ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

लुम्बिनी फाइनान्सको अनियमितता प्रकरण : अनियमितताको रकम श्रीमतीको सहकारीमा

Jul 19, 2018  
समाचार मुख्य खबर
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । काठमाडौंको मध्यबानेश्वरमा सञ्चालित आर्र्या बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष हुन्, लेलिना भट्टराई । उनी लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनीका तत्कालीन प्रबन्ध निर्देशक चिन्तामणि भट्टराईकी धर्मपत्नी पनि हुन् । लुम्बिनी फाइनान्सबाट हुने अनियमित मिलान गर्न आर्या बचतको प्रयोग गरिएको दाबी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रस्तुत उजुरीमा गरिएको छ । लुम्बिनी फाइनान्समा प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत भएर लामो समय रहँदा भट्टराईले आर्थिक अनियमितता गरी अकुत सम्पत्ति कमाएको र त्यसको छानविन गर्न भन्दै केही दिनअगाडि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरिएको छ । उक्त उजुरीमा लुम्बिनी फाइनान्सका प्रबन्ध सञ्चालक र अन्य व्यक्तिले नियमविपरीत गरिएका निर्णयबाट सर्वसाधारण निक्षेपकर्ताको करोडौं रुपैयाँ डुब्ने अवस्था आएको आरोप छ । फाइनान्सले कम्पनीको नाममा रहेको गैरबैङ्किङ सम्पत्ति विक्री गर्दै आर्या सहकारीमार्फत कारोबार देखाएर रकम दुरुपयोग गरेको आरोप उजुरीमा छ । उजुरीमा उल्लेख भएअनुसार लुम्बिनी फाइनान्सले ल्याण्डमार्क अपार्टमेण्टलाई दिएको कर्जाको साँवा ब्याज असुल नभएपछि फाइनान्सले २०६९ असार ३१ मा ल्याण्डमार्कको ४ करोड २२ हजार ९ सय ३० रुपैयाँको धितो गैरबैङ्किङ सम्पत्तिका रूपमा लेखाङ्कन गरेको थियो । फाइनान्सले २०७२ असार २९ गते सो गैरबैङ्किङ सम्पत्तिलाई ३ करोड ९५ लाख रुपैयाँमा विक्री ग¥यो । त्यसमध्ये २ करोड ५९ लाख रुपैयाँ मात्र अपार्टमेण्टको कर्जा घटाउन प्रयोग गरियो । यसरी बाँकी १ करोड ३५ लाख रुपैयाँ दुरुपयोग गरेको सो उजुरीमा आरोप लगाइएको छ । सो १ करोड ३५ लाखमध्ये ६५ लाख ३२ हजार रुपैयाँ भट्टराईकी श्रीमती लेलिना अध्यक्ष रहेको आर्र्या बचत तथा ऋण सहकारीमा नियमविपरीत सारेको उजुरीमा उल्लेख छ । बाँकी रकम विभिन्न व्यक्तिको कर्जा राफसाफ गर्न र ओभरड्राफ्ट हिसाब मिलाउन प्रयोग गरेको दाबी गरिएको छ । अर्को आरोपअनुसार फाइनान्सका ऋणी रवीन्द्र मल्लको कर्जासँग सम्बन्धित गैरबैङ्किङ सम्पत्ति फाइनान्सबाट ऋणीलाई नै फिर्ता गर्न २०६९ कात्तिकमा मल्लले १ करोड ७ लाख जम्मा गरेका थिए । सो रकमबाट ५० लाख रुपैयाँ ऋणसँग सम्बन्धित गैरबैङ्किङ सम्पत्ति घटाउन प्रयोग गरी बाँकी ५६ लाख ६९ हजार रुपैयाँ आर्र्या बचत तथा ऋण सहकारीमा जम्मा गरिएको उजुरीकर्ताको दाबी छ । यसबाट भट्टराईले आफू प्रबन्ध सञ्चालक रहेको फाइनान्सको सम्पत्ति दुरुपयोग गरी आर्थिक उपार्जनका लागि अनियमित ढङ्गले सहकारीमा लगानी गरेको तर छानविन गर्ने निकायले भने सबै कुरा थाहा पाएर पनि कारबाही गर्न नसकेको उजुरीकर्ताको आरोप छ । मध्यबानेश्वरमा रहेको उक्त आर्र्या सहकारी १० वर्षअगाडि नै दर्ता भएर सञ्चालनमा रहे पनि केही वर्ष अगाडिदेखि सञ्चालक परिवर्तन भएर भट्टराई पत्नी लेलिना सञ्चालक समितिको अध्यक्ष रहेकी छिन् । उक्त सहकारीमा सबै सञ्चालक महिला छन् । सहकारीको बारेमा सोधपुछ गर्न चाहने र नयाँ ग्राहक बन्न चाहनेहरूका लागि सहकारीले अहिलेसम्म आफ्नो जानकारी समेटिएको ब्रोशर र अन्य विवरण पनि बनाएको छैन । सहकारीका बारेमा जानकारी माग्दा सञ्चालकहले ‘हामी नै हो सबै चलाउने भन्दै’ टार्ने प्रयास गरे । यसबाट सहकारीले नयाँ सदस्य बनाउनमा इच्छा नदेखाएको स्पष्ट हुन्छ । दैनिक कारोबारका लागि सहकारीमा चहलपहल धेरै नहुने भएकाले सहकारीले आप्mना नजीकका सीमित व्यक्तिमार्फत सहकारीको रकम प्रयोग गरिरहेको देखिन्छ । सहकारीमा सदस्य रहेकाहरूले दिएको जानकारीअनुसार उक्त सहकारीमा हाल ३ सयदेखि ४ सय जति सदस्य रहेका छन् । फाइनान्समा रहँदा गरेको विविध आर्थिक अनियमितताको पोल खुल्ने डरले तत्कालीन सञ्चालक भट्टराईले लुम्बिनी फाइनान्सलाई भिबोर सोसाइटी डेभलपमेण्ट बैङ्कसँग मर्जर गराएको आरोप अख्तियारमा प्रस्तुत उजुरीमा लगाइएको छ । उजुरीकर्ताको दाबीअनुसार लुम्बिनीमा रहँदा गरेको अनियमितताका कारण मर्जरपछि बनेको लुम्बिनी विकास बैङ्कलाई अहिले खराब कर्जा उठाउन अप्ठ्यारो स्थिति आएको छ । यद्यपि लुम्बिनी विकास बैङ्कका सम्बन्धित कर्मचारीसँग यस विषयमा बुझ्न खोज्दा उनीहरूले त्यस्तो अप्ठ्यारो नभएको दाबी गरेका छन् । उजुरीकर्ताले सर्वसाधारणको पैसामा केही अमुक व्यक्तिले आफ्नो अकुत सम्पत्ति जम्मा गरेको भन्दै लुम्बिनी फाइनान्ससँग सम्बन्धित घोटालाको तत्कालै अनुसन्धान गर्न माग गरेका छन् । तर, अहिलेसम्म यस विषयमा अख्तियारबाट कुनै कदम अगाडि नबढेकाले अनियमिततामा संलग्नहरूले प्रमाण नष्ट गर्ने र अनियमितता ढाकछोप गर्ने प्रयास गर्ने भन्दै यथाशीघ्र छानविनको माग गरिएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)