arthik abhiyan
ad banner

दुवै मिर्गौलामा समस्या आएपछि मात्र लक्षण देखिन्छ

Jul 5, 2019
अन्तरवार्ता स्वास्थ्य र जीवन शैली
Image Not Found
author avatar Kishwor Bam
प्राडा. प्रमोदकुमार सर्राफ वीरगञ्जको नेशनल मेडिकल कजेलका मिर्गौला विभाग प्रमुख हुन् । पछिल्लो समय नेपालमा मिर्गौलाका बिरामी बढ्दै गएको पाइएको छ । मिर्गौलाका बिरामीमध्ये आधाजसोलाई मधुमेह र उच्च रक्तचापका कारण यो समस्या देखिएको प्राडा. सर्राफ बताउँछन् । खानपान, जीवनशैलीमा सुधार र स्वास्थ्यसम्बन्धी सचेतनाबाट यसको न्यूनीकरण गर्न सकिने उनको भनाइ छ । प्रस्तुत छ, नेपालमा मिर्गौलासम्बन्धी स्वास्थ्य समस्या, यसका कारण र रोकथामका उपायका बारेमा आर्थिक अभियानका ओमप्रकाश खनालले नेशनल मेडिकल कलेजका मेडिकल डाइरेक्टरसमेत रहेका उनीसँग गरेको कुराकानीको सार : मधुमेहका बिरामीलाई मिर्गौलासम्बन्धी समस्या बढी हुन्छ भनिन्छ, यस्तो किन हुन्छ ? मिर्गौलामा समस्या हुने अरू पनि कारण छन् । तर, मिर्गौलाको समस्या भोगिरहेकामध्ये करीब आधाजसो मधुमेह र उच्च रक्तचापका बिरामीहरू देखिन्छन्, अर्थात् मिर्गौलाको डायलासिस वा प्रत्यारोपण गरेकामध्ये ५० प्रतिशतलाई मधुमेह र उच्च रक्तचापका कारण यस्ता समस्या आउने गरेको पाइएको छ । ४० प्रतिशतलाई मधुमेहका कारण भएको देखिन्छ भने उच्च रक्तचापबाट पीडित १० प्रतिशतमा मिर्गौलाको समस्या देखिएको छ । मिर्गौलामा पत्थरी र ट्युमरले पनि यो बिग्रिन सक्छ । तर मुख्य कारण चाहिँ मधुमेह र उच्च रक्तचाप नै हो । मिर्गौलामा समस्या आएपछि के कस्ता लक्षण देखिन्छन् ? मिर्गौलाको समस्यामा शुरूमा लक्षण देखिँदैन । एउटा मिर्गौलाले पनि काम गर्न सक्ने भएकाले दुवै मिर्गौला बिग्रिएपछि मात्र लक्षण देखिन्छ । यस्तो बिरामीलाई पिसाब पोल्ने समस्या हुन्छ । मिर्गौला रोगका कारण पिसाब गर्न अप्ठ्यारो हुन्छ । सुतेर बिहान उठ्दा अनुहार र आँखा सुन्निएको देखिन्छ । रोगले च्याप्दै लगेपछि पिसाब बन्द हुने, शरीर सुन्निने, दम बढ्ने, भोक नलाग्ने, वाकवाकी लाग्नेजस्ता लक्षण देखिन्छन् । मिर्गौला रोगको पहिचान र उपचार कसरी हुन्छ ? मिर्गौलामा समस्या भए नभएको पिसाब र रगत परीक्षणबाट थाहा हुन्छ । यसमा समस्या आउन लागेको शुरुआतको अवस्थामै थाहा पाउन वर्षमा कम्तीमा एकपटक रक्तचाप, मधुमेह र पिसाब जाँच गराउनुपर्छ । युरिया क्रेटिन परीक्षणबाट यो थाहा हुन्छ । यस्तो परीक्षण सबै उमेर समूहका मानिसले गराउनु पर्दछ । कतिपयमा यस्ता परीक्षणमा धेरै खर्च लाग्ने मानसिकता पाइन्छ । तर यो औसत ५ सय रुपैयाँ खर्चमा गर्न सकिन्छ । शुरुआतमै पत्ता लागेमा यसलाई सन्तुलनमा राख्न सकिन्छ । खानपानमा सतर्कता अपनाउनुपर्दछ । नियमित परीक्षण र उपचारले रोकथाम सहज हुन्छ । यसको उपचार कसरी हुन्छ ? शुरूमा समस्या देखिँदैन । एउटा मिर्गौलाले पनि काम गरिरहेको हुन्छ । जब दुईओटै मिर्गौलामा समस्या आउँछ, तब लक्षण देखिन्छ । औषधिले काम नगरेपछि हेमो डायलासिस गरिन्छ । तर यो उपचार भने होइन । यो बिरामीलाई राहतमात्र हो । यसमा मिर्गौलाले गर्ने काम उपकरणबाट गरिन्छ । यो हप्तामै दुई/तीनपटक गर्नुपर्दछ । प्रत्यारोपण शत प्रतिशत सफल नहुन पनि सक्छ । यसकारण खासगरी बढी उमेर भएका बिरामीलाई यो विधि बढी अपनाइन्छ । कम उमेरमै मिर्गौला बिग्रिएकालाई प्रत्यारोपणको सल्लाह दिइन्छ । मिर्गौलाको रोग लागेपछि यसको उपचार महँगो हुन्छ । यसलाई सहज बनाउने सम्बन्धमा तपाईंको कही सुझाव छ कि ? मिर्गौलाको प्रत्यारोपणमा कम्तीमा ३ लाख रुपैयाँ लाग्छ । र, महीनामा २० हजार रुपैयाँभन्दा बढीको औषधि नियमित खानुपर्दछ । मिर्गौला दिनेले पनि स्वास्थ्यमा सावधानी अपनाउनु पर्दछ । विकसित देशमा प्रिभेन्टिभ स्वास्थ्य सेवाको व्यवस्था छ । त्यहाँ मानिस बिरामी नै नहोस् भन्ने छ । त्यसमा सरकारको पहल हुन्छ । स्वास्थ्य बीमाको सहज व्यवस्था हुन्छ । ६/६ महीनामा स्वास्थ्य जाँच हुन्छ । हामीकहाँ यस्तो छैन, प्रिभेन्टिभ उपायमा सरकारको पहल पनि त्यति छैन । क्युरेटिभ स्वास्थ्य सेवा छ । बिरामी भइसकेपछि उपचार गराउन अस्पताल जाने चलन छ । अहिले प्रत्यारोपणमा सरकारले १ लाख रुपैयाँ सहयोग दिने गरेको छ । उपचारको खर्चको जोखिम वहनका लागि स्वास्थ्य बीमालाई प्रभावकारी ढंगबाट विस्तार गर्ने हो भने यो सहज हुन सक्छ । मिर्गौलामा समस्या आउन नदिन केमा ध्यान दिनुपर्दछ ? विश्व स्वास्थ्य संगठनले दक्षिण एशियाका बासिन्दालाई पर्याप्त पानी पिउन सुझाव दिएको छ । हामीकहाँ पानी सहजै उपलब्ध हुन्छ, तर पिउन कन्जुसी गर्छौं । जुन देशहरूमा पानीको पैसा तिर्नुपर्छ, त्यहाँ किनेर खान्छन् । प्रतिघन्टा एक गिलास पानी पिउने गर्नुपर्छ । दिनमा कम्तीमा तीन÷चार लिटर पानी पिउनु पर्दछ । पानीको कमीले पिसाबमा संक्रमण भएर मिर्गौला बिग्रिन सक्छ । सन्तुलित भोजन र दिनचर्या अपनाएर मधुमेह र रक्तचाप नियन्त्रणमा राख्नुपर्दछ । मिर्गौलामा समस्या आउनुको एउटा मुख्य कारण मधुमेह रहेछ । मधुमेहको मुख्य कारण चाहिँ के हो ? विश्वव्यापी अवलोकनले असन्तुलित जीवनशैलीलाई मधुमेहको कारण मानेको छ । विश्वमा ४ करोड मानिस यसबाट पीडित छन् । प्रत्येक पाँचजनामा एकजना मधुमेहका बिरामी पाइएको छ । हामीले सन्तुलित आहार र शारीरिक व्यायामको महत्त्व बुझैकै छैनौं । सन्तुलित भोजनमा ध्यान दिँदैनौं । सन्तुलित आहार गर्ने बानी नहुनु नै यसको मुख्य कारण हो । मोटोपनालाई बरु प्रतिष्ठाको रूपमा लिन्छौं, तर यो समस्या हो भन्ने बुझेर नियन्त्रणको प्रयास गर्दैनौं । मोटोपना बढ्न नदिन सबै सचेत हुनुपर्छ । विश्व स्वास्थ संगठनले भारतमा सबैभन्दा बढी मधुमेहका बिरामी रहेको देखाएको छ । पहिले चीन एक नम्बरमा थियो, अहिले दोस्रोमा छ । नेपालीको खानपान र जीवनशैली भारतसँग मिल्दोजुल्दो छ । यसकारण हामीकहाँ मधुमेहको समस्या धेरै छ । मधुमेह नहोस् भन्न सन्तुलित भोजन नै उत्तम उपाय हो । अधिकांशले उमेर र शरीरको तौलमा ध्यान दिएको पाइँदैन । तौल सन्तुलनमा राख्न खाना र व्यायाममा ध्यान पुर्‍याउनु पर्दछ । मधुमेह दुई प्रकारको हुन्छ । टाइप वान र टाइप टू भनिन्छ । टाइप वान बढीजसो २० वर्षभन्दा कम उमेरकालाई हुन्छ । यो १० देखि २० प्रतिशतको बीचमा पाइन्छ । यसमा इन्सुलिन बन्दैन । सन्तुलनमा राख्न इन्सुलिनको सुई नै लगाउनु पर्दछ । टाइप टु ३५/४० वर्षभन्दा माथिका मानिसलाई बढी देखिन्छ । तर यसमा इन्सुलिन नै चलाउनुपर्छ भन्ने हुँदैन । औषधि खाँदा पनि हुन्छ । यस्तो असन्तुलित जीवनशैलीे र बडी मास इन्डेक्सअनुसार तौल नभएकाहरूलाई बढी हुने सम्भवना हुन्छ । खाना र व्यायामको सन्तुलन कसरी मिलाउन सकिन्छ ? विश्व स्वास्थ्य संगठनका अनुसार दक्षिण एशियाका मानिसले दिनमा दुईपटक खाना दुईपटक खाजा खानुपर्छ । बिहान खाजा, दिउँसो खाना, बेलुकी खाजा र राति फेरि खाना खान भनिएको छ । तर यो खाना सन्तुलित हुनु पर्दछ । विकसित देशमा त दिनमा ६ पटकसम्म खान्छन् । मानिसको तौलको हिसाबले कति किलो क्यालोरी चाहिन्छ, त्यसको अनुसरण गर्नुपर्छ । जस्तै– प्रतिकिलोग्राम ४० किलोग्राम क्यालोरी चाहिन्छ । ५० किलोग्रामको मानिसले दिनमा २ हजार किलोग्राम क्यालोरी खाए पुग्छ । यसमा डाइटिसियनले उचित सुझाव र तरीका बताउन सक्छन् । त्यसमा कार्बोहाइड्रेट, मिनरल्स, प्रोटिन, प्mयाट सबै आउँछ । हामी भोक लागेको बेला मात्र खान्छौं, त्यो पनि आफ्नो स्वादअनुसार खान्छौं । टन्न मासु भात खाएर आराम गर्छौं । यसले मधुमेहको समस्या ल्याउँछ । मेडिकल साइन्सले सन्तुलित र शरीरको आवश्यकताअनुसार क्यालोरी समावेश हुनुपर्छ भन्छ । मानिसमा यो चेतनाको कमी छ । यसका लागि डाइटिसियनको सल्लाह लिन सकिन्छ । शरीरको उचाइ, उमेर र तौलको हिसाबले कुन खाना कति खाने भन्नेबारे डाइटिसियनले बताइदिन्छन् । हामी शुरूमा सल्लाह लिन मन पराउँदैनौं । बिरामी भइसकेपछि मात्र अस्पताल धाउँछौं । मधुमेहका लक्षण कस्ता हुन्छन् ? बढी प्यास लाग्ने, बढी पिसाब लाग्ने र बढी भोक लाग्ने यसका मुख्य लक्षण हुन् । पानी पिएको केही बेरमै मुख सुक्ने, खाना खाएको १ घण्टा पनि नबित्दै भोक लाग्ने, राति ५/६ पटक पिसाब लाग्नेजस्ता समस्या भएमा त्यो मधुमेह हुन सक्छ । मानिस दुब्लाउँदै पनि जान्छ । मधुमेहलाई रोगको घर किन भनिन्छ ? यो एउटा रोग लागेपछि अन्य धेरै रोग लाग्ने सम्भावना बढी हुन्छ । रगतमा चिनीको मात्रा नियन्त्रणमा भएन भने यसले अन्य धेरै रोग निम्त्याउँछ । रक्तचाप, मुटुको रोग, नसा जाम मधुमेहका कारण पनि हुन्छ । यसले मस्तिष्क र नसा कमजोर बनाउँछ । जीउ दुख्ने, पैताला पोल्ने, आँखा कमजोर हुँदै जाने जस्ता समस्या आउँछन् । यसले मिर्गौलालाई असर पार्छ । सुगर नियन्त्रणमा भएन भने मधुमेह लागेको २÷३ वर्षमै मिर्गौलाको समस्या देखिन थाल्छ । यो नियन्त्रणमा छ भने १५/२० वर्षपछि मात्र यस्ता समस्या केही मात्रामा देखिन सक्छ । मधुमेह लाग्न नदिन के गर्न सकिन्छ ? जीवनशैलीमा सुधार नै यसको मुख्य उपाय हो । शरीरको तौल र उमेरको हिसाबले सन्तुलित खाना खानुपर्दछ । हामीकहाँ भात बढी खाने चलन छ । स्वादका लागि नून, मसाला र चिल्लो बढी खानु हुँदैन । भिटामिनहरू खानाबाटै पूर्ति हुनुपर्दछ, शरीरमा बन्दैन । मिनरल्स पनि शरीरमा बन्दैन । त्यसैले शरीरका लागि आवश्यक सबै तत्त्व भएको सन्तुलित आहार सेवन गर्नुपर्छ ।
प्रतिक्रिया दिनुहोस्