अभियान संवाददाता
पोखरा । पोखरामा ‘फर्स्ट हिमालयन माउण्टेन क्रस कण्ट्री च्यालेञ्ज’ हुने भएको छ । पोखरा उद्योग वाणिज्य सङ्घले मित्रराष्ट्र चीनको कुन्मिन नगरको सहयोगमा पोखराको पर्यटनमा नयाँ ‘प्रडक्ट’ थप्न लागेको हो । पोखरा उद्योग वाणिज्य सङ्घको यो अभियानलाई पश्चिमाञ्चल होटल सङ्घले पनि सघाउने भएको छ । प्रतियोगिता सञ्चालनको सम्झौतामा शनिवार हस्ताक्षर भएको छ ।
आगामी सेप्टेम्बरमा आयोजना हुने यो प्रतियोगिताको नारा नै ‘रन फर लभ’ राखिएको छ । प्रतियोगितामा चीनको कुन्मिनबाट मात्रै करीब ४० खेलाडी सहभागी हुनेछन् । साथै, कुन्मिनसँग भगिनी सम्बन्ध रहेका विश्वका अन्य ४० ठाउँबाट पनि खेलाडी आउनेछन् । प्रतियोगितामा करीब ३ सय जना खेलाडीको सहभागी रहने बताइएको छ ।
४२ किलोमिटरको दूरी दौड, साइक्लिङ र पौडी समावेश हुने प्रतियोगिता पोखराको लेकसाइडबाट शुरू भई मट्टिखान कुभिण्डे, फुस्रेखोला, डेभिसफल्स हुँदै लेकसाइडमा आएर अन्त्य हुनेछ । यो दौडमा एउटा समूहमा एक जना अनिवार्य महिलासहित तीन जना सहभागी हुनेछन् । कुन्मिन माउण्टरियरिङ एशोसिएशनका विज्ञले लामो स्थलगत अध्ययनपछि दौडका लागि यो क्षेत्र चयन गरेका हुन् ।
पोखराको पर्यटन प्रवद्र्धनका लागि प्रतियोगिता कोसेढुङ्गा सावित हुने पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विश्वशङ्कर पालिखेले बताए । ‘प्रतियोगिताको अन्तरराष्ट्रिय रूपले प्रवर्द्धन गरिनेछ,’ उनले भने, ‘चिनियाँ मिडियाबाट हुने प्रवद्र्धनले पनि यहाँको पर्यटन उद्योगलाई टेवा पुग्नेछ ।’ कुन्मिन माउण्टेरिङ एशोसिएशनका अध्यक्ष झाङ सिले प्रतियोगिताले नेपाल र चीनबीचको सम्बन्ध अझ प्रगाढ बनाउने बताए ।
पोखरा उद्योग वाणिज्य सङ्घका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्कीले पोखराको पर्यटन प्रवद्र्धनका लागि यो प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा जोड दिए । सङ्घका महासचिव दामु अधिकारीले शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिको व्यवसायीकरणमा पोखरा उद्योग वाणिज्य सङ्घले खेलको भूमिकाको स्मरण गर्दै पर्यटनको विकासमा सङ्घ निरन्तर क्रियाशील भएको बताए । पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचनले पर्यटन प्रवर्द्धनका लागि निजीक्षेत्रले खेलेको भूमिका राज्यस्तरबाट पनि मूल्याङ्कन हुनुपर्ने बताए ।