उत्कृष्ट विद्यार्थीलाई आईडीपीको अन्तरराष्ट्रिय छात्रवृत्ति
Jul 20, 2018
 
बजार
अभियान संवाददाता
काठमाडौं । आईडीपी एजुकेशनलले नेपाली विद्यार्थीका लागि अन्तरराष्ट्रिय शिक्षा छात्रवृत्तिको घोषणा गरेको छ । बिहीवार राजधानीमा आयोजित एक कार्यक्रममा आईडीपीले ५० हजार अष्ट्रेलियन डलरबराबरको छात्रवृत्तिको घोषणा गरेको हो ।
उक्त छात्रवृत्ति विदेशमा पढ्न चाहने १० उत्कृष्ट विद्यार्थीलाई प्रदान गर्ने बताइएको छ । विद्यार्थीको उत्कृष्टता उनीहरूको प्रतिष्पर्धा र शैक्षिक योग्यताका आधारमा तय गरिने आईडीपीका प्रमुख कार्यकारी अधिकृत एण्ड्र्यू बार्कलाले जानकारी दिए ।
छात्रवृत्ति अष्ट्रेलिया, अमेरिका, क्यानडा, न्यूजिल्याण्ड र आयरल्याण्डजस्ता अङ्ग्रेजी भाषा बोलिने देशमा पढ्न जाने विद्यार्थीलाई प्रदान गर्ने बताइएको छ । छनोट हुने विद्यार्थीलाई समग्र कोणबाट सहयोग पुर्याउने आफूहरूको उद्देश्य रहेको बार्कलाको भनाइ छ । ‘हामी विद्यार्थीका लागि उनीहरूको उत्कृष्ट शिक्षाका लागि जे जस्ता प्रविधि आवश्यक पर्छन्, सबै उपलब्ध गराउनेछौं,’ उनले भने, ‘त्यति मात्र होइन, उनीहरू सम्बन्धित देशमा उत्रिएपछि आवश्यक पर्ने कोठा, बैङ्क खातादेखि बीमालगायत सम्पूर्ण सेवा सुविधाको व्यवस्था पनि गरिदिनेछौं ।’
आईडीपीले विश्वका ३० भन्दा बढी देशमा काम गर्दै आएको छ । यसले नेपालमा लागि पहिलो स्टुडेण्ट प्लेसमेण्ट सर्भिसका रूपमा काम गर्न लागेको आईडीपीका दक्षिण एशिया क्षेत्रीय निर्देशक पीयूष कुमारले जानकारी दिए । यसका लागि अगष्ट १ देखि कार्यालय छनोट गरी प्रक्रिया अघि बढाइने आईडीपीले जानकारी दिएको छ । कार्यालय स्थापनापछि यसले नेपालबाट विदेशमा गई अध्ययन गर्न चाहने सम्पूर्ण विद्यार्थीका लागि आवश्यक विशेष सहयोग पुर्याउने उनले बताए । ‘हामी सबै विद्यार्थीले सही विषय, सही विश्वविद्यालय र उपयुक्त शहरको छनोटमा सघाउँछौं,’ उनले भने, ‘यसले विद्यार्थीको उच्चस्तरीय अन्तरराष्ट्रिय शिक्षा प्राप्तिमा महŒवपूर्ण भूमिका खेल्नेछ भन्ने हाम्रो विश्वास हो ।’
आईडीपीले नेपालका केही गैरसरकारी संस्थासँग सहकार्य गरी गुणस्तरीय शिक्षाको पहुँचबाट वञ्चित बालबालिकालाई सहयोग गर्ने पनि बताएको छ ।