‘शैक्षिक परामर्श क्षेत्रमा विदेशी कम्पनी नभित्र्याऊ’
Jul 29, 2018
 
समाचार
शिक्षा
मुख्य खबर
अभियान संवाददाता
साउन १३, काठमाडौं । नेपालको शैक्षिक परामर्श क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा विदेशी कम्पनी भित्र्याउने कुराको सरोकारवालाले विरोध गरेका छन् । यो क्षेत्रमा आईडीपी कम्पनी नेपालमा आउन खोजेको प्रसङ्गमा नेपाल शैक्षिक परामर्शका क्षेत्रमा सक्षम भएकाले विदेशीलाई प्रश्रय दिएर यहाँको पूँजी बाहिरिनबाट रोक्नुपर्ने शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील कम्पनीको भनाइ छ ।
थोरै लगानी गरेर धेरै पैसा बाहिर लैजान पाइने भएकाले यस्ता विदेशी कम्पनी नेपाल आउन खोजेको नेपाल शैक्षिक परामर्श सङ्घ (ईक्यान), फेकन, आइरिन, नायर, जाल्सनजस्ता संस्थाको भनाइ छ । ती संस्थाले आइतवार राजधानीमा गरेको पत्रकार सम्मेलनमा इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले नेपाल सरकारले समेत तत्काल यसको विरोध गर्नुपर्ने बताए । बरू यहाँ भएका परामर्श कम्पनीलाई थप नियमन गर्दै अगाडि बढ्न र भुटानको जस्तो मोडल अपनाउन उनले सुझाव दिए ।
‘यो उत्पादनमूलक क्षेत्र नभई सेवामूलक क्षेत्र भएकाले यसमा नेपाली आफै सक्षम छन्,’ उनले भने । नेपाली नागरिकले नै यो क्षेत्रका लागि आवश्यक पूँजी लगानी र दक्षजनशक्ति उत्पादन गर्न सक्ने भएकाले विदेशी कम्पनी भिœयाउनु जरुरी नभएको उनको भनाइ छ ।
यसैगरी, फेकनका अध्यक्ष युवराज खतिवडाले शैक्षिक परामर्शको क्षेत्रमा वैदेशिक लगानीका लागि उद्योग मन्त्रालयले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग राय मागेकोमा चासो नदिएको बताए । कानूनी तथा नीतिगत रूपमा विदेशी कम्पनी नेपालमा सञ्चालन हुन नपाउने व्यवस्था भएको उनको तर्क छ । हाल नेपालमा १ हजार ४ सय ७३ शैक्षिक परामर्श कम्पनीले स्वीकृति पाएका छन् । अहिले वर्षेनि ३० हजारको हाराहारीमा विद्यार्थी अध्ययनका लागि विदेश गइरहेका छन् ।