ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मध्यभोटेकोशीमा स्थानीयको तालाबन्दी

Jul 23, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । सिन्धुपाल्चोकमा निर्माणाधीन १ सय २ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको फिल्ड अफिसमा आइतवार स्थानीयले तालाबन्दी गरेका छन् । अधिग्रहण गरिएका संरचनाको निर्माणसम्बन्धी ठेक्का प्रक्रिया विवादपछि तालाबन्दी भएको आयोजना स्रोतले बताएको छ । आयोजनाले अधिग्रहणमा परेका विद्यालय, स्वास्थ्य चौकी, प्रहरी चौकीलगायतको निर्माणका लागि देशव्यापी बोलपत्र आह्वान गरेको थियो । स्थानीयवासीले अवसर नपाउने अवस्था बनेको भन्दै विवाद भएको आयोजना प्रमुख सुनिलकुमार लामा बताउँछन् । तर, आयोजनाले आफ्नो प्रतिबद्धता पूरा नगरेका कारण समस्या आएको स्थानीय बाह्रबीसे नगरपालिकाका मेयर निम्फुञ्जु शेर्पाको भनाइ छ । ‘विद्यालय, स्वास्थ्य चौकी बनाइदिने, एम्बुलेन्स दिने तथा उक्त संरचना निर्माणको जिम्मा स्थानीयलाई दिनेलगायत विषयमा शुरूआतमै आयोजनाले जनतासँग लिखित प्रतिबद्धता गरेको थियो,’ मेयर शेर्पाले भने, ‘तर, अहिलेसम्म एम्बुलेन्स दिएको पनि छैन र संरचना निर्माणको ठेक्का पनि काठमाडौंको ठेकेदारलाई पार्ने चलखेल भएको छ ।’ प्रमुख जिल्ला अधिकारी (प्रजिअ)ले कमिशन खाएर बाहिरको ठेकेदारलाई ठेक्का पार्न खोजेको उनको आरोप छ । यस विषयमा बुझ्न खोज्दा प्रमुख जिल्ला अधिकारीसँग सम्पर्क हुन सकेन । ठेक्काका लागि स्थानीय र बाह्यको गरी २२ कम्पनीको आवेदन परेको थियो । तर, बोलपत्र बुझाउने अन्तिम दिन गत शुक्रवार प्रतिबद्धता नाघेर बाहिरकालाई पनि आवेदन खुला गरिएको भन्दै स्थानीयले विरोध गरेको आयोजना प्रमुख लामा बताउँछन् । तर, मेयर शेर्पा भने स्थानीयको विरोधका कारण प्रजिअले इच्छाएको व्यक्तिले ठेक्का नपाउने अवस्था बनेपछि प्रक्रिया रद्द गरिएको दाबी गर्छन् । आयोजनाले स्थानीयलाई पारेको प्रभावका सम्बन्धमा बेवास्ता गरेको उनको आरोप छ । ‘आयोजनाको सुुरुङ खन्दा निस्किएका ढुङ्गा, माटो खोलामा खसाल्नाले बाढी पहिरोको जोखीम भएको छ,’ मेयर शेर्पाले भने, ‘सोको व्यवस्थापनका लागि छलफल गर्न खोज्दा आयोजना प्रशासन तथा आयोजना बोर्ड कसैले समय दिएनन् ।’ शुक्रवार भएको विवादपछि आयोजना प्रशासन वार्ताको पहलमा लागेको छ । यही क्रममा प्रजिअले स्थानीय एक युवालाई थुनेको स्थानीयको भनाइ छ । ठेक्का प्रक्रियामा स्थानीयको गिरफ्तारीसमेतको विरोधमा आइतवार आयोजनाको स्थलगत कार्यालयमा ताला लगाएको उनीहरूले स्वीकारेका छन् । सन् २०१७ को जुनमा निर्माण सक्ने गरी शुरू गरिएको आयोजनाको म्याद थप गरी सन् २०१९ को जुनमा सक्ने लक्ष्य राखिएको छ । रू. १२ अर्ब २८ करोड अनुमानित लागत रहेको आयोजनामा कर्मचारी सञ्चय कोषले ऋण प्रवाह गरेको छ । चिलिमे कम्पनीको अगुवाइमा निर्माण भइरहेको आयोजनामा प्राधिकरण, सिन्धुपाल्चोकका चार इन्भेष्टमेण्ट कम्पनीहरू, कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, सिन्धुपाल्चोकवासी, सर्वसाधारणलगायतको लगानी रहने छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)