ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बढ्दै निकुञ्ज प्रवेश गर्ने पर्यटक

Aug 1, 2018  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटकको सङ्ख्या क्रमशः वृद्धि हुँदै गएको छ । नारायणगढ–मुग्लिन सडक सुधारसँगै पर्यटकको सङ्ख्यामा केही वृद्धि हुँदै गएको हो । भूकम्प, नाकाबन्दी र नारायणगढ–मुग्लिन सडक खण्डका कारण विगत ३ वर्षदेखि उल्लेख्य मात्रामा पर्यटक आउन सकेका थिएनन् । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत एवम् सूचना अधिकारी नुरेन्द्र अर्यालले गत आर्थिक वर्ष २०७४÷७५ मा १ लाख ५२ हजार ६ सय ७१ जना पर्यटक निकुञ्ज भित्रिएको जानकारी दिए । अघिल्लो आर्थिक वर्ष २०७३/७४ भने १ लाख ३९ हजार ९ सय ७८ पर्यटक निकुञ्ज भित्रिएका थिए । अर्यालका अनुसार आर्थिक वर्ष २०७२/७३ मा ८७ हजार ३ सय ९१ पर्यटकमात्रै निकुञ्ज प्रवेश गरेका थिए । पर्यटकको सङ्ख्या क्रमशः वृद्धि भए पनि उल्लेख्य मात्रामा भने वृद्धि हुन सकेको छैन । निकुञ्जले दिएको जानकारीअनुसार गत आर्थिक वर्ष २०७४/७५ मा ३४ हजार ५० नेपाली, १९ हजार ६ सय ९६ सार्क मुलुकका र ९८ हजार ९ सय २५ जना विदेशी पर्यटक निकुञ्ज प्रवेश गरेका थिए । अघिल्लो आर्थिक वर्ष २०७३/७४ मा ३६ हजार ५३ नेपाली, १५ हजार ९ सय ६ सार्क मुलुकका र ८८ हजार १९ विदेशी पर्यटक प्रवेश गरेको निकुञ्जले जानकारी दिएको छ ।

हालसम्म सबैभन्दा बढी आर्थिक वर्ष २०७१/७२ मा १ लाख ८४ हजार पर्यटक निकुञ्ज प्रवेश गरेको अर्यालले जानकारी दिए । निकुञ्जले मध्यवर्ती क्षेत्र र निकुञ्ज प्रवेश गर्ने पर्यटकको विवरण सङ्कलन गर्ने भए पनि जिल्लामा भित्रिने पर्यटकको सङ्ख्या अद्यावधिक गर्ने भने कुनै निकाय छैन । निकुञ्जले आर्थिक वर्ष २०७४/७५ मा पर्यटक प्रवेश शुल्कबाट मात्रै १६ करोड ७८ लाख ५४ हजार ६ सय ५० रुपैयाँ सङ्कलन गरेको छ । निकुञ्जले विदेशी पर्यटकसँग १ हजार ५ सय, सार्क मुलुकका सँग ७ सय ५० र नेपाली पर्यटकसँग १ सय रुपैयाँ (भ्याटबाहेक) प्रवेश शुल्क लिने गरेको छ । निकुञ्जले गत आर्थिक वर्ष २०७४/७५ मा सम्पूर्ण शीर्षकमा गरी २४ करोड ८१ लाख ९९ हजार ९ सय ९८ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । निकुञ्जले आर्थिक वर्ष २०७३/७४ मा २२ करोड ५१ लाख ६३ हजार ४ सय ९ रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । आर्थिक वर्ष २०७२/७३ मा १३ करोड १२ लाख २० हजार २ सय ५५ रुपैयाँ राजस्व सङ्कलन भएको निकुञ्जले जानकारी दिएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)