अभियान संवाददाता
काठमाडौं । नेपाल मिडिया सोसाइटीको दोस्रो साधारणसभाले एबीसी न्यूजका अध्यक्ष तथा निवर्तमान महासचिव शुभशङ्कर कँडेलको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको छ । सोसाइटीको उपाध्यक्षमा सगरमाथा टीभीका अध्यक्ष निर्मल गुरुङ र महासचिवमा आर्थिक अभियान दैनिकका प्रधानसम्पादक तथा सोसाइटीका निवर्तमान सचिव मदन लम्साल निर्वाचित भएका छन् । यसैगरी सचिवमा न्यूज २४ का अध्यक्ष अनिल जोशी र कारोबार दैनिकका प्रबन्धक शिशिर भट्ट चुनिएका छन् भने कोषाध्यक्षमा फिल्मी टीभीकी निर्देशक निकिता पौडेल छिन् ।
१ महीनाअघि व्यक्तिगत कारण मिडियासम्बन्धी कुनै पनि सङ्घसंस्थामा सहभागी नरहने भन्दै निवर्तमान अध्यक्ष पुष्करलाल श्रेष्ठले राजीनामा दिएपछि सोमवार सोसाइटीले साधारणसभामार्फत नयाँ कार्यसमिति निर्वाचित गरेको हो । सभाले निवर्तमान महासचिव शुभशङ्कर कँडेलले प्रस्तुत गरेको आगामी कार्ययोजना तथा विगतको समीक्षा प्रतिवेदन पारित गरेको छ । साधारणसभाले प्रावधान पूरा भएका सबै सञ्चारमाध्यमलाई सदस्यता दिने निर्णय गर्नुका साथै अन्य प्रसारक तथा प्रकाशनसम्बन्धी सङ्गठनलाई समेत एशोसिएट सदस्यका रूपमा समेट्ने प्रस्तावसमेत पारित गरेको सोसाइटीले जानकारी दिएको छ ।
साधारणसभामा आगामी कार्यकालमा छिमेकी तथा अन्य देशका समकक्षी सङ्गठनसँग सहकार्य अघि बढाउँदै दक्षिण तथा दक्षिण पूर्वी एशिया क्षेत्रमा मिडियाको विकास, समस्या र चुनौतीका विषयमा विशेष बहस, छलफल तथा कार्यशाला गोष्ठीसमेत गर्ने निर्णय भएको छ । सभामा सोसाइटीका पूर्वअध्यक्ष तथा कान्तिपुर मिडिया ग्रूपका अध्यक्ष तथा प्रबन्धनिर्देशक कैलाश सिरोहियालगायतले मिडियालाई स्वच्छ, स्वतन्त्र र मर्यादित व्यवसायका रूपमा अघि बढाउन सबै एकजुट हुनुपर्ने धारणा राखेको महासचिव लम्सालद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
विगतमा प्रकाशन गृह र प्रसारण गृहहरूको अलग अलग संस्था रहकोमा ३ वर्षअघि दुवै सङ्गठनबीच एकता भएको थियो । एकीकृत भएपछिको अन्तरिम कालमा कैलाश सिरोहिया अध्यक्ष र शुभशङ्कर कँडेल महासचिव थिए । एकीकृत भएपछिको पहिलो साधारणसभाले नेपाल समाचारपत्रका प्रकाशक पुष्करलाल श्रेष्ठलाई अध्यक्ष र एबीसी न्यूज टेलिभिजनका अध्यक्ष कँडेललाई महासचिवमा निर्वाचित गरेको थियो । नेपाल मिडिया सोसाइटीमा हाल मूलधाराका १७ ओटा प्रकाशन तथा स्याटेलाइट टेलिभिजन प्रसारण संस्था सदस्य छन् ।