अभियान संवाददाता
पोखरा । पोखरा–५ का कृष्णकुमार सुनार निर्माण क्षेत्रमा काम गर्ने क्रममा ३ तला माथिबाट लडे । लामो समय वैशाखीको सहारामा जीवन बिताउन बाध्य सुनार गत माघबाट पुरानै अवस्थामा फर्किएका छन् । पोखराको विन्ध्यबासिनीमा रहेको ए एण्ड बी इण्टरनेशनल हस्पिटलमा डा. रविमोहन ढकालको टीमले गत माघमा उनको सफल शल्यक्रिया गरेर गेडी फेरेपछि उनी एक साताबाटै हिँड्न सक्ने भए । अहिले उनी स्कुटर चलाएर हिँड्नमात्र होइन, पुरानै व्यवसायमा काम गर्न सक्ने भएका छन् ।
पोखरा न्यूरोडकी शारदा सुवेदी घुँडाको समस्याका कारण हिँड्नै नसक्ने अवस्थामा पुगिन् । तलमाथि गर्दा, सिँडी उक्लदा अरुको सहारा लिनुपर्ने बाध्यता आइपर्यो । तर, अहिले सुवेदीको खुट्टाले पनि नयाँ जीवन पाएको छ । उनी अहिले घरको सबै काम गर्न सक्छिन्, उकालो ओराले पनि गर्छिन् । डा. ढकालकै समूहले उनको सफल शल्यक्रिया गरेको थियो । ‘मैले नयाँ जीवन पाएको अनुभूति गरेकी छु,’ उनले भनिन् ।
हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. ढकाल अमेरिकामा अध्ययनपश्चात नेपाल आएका हुन् । अहिले ए एण्ड बी हस्पिटलमा कार्यरत उनले सुवेदी र सुनारको मात्रै होइन लामो समयसम्म उपचार गराउन नसकेका हाडजोर्नीका जटिल प्रकारका बिरामीको उपचार गरको छन् । ए एण्ड बीमा अमेरिकन प्रविधिको उपचार शुरू गरिएको बताउँछन् डा. ढकाल । ‘जोर्नी बिग्रिएर हिँड्नै नसक्नेको शल्यक्रिया यहाँ सफल भएको छ,’ उनले भने, ‘विशेष प्रकारको मेटललाई रिप्लेस गरेर शल्यक्रिया गर्छौं ।’ मेटललगायत उपचारका लागि आवश्यक सबै सामान अमेरिकाबाटै निर्यात गरिएको उनले जानकारी दिए । ‘८ महीनाका अवधिमा जटिल प्रकारका १० शल्यक्रिया गरेका छौं,’ उनले भने, ‘सबै शल्यक्रिया सफल हुनु मेरो लागि मात्रै नभई अस्पतालको पनि सफलता हो ।’
सन् २००८ मा एबी केयर एण्ड रिहाबिलिटेशन हस्पिटलबाट शुरू भएको अस्पताल गत वर्षदेखि ए एण्ड बी इन्टरनेशनल हस्पिटलमा रुपान्तरण भएको हो । २५ बेडको स्वीकृत लिएको हस्पिटलले सेवालाई निरन्तर विस्तार गरिरहेको छ । २४ सैं घण्टा इमर्जेन्सी, आईसीयु तथा शल्यक्रिया, हाडजोर्नी तथा नशाको विशेषज्ञ सेवा, मधुमेह, थाइराइड, पेट, छाती, मुटुसम्बन्धी उपचार, पिसाब तथा मिर्गौलासम्बन्धी समस्याका उपचारलगायत सेवा हस्पिटलबाट प्रदान भइरहेको अस्पतालका प्रवन्ध निर्देशक ऋषि खतिवडाले जानकारी दिए ।
हस्पिटलले सेवाग्राहीको विश्वास जित्दै आधुनिक तथा स्तरीय सेवा प्रदान गर्न सफल भएको प्रमुख कार्यकारी अधिकृत लतालक्ष्मी पराजुलीको भनाइ छ । मेरुदण्डलगायतका जटिल प्रकारका अपरेशन शुरू गरेपछि हस्पिटलको उचाइ बढेको बताउँछिन् उनी । ‘अमेरिकन प्रविधिलाई हामीले यहाँ प्रयोग गरेका छौं,’ उनले भनिन्, ‘आगामी दिनमा सेवालाई अझ स्तरीकरण गर्न हामी सफल हुनेछौं ।’