अभियान संवाददाता
उदयपुर । विद्यालयको गुणस्तर सुधारका लागि उदयपुरका दुईओटा गाउँपालिकाका करीब २ दर्जन विद्यालयले ‘नागरिक आवाज र कत्र्तव्य–सीभीए’ विधिको प्रयोग गर्ने भएका छन् । ताप्ली गाउँपालिकाका आठओटा विद्यालय र रौता गाउँपालिकाका १५ ओटा विद्यालयले सो विधिको प्रयोग गरी विद्यालयसँग सरोकार राख्ने सरोकारवालाको काम–कर्तव्य र स्थानीय स्रोतको परिचालनबारे छलफल थालेका छन् ।
‘नागरिक आवाज र कर्तव्य’ विधि भनेको बालबालिका तथा तिनका परिवारको दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पार्ने स्वास्थ्य र शिक्षाको सुधारका लागि समुदाय र सरकारबीच समन्वय गर्ने तथा सामाजिक जवाफदेहिता बढाउने अभियान हो ।
हाल दुवै गाउँपालिकाका २३ ओटा विद्यालयमा यस वर्ष सीभीए समूह गठन गरी पहिलो चरणमा नागरिक संलग्नता सुदृढीकरण र दोस्रो चरणमा सामुदायिक भेलामार्फत छलफल अगाडि बढाइएको सहजीकर्ता संस्था जाल्पा एकीकृत विकास समाजका अध्यक्ष पुष्पराज पोखरेलले बताए । २३ ओटै विद्यालयमा सीभीए विधि सञ्चालन एवम् सहजीकरणका लागि वल्र्ड भिजन इण्टरनेशनल नेपालले उक्त संस्थामार्फत सहयोग उपलब्ध गराउँदै आएको छ । विद्यालयमा छात्राछात्र, अभिभावक, विद्यालय व्यवस्थापन समिति र शिक्षकहरूको छुट्टाछुट्टै समूह गठन गरिएका छन् ।
विद्यालयमा गठन गरिएका ती समूहले बालमैत्री विद्यालय राष्ट्रिय प्रारूप–२०६७ ले तोकेका विभिन्न सूचकमाथि छलफल र विद्यालयमा रहेको विद्यमान अवस्थाको तथ्याङ्क सङ्कलन गरिरहेको रौता गाउँपालिका–४, सल्लेस्थित श्री माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद घिमिरेले बताए ।
गठित समूहहरूले प्राथमिकताका सूचकहरू– शिक्षकको उपस्थिति, कक्षाकोठामा शिक्षक, भवन तथा कक्षाकोठा व्यवस्थापन, पाठ्य पुस्तकको उपलब्धता, शौचालय, बूक कर्नर र शिक्षकका लागि पेशागत सहयोगबारे बृहत् छलफल गरिरहेको रौतामाई गाउँपालिकाको नवज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक खड्ग गदालले बताए । अभिभावकको समूहले हाल सरकारी विद्यालयमा पढाइरहेका शिक्षकले आफना छोराछोरीलाई नजीकैका निजी स्कूलमा पढ्न पठाइरहेको विषयमा गुनासो गरेका छन् । ‘हाम्रा विद्यालयका माष्टरले नै आफ्ना छोराछोरीलाई बोर्डिङ स्कूलमा पठाउँछन् भने अरूले के गर्लान् ?’ नवज्योति आधारभूत विद्यालय, व्यवस्थापन समितिका अध्यक्ष शङ्कर उपाध्यायले प्रश्न गरे ।
विद्यालयका शिक्षकहरूले भने विद्यालयमा पठनपाठनको वातावरण राम्रो भए आफूहरूले पनि छोराछोरीलाई अन्यत्र नलैजाने प्रतिबद्धता गरेको प्रअ गदालले बताए ।
विद्यालयमा गठित समूहले गरेका विभिन्न चरणको छलफलबाट आएका नतीजाको आधारमा नयाँ कार्ययोजना बनाइने भएको छ । ती योजना कार्यान्वयनमा ल्याउन स्थानीय निकायको भूमिका आवश्यक रहेको कार्यक्रमका सहजकर्ता युवराज राईले बताए । सीभीए विधि आगामी वर्ष (सन् २०१९) सम्म सञ्चालन हुने जाल्पाका अध्यक्ष पोखरेलले जानकारी दिए ।