साउन १७, काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बीमा योजना सार्वजनिक गरेको छ । बुधवार राजधानीमा एक कार्यक्रमको आयोजना गरी कम्पनीले प्राइम जीवन उपहार बीमा योजना सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत बीमितले एक बीमालेख खरीद गर्दा अर्काे बीमालेख उपहार स्वरूप सित्तैमा पाउने कम्पनीको भनाइ छ ।
यस योजना अन्तर्गत बीमितिले मुल बीमालेख खरीद गरेको एक बर्षमा उपहार स्वरूप सहायक बीमालेख पाउन सक्नेछन् । सहायक बीमालेखका लागि बीमा शुल्क तिर्नु नपर्ने कम्पनीको भनाइ छ । १६ देखि ५४ उमेर समूह भित्रका व्यक्तिले यो बीमा योजना खरीद गर्न सक्नेछन् । यस योजना अन्तर्गत मुल बीमालेखको समयअवधि १६ वर्षको हुनेछ भने सहायक बीमालेखको समयअवधि १५ वर्षको हुनेछ ।
कम्पनीले यो बीमा योजना उच्च स्तरीय व्यक्तिहरूका लागि मात्र भएको बताएको छ । यस योजनामा न्यूनतम बीमाङ्क रकम रू. ५ लाख तोकिएको छ । बीमितको इच्छा र क्षमताअनुसार अधिकतम रूपमा जतिपनि बीमाङ्क राख्न सक्ने कम्पनीले बताएको छ ।
बीमितले बीमाअबधि समाप्तीपछि बीमाङ्कको तीन गुणाभन्दा बढी रकम एकमुष्ठ पाउने कम्पनीको भनाइ छ । बीमा अवधि समाप्तीपछि बीमितलाई मुल बीमालेख अन्तर्गत बीमाङ्कको २५ प्रतिशत बीमाङ्क र १०० प्रतिशत बोनस रकम एकमुष्ठ प्रदान गरिने छ । यस्तै, सहायक (उपहार) बीमालेख अन्तर्गत बीमाङ्कको १०० प्रतिशत बीमाङ्क र १०० प्रतिशत बोनस रकम बीमितलाई प्रदान गरिने छ ।
बीमतिले आफ्नो इच्छा अनुसार दुर्घटना मृत्यु लाभ बीमा पनि गर्न सक्नेछन् । यदि, बीमा अवधि भित्र दुर्घटनाका कारणले बीमितको मृत्युभएमा निजको परिवारले करारमा उल्लेख भए अनुसार निश्चित रकम पाउने कम्पनीको भनाइ छ ।
कम्पनीका सीईओ मनोज कुमार भट्टराईले आगमी दिनमा पनि बीमा बजारमा फरक र उत्कृष्ट योजना ल्याउने उद्देश्य रहेको बताए । साथै, आम बीमितलाई सहज रूपमा बीमा सेवा उपलब्ध गराउने कम्पनीको मुख्य प्राथमिकता रहेको उनको भनाइ छ ।
यस्तै, बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईँले अब कम्पनी माथि नियमन कार्य प्रभावकारी बनाउने बताए । समितिमा आवश्यक कर्मचारी थपिसकेकाले अब उजुरीको आधारमा मात्र कम्पनी माथि निरिक्षण नहुने उनको भनाइ छ । उनले भने, ‘कम्पनीहरूको सहकार्यमा बीमा तालीम केन्द्र सञ्चालनमा आइसकेको छ, अब दक्ष जनशक्ति उत्पादन गरेर बीमा क्षेत्रलाई बलिलो बनाएर अगाडी बढाउछौं ।’ नयाँ कम्पनीहरूको आगमनका कारण गत आर्थिक वर्षमा बीमा पहुँच ४ प्रतिशतले बढेर ११ प्रतिशत पुगेको उनको भनाइ छ ।