भूकम्पपछिको पुनर्निर्माण : २ लाख ८ हजारले बुझे अन्तिम किस्ता
Jul 18, 2018
 
विकास
अभियान संवाददाता
काठमाडौं । घर निर्माण अन्तिम चरणमा पु¥याएर तेस्रो किस्ता लिने भूकम्प प्रभावित लाभग्राहीको सङ्ख्या २ लाख नाघेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको असार मसान्तसम्मको तथ्याङ्कअनुसार घर निर्माण सम्पन्न गरेका वा छानो छाउने तहसम्म पुर्याएका २ लाख ८ हजार ४३ लाभग्राहीले तेस्रो अर्थात् अन्तिम किस्ता बुझेका छन् ।
यसैगरी, तेस्रो किस्ताका लागि प्रमाणीकरण हुने लाभग्राहीको सङ्ख्या २ लाख ३४ हजार ९ सय ४२ पुगिसकेको छ । उनीहरू निजी आवास अनुदानको तेस्रो किस्ताबापतको १ लाख रुपैयाँ लिन योग्य भइसकेका छन् । तेस्रो किस्ताका लागि निवेदन दिने लाभग्राहीको सङ्ख्या २ लाख ४६ हजार २ सय ८८ पुगेको छ । यो तथ्याङ्कले गतवर्षको हिउँदे मौसममा पुनर्निर्माण शुरू भएका अधिकांश घरको निर्माण सम्पन्न भएको वा हुन लागेको देखाएको छ ।
जिल्लागत रूपमा दोलखामा सबैभन्दा धेरै ३३ हजार ५ सय ८२ ले तेस्रो किस्ता लिएका छन् । सिन्धुपाल्चोकका ३० हजार ४ सय ४४ र गोरखाका २९ हजार ८ सय ८० लाभग्राहीले तेस्रो किस्ता लिएका छन् ।
तेस्रो किस्ता लिने लाभग्राही बढेसँगै निर्माण सम्पन्न भएका घरको सङ्ख्यामा उत्साहजनक वृद्धि भएको छ । ५ लाख ९ हजार ४ सय १८ घर पुनर्निर्माणको चरणमा छन्, जसमध्ये २ लाख ३९ हजार ९८ को निर्माण सम्पन्न भइसकेको छ ।
त्यसैगरी दोस्रो किस्ता लिने लाभग्राहीको सङ्ख्या पनि उत्साहजनक ढङ्गले वृद्धि भएको छ । बुधवारसम्मको तथ्याङ्कअनुसार ४ लाख ४९ हजार ३ सय ३८ जना लाभग्राही दोस्रो किस्ता लिइसकेका छन् । भूकम्पप्रतिरोधी मापदण्डअनुसार डीपीसी तहसम्मको निर्माण गरेपछि लाभग्राहीले दोस्रो किस्ता पाउँछन् ।
पछिल्लोपटक गुनासो सम्बोधनपछि थपिएका समेत गरी कुल लाभग्राहीको सङ्ख्या ८ लाख ७ हजार ४ सय ८६ पुगेको छ, जसमध्ये ७ लाख २१ हजार ७ सय ३६ सँग अनुदान सम्झौता भइसकेको छ ।
राहतबापतको रकम भुक्तानी प्रक्रिया
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट पूर्वनिर्धारित मापदण्डको आधारमा सम्भाव्य लाभग्राहीको सूचीमा समावेश भइसकेपछि स्थानीय तह र बैङ्कमा पठाइएको विवरणबमोजिम व्यक्तिहरूले नागरिकताको प्रतिलिपि, लालपुर्जा फोटो तथा सर्भे निस्सालगायत विवरण पुष्टि हुने कागजात संलग्न गरी सम्बन्धित वडामा सम्झौता गर्नुपर्छ । वडा कार्यालयले सम्झौताको एक प्रति लाभग्राहीलाई दिई एक प्रति सम्बन्धित गाउँपालिका वा नगरपालिका कार्यालयमा र एक प्रति सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिल्लास्थित आयोजना कार्यान्वयन एकाइमा वडाको सिफारिशपत्रसहित पठाउनुपर्छ ।
त्यहाँबाट आवश्यक अभिलेख भिडाई भुक्तानीका लागि सोही जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यालयमा पठाउने व्यवस्था रहेको र कोलेनिकाबाट सम्बन्धित लाभग्राहीको बैङ्क खातामा जानेगरी चेक जारी गरिन्छ । व्यक्ति सम्झौताको कागज नागरिकताको प्रतिलिपि लिएर बैङ्कमा सोझै सम्पर्क गरी बैङ्कमार्फत भुक्तानी लिन सक्ने व्यवस्था रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उल्लेख गरेको छ ।