अभियान संवाददाता
काठमाडौं । सरकार र प्राडा गोविन्द पक्षबीच बुधवार भएको वार्ता विनानिष्कर्ष टुङ्गिएको छ । डा. केसीको मागका सम्बन्धमा सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा द्विपक्षीय छलफल भएको थियो ।
सरकारले मङ्गलवार दुवै पक्षबीच भएको समझदारी बमोजिमका विषयहरूमा सहमतिका लागि अनुरोध गरे पनि डा. केसी पक्षका प्रतिनिधिले असहमति व्यक्त गरेको सरकारी वार्ता टोलीका संयोजक खगराज बरालले बताएका छन् । डा. केसीको स्वास्थ्य स्थितिको संवेदनशीलतालाई ध्यानमा राखी यथाशीघ्र वार्ताद्वारा नै समस्याको समाधान गर्नुपर्ने भएकाले वार्ता टोलीलाई वार्तामा बसी सहमतिमा पुग्न सरकारले अनुरोध गरेको छ ।
यता, चिकित्सा शिक्षा विधेयकमा डा. केसी पक्षले राखेको संशोधनका प्रस्तावमा सरकारी पक्षले कुनै ठोस जवाफ नदिएपछि वार्ता विनानिष्कर्ष टुङ्गिएको डा. केसीको वार्ता टोलीका संयोजक डा. अभिषेकराज सिंहले बताएका छन् । डा. केसीको स्वास्थ्य असाध्यै कमजोर भइसक्दा पनि सरकारी पक्ष गैरजिम्मेवार बनेको आरोप लगाए । ‘अब हामीले दिएको सूचीका आधारमा सुधारसहित चिकित्सा शिक्षा विधेयक पास गर्ने प्रतिबद्धता आएपछि मात्र वार्तामा बस्छौं,’ उनले भने ।