अभियान संवाददाता
सर्लाही । सर्लाहीको ईश्वपुरस्थित सागरनाथ वन विकास परियोजनाले अतिक्रमित २ सय ६५ हेक्टर र नदीले कटान गरेको ३५ हेक्टर वनक्षेत्रमा वृक्षरोपण गरेको छ ।
गत जेठ, असार र साउनको हालसम्म वृक्षरोपण कार्यक्रम आयोजना गरिएको हो । अतिक्रमित जग्गामा कथित सुकुमवासीले खेती गर्दै आएका थिए ।
परियोजनाका अनुसार उक्त क्षेत्रमा ५ लाख ५७ हजार ओटा टिक र मसला जातको बिरुवा लगाइएको छ । अतिक्रमित जग्गामा बिरुवा लगाउनुपूर्व काँडेतार लगाएर घेरा गरिएको थियो ।
परियोजनाकी सूचना अधिकारी चन्द्रकुमारी श्रेष्ठले सर्लाहीमा अतिक्रमणमा परेको झण्डै २६ सय हेक्टरमध्ये अब १३ सय हेक्टर जमीनमा वृक्षरोपण हुन बाँकी रहेको बताइन् ।
बाँकी अतिक्रमित जग्गा बागमती नगरपालिका क्षेत्रमा मात्र रहेको परियोजनाको तथ्याङ्क छ । परियोजनाले कार्यक्रम स्वीकृत भएको खण्डमा अतिक्रमण हटाएर भदौसम्ममा बाँकी क्षेत्रमा वृक्षरोपण गर्न सकिने बताएको छ ।