ईक्यान मेला शुरू : विश्वका उत्कृष्ट शैक्षिक गन्तव्यको जानकारी एकै ठाउँबाट
Jul 20, 2018
 
बजार
अभियान संवाददाता
काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरी काठमाडौंमा राष्ट्रिय शैक्षिक परामर्श (ईक्यान) मेला शुरू भएको छ । एकै स्थानमा विश्वका उत्कृष्ट गन्तव्य मुलुकको शिक्षा प्रणाली र अवसरको विषयमा जानकारी दिने उद्देश्यले सञ्चालित मेलाको यो १२औं संस्करण हो । मेलाको बिहीवार परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले उद्घाटन गरेका हुन् । सो अवसरमा उनले गुणस्तरीय उच्च शिक्षा खोजिरहेका विद्यार्थीका लागि मेला उपयोगी हुने बताए ।
२ सय २६ भन्दा बढी स्टल रहेको मेलामा १ सयभन्दा बढी स्वदेशी परामर्शदातृ संस्था सहभागी छन् । ४ दिने मेलामा अष्ट्रेलिया, यूरोप, जापान, अमेरिका, क्यानाडा, कोरिया, मलेशिया, फिलिपिन्स, भारतलगायत देशका परामर्शदाता कम्पनीको १७ ओटा पेभेलियन रहेको छ ।
मेलामा विश्वका उत्कृष्ट मुलुकको शिक्षा प्रणाली र अवसरको विषयमा जानकारी दिइने बताइएको छ । साथै, विश्वका विभिन्न मुलुकका विश्वविद्यालय तथा कलेजको प्रतिनिधित्व गर्ने शैक्षिक परामर्शदातासँग साक्षात्कारको अववरसमेत मेलामा उपलब्ध हुनेछ ।
प्रवेश निःशुल्क गरिएको मेलामा नीलगिरि डेण्टलबाट निःशुल्क डेण्टल क्याम्प, मनमोहन मेमोरियल अस्पतालबाट निःशुल्क प्राथमिक उपचार केन्द्र एवम् नेपाल रेडक्रस सोसाइटीबाट रक्तदान कार्यक्रमसमेत दैनिक सञ्चालन हुनेछ ।
मेलाको टाइटल स्पोन्सरमा यूरो एसिया एजुकेशन कन्सल्टेन्सी, इन एशोसिएशन विथमा मर्सी एजुकेशन कन्सल्टेन्सी, मेन स्पोन्सरमा काठमाडौं इन्फोसिस एजुकेशनल कन्सल्टेन्सी छन् ।