काठमाडौं । अन्तरराष्ट्रिय बजारमा नेपाली चाँदीजन्य वस्तुको माग उच्च रहे पनि सरकारको अस्थिर नीतिका कारण उत्पादन तथा निर्यातमा बाधा पुगेको उद्योगी/व्यवसायीले बताएका छन् । नेपाल हस्तकला महासङ्घद्वारा शुक्रवार आयोजित ‘चाँदीजन्य हस्तकलाका वस्तुको निकासीमा देखिएका समस्या र निराकरणका उपाय’सम्बन्धी गोष्ठीमा उनीहरूले यस्तो बताएका हुन् ।
नेपाल हस्तकला महासङ्घका पूर्वअध्यक्ष एवम् व्यवसायी पञ्चरत्न शाक्यले सरकारको अस्थिर नीति नियमका कारण निर्यातजन्य उद्योगहरूमा समस्या देखिएको बताए । सरकारले कम परिमाण तर उच्च मूल्यका वस्तुअन्तर्गत पर्ने चाँदीजन्य वस्तुको निर्यात एवम् प्रवर्द्धनमा खासै चासो नदेखाएको उनले गुनासो गरे । उनले भने, ‘नेपाल व्यापार एकीकृत रणनीति (एनटीआईएस) २०१० को सूचीमा समावेश भए पनि २०१६ को परिमार्जित सूचीमा चाँदीजन्य वस्तु समावेश छैन । यसलाई निर्यात सूचीमा नराखेकोले यो सरकारको प्राथमिकतामा छैन भन्ने स्पष्ट हुन्छ ।’ शाक्यले व्यापार नीति २०१५ लाई संशोधन गरी चाँदीजन्य वस्तुको निकासीको लागि ठोस रणनीति समावेश गर्न पनि सरकारलाई सुझाव दिए ।
चाँदीसम्बन्धी ठोस नीति नहुँदा पछिल्लो समय मुलुकबाट निर्यात हुने चाँदीजन्य वस्तुको अवस्था खस्कँदो क्रममा रहेको त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक वीजेन्द्रमान शाक्यले बताए । भारत, बङ्लादेश, श्रीलङ्कालगायतका देशको उदाहरण दिँदै उनले ती देशहरूमा यस प्रकारका उद्योगलाई सरकारले आयकर र भन्सार छूट दिनुका साथै उच्च नगद अनुदान दिने गरेको बताए । उनले भने, ‘यसबाहेक निर्यातका लागि अलग्गै सेवा सुविधासमेत दिँदै आएका छन् ।’
शाक्यका अनुसार सन् २०१५ मा अन्तरराष्ट्रिय बजारमा चाँदीजन्य वस्तु निर्यात गर्ने एशियाली मुलुकमध्ये नेपाल ९औं स्थानमा रहेको थियो । तर अहिले निर्यातमा कमी आउँदा सो स्थान कायम राख्न नसकेको उनको भनाइ थियो । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्कअनुसार पनि नेपालको चाँदीजन्य वस्तुको निर्यात घटेको छ । आव २०७०/७१ मा नेपालबाट निर्यात भएका हस्तकलाका वस्तुमध्ये ४ दशमलव ३९ प्रतिशत चाँदीजन्य वस्तु भएकोमा आव २०७३/७४ मा घटेर २ प्रतिशतमा सीमित भएको छ ।
कार्यक्रममा चाँदीजन्य हस्तकलाका वस्तुको निर्यात सामान्य ग्राह्यता प्रणाली (जनरल सिस्टम अफ प्रिफरेन्स/जीएसपी) अन्तर्गतको ड्युटी फ्री कोटामा हुने गरेको जानकारी दिइएको थियो । विज्ञहरूले सहुलियत बढी दिने देशहरूमा निर्यात गर्नुपर्ने पनिसुझाव दिएका थिए ।
अन्तरराष्ट्रिय बजारमा चाँदीजन्य वस्तुको माग उच्च भए पनि सरकारी निकायको असहयोग तथा अन्य विविध समस्याका कारण निर्यात हुन नसकेको महासङ्घका अध्यक्ष धर्मराज शाक्यले बताए । उनका अनुसार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा चाँदीको स्रोत एवम् बिलबिजक माग्ने, १ सय ५० डलरभन्दा बढीको चाँदीका वस्तु विदेशी बजारमा लैजाने अनुमति नदिनेजस्ता समस्याका कारण उद्योगीहरू निरुत्साहित भएका छन् ।
देशभित्रै अन्तरराष्ट्रिय मान्यताप्राप्त प्रयोगशालाको स्थापनामा सरकारले चासो नदिँदा पनि थप समस्या हुने गरेको उनले स्पष्ट पारे ।
अर्थ मन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढुङ्गानाले नेपालको हस्तकला उद्योगको विकास एवम् प्रवर्द्धनका लागि सरकार आर्थिक तथा प्राविधिक सहयोग गर्न तयार रहेको बताए । उनले भने, ‘त्यसका लागि चालू आर्थिक वर्ष २०७५/७६ को बजेटमा भएको व्यवस्थाअनुरूप ५ प्रतिशत नगद अनुदानको व्यवस्था लागु गर्ने तयारी अघि बढिसकेको छ ।’ चाँदीजन्य वस्तुको निकासीमा देखिएका समस्याको समाधान गर्न निजीक्षेत्रले सस्तो एवम् गुणस्तरीय उत्पादनमा जोड दिनुपर्ने ढुङ्गानाको भनाइ छ । उनले आव २०७४/७५ को ११ महीनामा देशमा चाँदीको आयात १ सय ७२ प्रतिशतले वृद्धि हुँदा निर्यात भने सो अनुसार बढ्न नसकेको पनि बताए । उनका अनुसार चाँदीजन्य वस्तुको निर्यात सोचेअनुरूप बढ्न नसक्नुको कारण गुणस्तरीय एवम् सस्तोमा वस्तु उत्पादन गर्न नसक्नु हो ।
विमानस्थल भन्सारका प्रमुख भन्सार प्रशासक श्यामप्रसाद भण्डारीले भने आगामी दिनमा निर्यातलाई प्रवर्द्र्धन गर्न विमानस्थल भन्सारमा कुनै समस्या आउन नदिने आश्वासन दिए ।