण गरिएको थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)