ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

म्याग्दीमा १२ हेक्टरमा टिम्मुरखेती

Jul 15, 2018  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
म्याग्दी । म्याग्दीमा यो वर्ष १२ हेक्टर क्षेत्रफलमा टिम्मुर खेती विस्तार भएको छ । जिल्ला वन कार्यालयले उपभोगविहीन खाली पाखोको सदुपयोग गरी समुदायको आयआर्जन वृद्धिमा सघाउने उद्देश्यले सामुदायिक र निजी वनमा टिम्मुरखेती गरेको हो । तीन सामुदायिक वन र ११ जना कृषकमार्फत १२ हजारभन्दा बढी टिम्मुरका बिरुवा रोपिएको जिल्ला वन कार्यालयका अधिकृत माधव देवले जानकारी दिए । बेनी नगरपालिका–९ तोरीपानीको निलपहरा र तुसारेपानी महिला तथा रघुगङ्गा गाउँपालिका–४ को दग्नाम सामुदायिक वनको १÷१ हेक्टर क्षेत्रफलमा १ हजार ओटाका दरले टिम्मुरका बिरुवा रोपिएको छ । कृषकलाई टिम्मुरका बिरुवा खरीद, ढुवानीका लागि १ लाख रुपैयाँ नगद अनुदान उपलब्ध गराइएको छ । बेनी नगरपालिका–९ तोरीपानीमा जडिवुटी भण्डारण तथा प्रशोधन केन्द्र स्थापना भएको छ । जिल्ला वन कार्यालयको सहयोगमा निलपहरा सामुदायिक वन उपभोक्ता समूहले टिम्मुर सुकाउने, प्रशोधन, तौलने र पिधेर मसला बनाउने औजार खरीद गर्नुका साथै भवन निर्माण भएको हो । औजार खरीदका लागि दुई वर्षअघि १० लाख रुपैयाँ अनुदान उपलब्ध गराएको वन कार्यालयले यस वर्ष भवन बनाउन ३ लाख ९० हजार रुपैयाँ सहयोग गरेको थियो । आगामी यामदेखि टिम्मुर प्रशोधन गरेर निकासी गर्ने तयारी भएको समूहका अध्यक्ष सागर बानियाँले बताए । यसैबीच रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेको कृष्ण तालाबन्दी सामुदायिक वन उपभोक्ता समूहले व्यावसायिक रूपमा सतुवा जातको जडिबुटी खेती शुरू गरेको छ । डेढ हेक्टर क्षेत्रफलमा सामूहिक सतुवा खेती गरिएको सहायक वन अधिकृत सागर खतिवडाले बताए । सतुवा खेतीका लागि समूहले १ लाख ६० हजार रुपैयाँ अनुदान उपलब्ध गराएको छ । यसैगरी, जिल्ला वन कार्यालयले अल्लो पूवा प्रशोधन र अल्लो कपडा निर्माण गर्ने औजार खरीद गर्न धवलागिरि गाउँपालिकाको नेचुरल नेपलिज ह्याण्डीक्राफ्ट प्रडक्शन हाउसलाई ३ लाख ९० हजार रुपैयाँ अनुदान उपलब्ध गराएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)