असार २४, काठमाडौं । विकासका क्रममा अन्धाधुन्ध नदीको दोहन भएको भन्दै सरोकारवालाहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । आइतवार राजधानीमा आयोजित ‘सेती नदी बेसिन वातावरणीय सवालहरू’ विषयक अन्तरक्रियाका वक्ताहरूले यस्तो विषय उठाएका हुन् ।
विगतमा भारतको कलकत्तादेखि चीनसम्मको व्यापारका लागि गण्डकी बेसिन (जहाँभित्रै सेती पनि पर्दछ) एक प्रमुख मार्गका रूपमा रहेको थियो । अब फेरी उक्त बाटो भारत र चीन जोड्ने रणनीतिक मार्गका रूपमा विकास हुँदैछ । यस सन्दर्भमा गण्डकी नदी बेसिनको विनाशप्रति चनाखो हुनुपर्ने विज्ञहरूको सुझाव छ ।
विकासले पर्यटनमा असर पार्न सक्नेप्रति सचेत हुनुपर्ने नेपाल वातावरण पत्रकार समूह (नेफेज)का महासचिव रमेश भुसालले बताए । ‘चितवन राष्ट्रिय निकुञ्ज, लाङ्टाङ तथा अन्नपूर्ण पदमार्ग जस्ता सबैभन्दा बढी पर्यटक तान्ने चिज यसै क्षेत्रमा छन्,’ उनले भने, ‘हामीले विद्युत् बेचेर विदेशी मुद्रा आर्जन गर्ने भनिरहेका बेला विदेशी मुद्रा आर्जन गरिरहेको यस क्षेत्रको पर्यटनलाई बिर्सनु हुँदैन ।’
एउटै नदीको स्वभाव पनि स्थानअनुसार फरक–फरक हुने भएकाले सोहीअनुसार संरक्षण र उपयोगको नीति आवश्यक रहेको भुसालको भनाइ छ । के कति मात्रामा नदीको उपयोग गर्दा पर्यावरणमा असर पर्दैन ध्यान दिन सके मात्रै विकास दीगो हुने उनको तर्क छ ।
पछिल्लो ४ दशकयता ५८ हजार किलोमिटर सडक खनिएको र त्यसमध्ये ९७ प्रतिशत कच्ची रहेको छ । खासगरी नदी करिडोरमा बहुआयामिक पक्षको ख्याल नगरी सडक निर्माण गर्नाले नदीका साथै बाटोकै पनि क्षति भइरहेको भुसालको तर्क छ । त्यसैगरी अढाइ दशकयताको जलविद्युत्को विकासका क्रममा पनि नदी बेसिनको बेवास्ता गरिएको कार्यक्रमका वक्ताहरूले बताए ।
काठमाडौं विश्वविद्यालय स्कूल अफ साइन्सका डीन डाक्टर सुबोध शर्माको भनाइमा पानीमा रहेका जीवका प्रजातिका आधारमा उक्त पानीको गुणस्तर पहिचान गर्न सकिन्छ । साथै पानीको गुणस्तरका आधारमा सम्बन्धित क्षेत्रको पर्यावरणीय वस्तुस्थिति पत्ता लगाउन सकिने उनको तर्क छ ।
कार्यक्रमका प्रमुख अतिथि, वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले कार्यक्रममा उठाइएका विषयवस्तुले आफ्नो ध्यानाकर्षण भएको बताएका थिए । उनले अनुसन्धाताहरूलाई अनुसन्धान गर्दा पछिल्ला प्रविधि र परम्परागत ज्ञानको समायोजन गरी गर्न आग्रह गरे । यसरी गरिएको अध्ययन मात्रै बलियो र हाम्रो परिवेश मिल्दो हुने उनको धारणा छ ।
सेती नदी जोगाउन नदीको संरक्षण, पानीको प्रयोग र विकास, संस्थागत व्यवस्थापन तथा प्रकोप जोखिम व्यवस्थापन जस्ता कार्य गर्नु आवश्यक रहेको नेफेजको निष्कर्ष छ । ६ महीनासम्म उक्त बेसिनको अध्ययन गरी नेफेज यो निष्कर्षमा पुगेको हो ।
सेतीका साथै अन्य नदी बेसिनहरूको पनि समुचित उपयोग गर्न सञ्चारकर्मीदेखि राज्यसम्मै संवेदनशील हुनुपर्ने नेफेजका अध्यक्ष अर्जुन ढकालले बताए । सञ्चारकर्मीहरूले गहन रिपोर्टिङ गर्ने, स्थानीय जनप्रतिनिधिहरूलाई जैविक विविधताको महत्वका सम्बन्धमा सचेत गराउने तथा विकासका योजना अघि सार्दा दीगो विकासको अवधारणालाई केन्द्रमा राख्नुपर्ने उनको भनाइ थियो ।