नेपाल वायुसेवा निगम : आगामी आवभित्र १० नयाँ विमान खरीद लक्ष्य
Jul 11, 2018
 
समाचार
मुख्य खबर
अभियान संवाददाता
काठमाडौं । नेपाल वायुसेवा निगमले आन्तरिक बजार अंश बढाउने लक्ष्यका साथ आगामी आर्थिक वर्षभित्र १० नयाँ विमान खरीद गर्ने लक्ष्य लिएको छ । नौओटा विमानबाट आन्तरिक उडान गर्दै आएको निगमको आन्तरिक बजारमा ३ प्रतिशत मात्र अंश रहेकाले बजार विस्तारका लागि आन्तरिकतर्फ आठ र अन्तरराष्ट्रियतर्फ दुईओटा विमान थप गर्ने योजना सार्वजनिक गरेको हो । एउटा नयाँ एअर बस ३३०–२०० आइसकेको र अर्को केही दिनमा आउने प्रक्रियामा रहेको अवस्थामा निगमको आगामी योजनाबारे जानकारी दिन काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।
सरकारले सार्वजनिक गरेको सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने योजनालाई थप टेवा पु¥याउन र प्रतिस्पर्धी बजारमा बलियो उपस्थितिका लागि नयाँ विमान थप गर्न आवश्यक प्रक्रिया अघि बढाइने निगम महाप्रबन्धक सुगतरत्न कंसाकारले बताए । उनले निगमसँगका ४ दशक पुराना तीन ट्वीनअटर हेलिकोप्टरलाई आगामी २ वर्षभित्र विस्थापित गरी आन्तरिक उडानतर्फ ६ नयाँ साना विमान, दुई एटीआर ७२ र दुई नयाँ न्यारो बडी विमान खरीद गर्न लागिएको जानकारी दिए । हाल निगमसँग तीन ट्वीनअटर, चार वाई टुवेल विमान, दुई एमए–६० र तीन न्यारो बडी र दुई वाइड बडी (१ वाइड बडी विमान ३ हप्तामा नेपाल आउने) रहेका छन् ।
निगमले नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्माण गरेका सबै विमानस्थलमा उडान गर्ने योजना रहेको पनि बताएको छ । आन्तरिक उडानतर्फ रुम्जाटार, साँफेबगर र चौरजहारीमा समेत सेवा सञ्चालन गर्ने गृहकार्य भइरहेको कंसाकारले बताए । उनका अनुसार निगमले खरीद गर्ने विमानका लागि करीब रू. १९/२० अर्ब लगानी गर्नुपर्ने भएकाले निगमले सस्तो ब्याजमा सञ्चयकोषसहित अन्य वित्तीय संस्थासँग ऋण लिने विषयमा अध्ययन गरिरहेको छ ।
निगमले नयाँ वाइड बडी एअरबस विमानबाट कतारको दोहामा पहिलो उडान गर्ने भएको छ । हप्ताको सातै दिन उडान गर्नेगरी निगमले गृहकार्य गरिरहेको बताइएको छ ।
हाल तीन विमानबाट आठ गन्तव्यमा उडान गरिरहेको निगमको थपिएको नयाँ वाइड बडी विमानबाट जापान, कोरिया र साउदी अरेबिया गरी थप तीन गन्तव्यमा उडान गर्ने योजना रहेको पनि सम्मेलनमा जानकारी दिइयो । वाइड बडीका लागि विदेशी पाइलट ल्याएर जहाज उडाउनुपर्ने बाध्यता रहेकाले निगमले सोहीअनुसार पाइलट लिने कंसाकारले बताए । कंसाकारले भने, ‘सबैतिर पाइलट अभाव नै छ । निगमका लागि अहिले २८ जना पाइलट विदेशी नै खोज्नुपर्ने स्थिति छ ।’