ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

४ हजार रोपनी सार्वजनिक जग्गाको लगत तयार

Aug 2, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाले नगर क्षेत्रको करीब ४ हजार रोपनी सार्वजनिक जग्गाको लगत सङ्कलन गरेको छ । उक्त जग्गामा प्रदेशस्तरका कार्यालय राख्न सिफारिशसमेत गरिएको छ । नगरले प्रदेशस्तरीय अस्पताल, विश्वविद्यालय, प्राविधिक शिक्षालय, खेलमैदान, रङ्गशाला र औद्योगिक ग्राम स्थापनाका लागि प्रदेश सरकारलाई प्रस्ताव गरेको हो । ‘विभिन्न स्थानमा रहेको धेरै क्षेत्रफलको जग्गाको तथ्याङ्क राखेर विभिन्न उपयोगका लागि प्रदेश सरकारलाई सिफारिश गरेका छौं,’ नगर प्रमुख किसान गुरुङले भने । उनका अनुसार नगरपालिकाको वडा–५, झरौटामा रहेको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको नाममा ७ सय रोपनी जग्गा प्रदेशस्तरीय अस्पतालका लागि प्रस्ताव गरिएको छ । वडा नं ५ मै रहेको भानुभक्त बहुमुखी क्याम्पसअन्तर्गत ४ सय रोपनी र सँगैको करीब ३ सय रोपनी जग्गा प्रादेशिक विश्वविद्यालयका लागि सिफारिश गरिएको नगर प्रमुख गुरुङले बताए । वडा नं ४ स्थित पञ्चमुनिदेव माविको नाममा रहेको १ सय रोपनी जग्गमाा प्राविधिक शिक्षालय, वडा नं ८, ढोरफिर्दीस्थित गाउँफर्कोदय माविको नाममा रहेको ७ सय रोपनी जग्गामा प्रादेशिक रङ्गशाला र वडा नं ९ घारीको १ हजार ६ सय रोपनी जग्गामा औद्योगिक ग्राम बनाउन सकिने नगरले सुझाएको छ । यसैगरी वडा नं ७, टुडाँ खैरनीटारमा रहेको ४ सय रोपनी जग्गालाई खेरमैदानको रूपमा विकास गरिने लक्ष्य नगरले राखेको छ । केही समय पहिला प्रदेशबाट नगरमा रहेका विभिन्न जग्गाको अवलोकनसमेत गरिएको नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत गैरेले बताए । यसैगरी शुनपा–२ का विभिन्न क्षेत्रमा क्रशर व्यवसाय र ब्लक उद्योगले करीब २ सय ८९ रोपनी क्षेत्रफल प्रयोग गरिरहेको उनको भनाइ छ । आगामी आर्थिक वर्षदेखि प्रतिरोपनी मासिक १ हजार ५ सय रुपैयाँ नगरपालिकालाई भाडा बुझाउनुपर्ने निर्णय भएको नगरपालिकाले बताएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)