ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्यटन प्रवर्द्धनका लागि हिमालको संरक्षण आवश्यक

Jul 25, 2018  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । विश्वव्यापी तापमान वृद्धि र वातावरण प्रदूषणका कारण नेपाली हिमाल खतरामा पर्दै गएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । नेपालको पर्यटन प्रवद्र्धनमा हिमालको पहिलो भूमिका भए पनि हिमालको संरक्षणमा ध्यान दिन नसकिएको भन्दै नेपालको पर्यटन प्रवद्र्धनका लागि हिमालको संरक्षण आवश्यक भएको उनीहरूले बताएका छन् । राष्ट्रिय पर्यटन पत्रकार सङ्घ (नाटोज)ले काठमाडौंमा आयोजना गरेको सफा सगरमाथा अभियान विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीले सो चिन्ता व्यक्त गरेका हुन् । नेपालको पहिचान सगरमाथा भए पनि फोहोर र वातावरणीय समस्याका कारण सगरमाथालगायत हिमाल जोखीममा पर्दै गएको सहभागीको धारणा थियो । सरोकारवालाले सगरमाथा आरोहणबाट राजस्वमात्र दिनेभन्दा पनि त्यसलाई कसरी व्यवस्थित गर्ने भन्नेबारे सरकार गम्भीर बन्नुपर्ने बताए । कार्यक्रममा वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले सगरमाथा र अन्य हिमालको संरक्षण र संवद्र्धनविना नेपालको पर्यटनले गति लिन नसक्ने बताए । सरकारले स्वच्छ नेपाल अभियान शुरू गरिसकेको जानकारी दिँदै उनले सफा सगरमाथाका लागि महाअभियान चलाइने बताए । आफ्नो कारणले मात्र नभई विश्वव्यापी समस्याका कारण नेपालले असर भोग्नुपरेको भन्दै उनले यस विषयमा विकसित राष्ट्रसँग कुरा राख्ने र नेपालले त्यसबाट लिन सक्ने फाइदाबारे पहल गर्ने जानकारी दिए । उनले नेपालको पर्यटनलाई विश्वमा चिनाउने पहिलो प्रडक्ट सगरमाथा भएकाले यसको महत्त्व बचाइराख्न सरोकारवाला सबै लाग्नुपर्ने र त्यसका लागि सरकार सधै सकारात्मक रहेको धारणा राखे । पूर्वमन्त्री तथा सांसद् टेकबहादुर बस्नेतले पर्वतीय पर्यटन विकास र विस्तारका लागि सरोकारवाला सबै जागरुक बन्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले जलवायु परिवर्तन र तापक्रम वृद्धिका कारण नेपालका हिमनदी जोखीममा रहेको र यसले नेपाली जनजीवनलाई असर गरिरहेको बताए । सगरमाथाको सरसफाइ चुनौतीपूर्ण भएको बताउँदै उनले आफूहरूले व्यक्तिगत पहलमा सन २००८ बाट नियमित रूपमा फोहोर संकलन गरेको बताए । त्यसैगरी नेपाल वायुसेवा निगमका सञ्चालक समिति सदस्य निमानुरु शेर्पाले नेपालको पहिचान नै सगरमाथा भएकाले यसको सफाइ आवश्यक रहेको बताए । गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ नेपाल) का अध्यक्ष कमल सापकोटाले नेपाल गाउँ नै गाउँको देश भएको हुनाले ग्रामीण पर्यटनको विकासमा ध्यान दिनुपर्ने बताए । कार्यक्रममा सगरमाथा आरोही कल्पना महर्जनले आफूले सगरमाथा अरोहण गर्दा देखेको फोहोरले गर्दा सफा सगरमाथा अभियान शुरू गर्न लागेको बताइन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)