arthik abhiyan
ad banner

मूल्य बढेपछि चितवनका सुनचाँदी पसल सुनसान

Aug 8, 2019
बजार
Image Not Found

चितवन (अस) । सुनको मूल्य बढेसँगै चितवनका सुनचाँदी पसल सुनसान देखिएका छन् । तीज नजिकिँदै गर्दा ग्राहकको उपस्थिति कम भएपछि व्यवसायी चिन्तित भएका हुन् । अघिल्ला वर्षमा साउन शुरू भएसँगै पसलमा भीड लाग्ने गरे पनि यसवर्ष सुनको मूल्यमा अत्यधिक वृद्धि भएकाले व्यापारमा कमी आएको हो । 

नारायणगढ, मिलनरोडका ‘जय सन्तोषी माँ’ सुनचाँदी पसलका रुवीन रामुदामु नियमित सुनको मूल्य वृद्धि हुँदा ग्राहक कम भएको बताउँछन् । ‘गत वर्ष यस समयमा ग्राहकको भीड लाग्थ्यो, यस वर्ष सुक्खा लागेको छ’, उनले भने । उनका अनुसार मूल्यवृद्धि हुँदा अघिल्लो वर्षको तुलनामा दैनिक ९० प्रतिशतसम्म कारोबारमा कमी आएको छ । 

रामुदामुको पसलजस्तै अन्य सुनचाँदी पसल पनि सुनसान छन् । कपडा लगायत अन्य दैनिक उपभोग्य सामानमा ग्राहकको भीड भए पनि सुनचाँदी पसलमा भीड कम भएको छ । सुन किन्न आउनेभन्दा पुरानो सुन विक्री तथा मर्मत गर्न ग्राहक आउने गरेको लोकमान एन्ड सन्सका सञ्चालक निलेनमान शाक्य बताउँछन् । ‘पहिले चाडबाडको सिजन शुरू हुनेवित्तिकै ग्राहकको भीड हुन्थ्यो, तर यस वर्ष सुन किन्न आउने ग्राहक मूल्य सोधेर मात्र फर्कन्छन्,’ उनले भने । 

सुनको मूल्य बुधवार रू. ७० हजार प्रतितोला पुगेपछि व्यवसायी चिन्तित छन् । नेपाल सुनचाँदी व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष एवम् ब्रुनाइ सुनचाँदी पसलका सञ्चालक अर्जुन रसाइली सुनमा आएको उच्च मूल्य वृद्धिका कारण व्यवसाय नै विस्थापन हुने डर भएको बताउँछन् । ‘जति सुनको भाउ बढ्दै गएको छ, उत्ति ग्राहकको संख्यामा कमी आएको छ,’ उनले भने, ‘अहिले विश्वमा अर्थसंकट देखिएको छ । रियलस्टेट र शेयर कारोबारीले सुनमा लगानी गर्न थालेका छन्, जसका कारण सुनको सञ्चय हुन गई अन्तरराष्ट्रिय बजारमा यसको माग बढ्न गई मूल्यसमेत बढेको हो ।’ हाल चितवनमा करीब ५०० सुनचाँदी पसल छन् । 

प्रतिक्रिया दिनुहोस्