अभियान संवाददाता
प्यूठान । पायक पर्ने ठाउँमा दूध सङ्कलन केन्द्र (डेरी) नहुँदा प्यूठान नगरपालिका–१० का पशुपालक कृषक मर्कामा परेका छन् । गाउँनजिकैको मरन्ठाना बजारमा डेरी स्थापना नहुँदा दूध बेच्नै मुश्किल भएको उनीहरूको गुनासो छ । स्थानीय बजारमा डेरी नहुँदा दैनिक २ घण्टा जोखीमपूर्ण बाटो हिँडेर दूध विक्री विक्री गर्न कृषकहरू बाध्य छन् ।
गाउँमा आधुनिक तथा व्यावसायिक रूपमा पशुपालन गरे पनि उत्पादनको बजारीकरणमा समस्या भएको सम्बद्ध कृषकहरूले बताएका छन् । प्यूठान–१०, अन्तर्गत स्यालपाखा, धरमपानी, खड्काटोल र टाकुराका आधा दर्जन कृषकले उन्नत जातका गाई तथा भैंसी पालन गरेका छन् ।
बर्खामा चिप्लो र जोखीपूर्ण बाटो हिँडेर खप्रेङ्खोलास्थित डेरीमा दूध पु¥याउने गरेको कृषक प्रितम केसीले बताए । ‘गाउँनजीक डेरी नहुँदा दूध बेच्न समस्या भएको छ,’ उनले भने, ‘बाटोको खराब अवस्थाले चिप्लिएर लड्दा दूध खेर जाने गरेको छ ।’ यस्तै, ठूलो पानी परेका बेला जोखीमपूर्ण रूपमा खोला तर्नुपरेको अर्का कृषक टेकुलाल गिरीले गुनासो गरे । मरन्ठाना खरिबोट बजारमा डेरीको व्यवस्था भए आफूहरूलाई सहज हुने पशुपालक कृषकको अपेक्षा छ । यसका लागि प्यूठान नगरपालिका–१० ले पहल गर्नुपर्ने उनीहरूले माग गरे ।