arthik abhiyan
ad banner

कुलर, एयर कन्डिशनर, गमला, खाल्डाखुल्डीमा डेंगी सार्ने लामखुट्टे हुन्छ

Jul 12, 2019 
अन्तरवार्ता स्वास्थ्य र जीवन शैली
Image Not Found
author avatar आर्थिक अभियान

  पूर्वका सुनसरी मोरङ, झापा लगायत जिल्लामा पछिल्लो समय फैलिएको डेंगीबाट ५ सयभन्दा बढी मानिस संक्रमित भएका छन् । विराटनगर महानगरमा मात्र १० जनामा यसको संक्रमण भेटिएको छ । खासगरी नेपालको तराई क्षेत्रमा डेंगीको प्रकोप रहेको छ । डेंगी खासगरी एडिस एजिप्टाई जातको लामखुट्टेको पोथीले टोक्दा लाग्ने गर्छ । काठमाडौंमा एजिप्टाई जातको पोथी लामखुट्टे पाइन थालेको छ । यसले मुख्यतः वर्षायाममा फुल पार्ने गर्दछ । काठमाडौंमा वर्षा शुरू भएसँगै यो जातको लामखुट्टे पनि बढ्ने अवस्था छ । प्रस्तुत छ– अस्ट्रेलिया र पूर्वी टिमोरमा डेंगी रोग नियन्त्रणमा अनुभव लिएका डेंगी रोग विशेषज्ञ डा. हेमसागर रिमालसँग डेंगीको संक्रमण, लक्षण, उपचार र नियन्त्रणबारे आर्थिक अभियानका विराटनगर संवाददाता रोशनी भट्टराईले गरेको कुराकानीको सार :  

डेंगी कसरी लाग्छ ? यसको कारण के हो ?

डेंगीको ज्वरो डेंगी भाइरसको संक्रमणले हुन्छ । यसलाई लामखुट्टेले सार्ने गर्दछ । यो रोग एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्दछ । डेंगी रोग लागेको मानिसलाई टोकेको लामखुट्टेले अर्काे मानिसलाई टोकेमा पनि यसको संक्रमण हुन्छ । अहिले जताततै पानी भरिएका खाल्डाखुल्डी छन् । यस्ता खाल्डाखुल्डी र यत्रतत्र फालिएका प्लास्टिकका बोतलमा जमेका पानीमा एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको बसाइ एकदमै सहज हुने गर्दछ । यसरी ती लामखुट्टेको संख्या बढेको छ । अहिले शुरू भएको मनसुनको पानीले पनि त्यस्ता खालका लामखुट्टे बढाउन सहयोग गर्दछ । यसरी यस्ता लामखुट्टेको संख्या जति बढ्छ, त्यति नै अनुपातमा यसको संक्रमण पनि बढ्ने गरेको पाइन्छ ।

महामारीका रूपमा फैलिनुको कारण चाहिँ के हो ?

हामी देश–विदेशमा यात्रा गरिरहेका हुन्छांै । यही क्रममा यो रोग पनि फैलिने गर्दछ । नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने यो रोग नेपालमा सन् २००६ तिर देखापरेको पाइन्छ । त्यो बेलामा थाइल्यान्ड, मलेशिया, सिंगापुर, अल मेक्सिकन मुलुकमा व्यापक रूपमा यसको संक्रमण थियो । विश्व परिवेशमा हेर्दा पुरानो समस्या हो यो । एडिस एजिप्टाई जातको लामखुट्टेले टोकेपछि रगतमा भाइरस छिर्ने गर्दछ । अनि त्यही लामखुट्टेले अर्काे व्यक्तिलाई टोकेपछि यो भाइरसको संक्रमण हुन्छ । यसैले हामी पोथी लामखुट्टेलाई भेक्टर अर्थात् वाहक भन्ने गर्दछांै । अब यसरी हेर्दा जति लामखुट्टेले त्यस्ता डेंगी प्रभावितलाई टोक्छ, त्यति नै सर्ने सम्भावना पनि रहन्छ ।

लामखुट्टेको जातअनुसार पनि रोगको संक्रमण पनि फरक पर्छ र ?

हो, लामखुट्टेको जातअनुसार पनि यसबाट हुने संक्रमण फरक हुने गर्दछ । लामखुट्टेको आ–आफ्नो  विशेषता हुने गर्दछ । कुनै लामखुट्टेले मलेरिया सार्ने काम गर्दछ । अर्काे लामखुट्टेले इन्सेफलाइटिस सार्ने गर्दछ । एडिस एजिप्टाई जातको लामखुट्टे चाहिँ बिहान घाम लागेपछि सक्रिय हुन थाल्छ । पहिलो १–२ घण्टा यो बढी नै सक्रिय हुन्छ । त्यो समयमा यसले टोक्यो भने डेंगी लाग्ने सम्भावना बढी हुन्छ । यसैगरी बेलुका सूर्यास्त हुनुभन्दा २–४ घण्टाअगाडि पनि यो धेरै सक्रिय हुन्छ । यो लामखुट्टे स्वभावैले धेरै उचाइमा उड्न मन पराउँदैन । अलिकति अँध्यारो र जमेको पानीमा बस्न रुचाउँछ । घरका कुलर, एअर कन्डिशन, गमला, इन्डोर प्लान्ट, प्लास्टिकका बोतल, चाउचाउका खोल, टायरलगायतमा बस्ने गर्छ । पानीका प्राकृतिक स्रोतहरूमा भन्दा हामीले फोहोर गरेका स्थानमा यिनीहरू बढी हुन्छन् । यसकारण घरदेखि शहरको सरसफाइ राम्रोसँग गर्न सकियो भने डेंगीको संक्रमण रोक्न सकिन्छ ।  

हरेक वर्ष डेंगीको संक्रमण देखिन्छ, यसलाई निर्मूल पार्न के गर्नुपर्छ ?

सन् २००६ मा नेपालको पश्चिमी भूभाग, भेरी नेपालगञ्जतिर डेंगीको संक्रमण ठूलो संख्यामा देखिएको थियो । यसको उन्मूलन गर्न लामखुट्टेकै निर्मूल गर्नुपर्छ । यो काम निकै कठिनाइपूर्ण पनि छ । एडिस एजिप्टाई लामखुट्टेलाई रोक्न विशेषगरी घरआँगनमा सरसफाइ गर्नुपर्छ । लामखुट्टेको वासस्थानमा मालाथिन स्प्रे निरन्तर रूपमा गर्न सकियो भने यसको नियन्त्रण धेरै हदसम्म गर्न सकिन्छ । तर निर्मूल नै गर्न सकिने विषयमा म एउटा सानो उदाहरण दिन्छु । अस्ट्रेलियाको टाउन्सफिल भन्ने ठाउँमा डेंगी संक्रमित मानिस धेरै भेटिए । त्यो क्षेत्रमा खासगरी पूर्वी टिमोरका मानिस बढी यात्रा गर्दछन् । त्यसैले यसको संक्रमण पूर्वी टिमोरबाट सरेको आशंका गरियो । तर अध्ययनबाट एल्बोटिया रहेको लामखुट्टेले डेंगी भाइरस बोक्न नसक्ने पत्ता लाग्यो । त्यसपछि सरकारले एल्बोटिया भाइरससहितको लामखुट्टे उत्पादन गरेर वरपर छाड्यो । यसबाट एडिस एजिप्टाई लामखुट्टे कम हुन थाल्यो । यसको मतलब यसको निर्मूल गर्न बायो टोक्नोलोजीको पनि सहारा लिन सकिन्छ ।

डेंगीको ज्वरो र अन्य ज्वरोमा के फरक छ ?

ज्वरो भनेको कुनै पनि रोगको लक्षण मात्र हो । ज्वरो आफैमा रोग होइन । ब्याक्टेरियल भाइरल, फंगस इन्फेक्शन भएर पनि ज्वरो आउँछ । तर डेंगी भाइरसबाट आएको ज्वरो र अन्य कारणबाट भएको ज्वरोमा धेरै कुरा मिल्छन् । जिउ कटकट खाने, टाउको दुख्ने, असजिलो महसूस हुने, खान मन नलाग्ने, निद्रा नपर्ने लक्षण टाइफाइड, मेनेन्जाइटिस लगायतमा पनि हुन सक्छ । रुघाखोकीको ज्वरोमा पनि यो लक्षण हुन्छ । टाउको दुख्ने, आँखाका नानीहरू असाध्यै दुख्ने, हड्डीहरू टुक्राटुक्रा भए जसरी दुख्ने, जोर्नी दुख्ने, खान मन नलाग्ने, वान्ता हुने लक्षण भने अन्य भाइरल ज्वरोमा कम हुन्छ र डेंगीमा बढी हुन्छ ।  

यसका लक्षण के कस्ता हुन्छन् ?

डेंगी ज्वरोको मुख्य लक्षण एक्कासि उच्च ज्वरो आउनु हो । यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । ज्वरोका साथै निम्न लक्षणहरू पनि देखापर्छन्–

  • असाध्यै टाउको दुख्ने ।
  • आँखाका गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने ।
  • ढाड, जोर्नी तथा मांसापेशी दुख्ने ।
  • शरीरमा बिमिरा आउने ।
  • वाकवाकी लाग्ने ।
  • पेट दुख्ने ।
  • नाक वा गिजाबाट रगत बग्ने ।
  • रक्तश्राव हुने वा शरीरमा रगत जमेका दागहरू देखापर्ने, बेहोश हुने आदि ।

यसबाट बच्ने उपाय के के छन् ?

  • डेंगी ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । यसका साथै लामखुट्टेको वृद्धि रोक्नुपर्छ ।
  •  पानी जम्न सक्ने भाँडाहरू, जस्तै– गमला, पूmलदानी, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायर आदिमा पानी जम्न दिनु हुँदैन ।
  • पानीको ट्यांकीलाई लामखुट्टे प्रवेश गर्न नदिनेगरी छोपेर राख्नुपर्छ ।
  • कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक÷दुई चम्चा मट्टितेल हालिदिनुपर्छ । जम्मा भएको पानी सफा गर्नुपर्छ ।
  • फुलदानीमा रहेको पानी हप्तामा कम्तीमा पनि दुईपटक फेर्नुपर्छ
  • डेंगी सार्ने लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउनुपर्छ ।
  • सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नुपर्छ, साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनुपर्छ ।
  •  लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मल्हम दल्न पनि सकिन्छ ।
  •  घरका भ्mयाल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ ।
  • घरवरिपरि सफा सुग्घर राख्ने, पानी जम्ने खाल्डाखुल्डी पुर्ने गर्नुपर्छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्