arthik abhiyan
ad banner

नेपालको राजनीति  र पैसाको भूलभूलैया

Aug 9, 2019 
पाठक विचार
NA

यो मुलुकमा नेताहरूको योगदान छ । लोकतन्त्र, संविधान र संघीयता उनीहरूकै कारण आयो । तर, मुलुक व्यवस्थित रूपमा अघि जान भने सकेन । औसतमा प्रायः मानिस खुश छैनन् । जुन सरकार आए पनि भ्रष्टाचार र पैसाको भूलभूलैया रोक्न सकिएन । नेपालमा सरकारी स्कूल, कलेज, हस्पिटल, राजमार्ग, पुल आदिको विकास हुनुपर्थ्यो । तर, मुलुक व्यापारी जस्तो देखिइरहेको छ । बढी कर, शुल्क, रेमिट्यान्स र दाताको मुख ताक्ने बानीमा नै सरकार चलिरहेको छ । 

नेताहरूले मुलुकमा ठूलो परिवर्तन ल्याए, केही नेपालीको जीवनस्तर पनि थोरै मात्रामा बढाए । तर, केही गल्ती पनि गरे । नेताहरूमा देशलाई सुशासन दिने र विकास गर्ने सोच आएन । अब हामीले नयाँ पार्टीलाई पनि मौका दिनुपर्छ । पुरानै पार्टीमा पनि राम्रा व्यक्ति तथा नयाँ अनुहारलाई चुनावको समयमा टिकट दिनुपर्छ । 

जुनसुकै सरकार आए पनि प्रधानमन्त्रीहरू कडा हुन नसक्नु नै यो देशको विडम्बना हो । मुलुक द्रुत विकासमा जान नसक्नुको कारण पनि यही नै हो । प्रधानमन्त्रीले कुर्सी समात्ने बित्तिकै उनलाई कैयौं झमेलाले घेरेको हुन्छ । यस्ता समस्यालाई सल्टाउनु नै प्रधानमन्त्रीको खुबी हो । तर, आजसम्म यस्ता प्रधानमन्त्री जनताले हेर्न पाएनन्, यो मुलुकमा । पाएको भए भ्रष्टाचार, असुरक्षा, महँगी आदिको समाधान हुन्थ्यो होला । 

मुलुकमा नयाँ नेतृत्वको खाँचो छ । ‘खाए खा नखाए घिच’ भनेझैं हामी सधैं उही अनुहारलाई मत दिन बाध्य छौं । पुरानाले काम गर्न सकेनन् भनेर जान्दाजान्दै पनि तिनैलाई मत हाल्न बाध्य छौं । त्यसैले अब काम गरेनन् भनेर गाली गर्नेमात्र होइन, पुरानालाई मात्र मत दिने बानी बदलौं । नयाँ नेतृत्वले हाम्रो देशको विकास गर्ला भन्ने आशा गर्न सकिन्छ । 

हाम्रो जस्तो मुलुकमा जुनसुकै सरकार आए पनि स्पष्ट दृष्टिकोणको कमीले गर्दा नचाहिने कुरामा अल्झिरहेको हुन्छ । यहाँ विज्ञहरूको कमी छैन । तिनले काम गर्ने राम्रो अवसर नपाएको मात्र हो । त्यस कारण यस्ता विज्ञको परामर्श लिएर देशलाई अघि बढाउनु आजको आवश्यकता हो । 

हाम्रा दलहरूबीच घमण्ड, कलह र द्वेष पाइन्छ । यही कारण राजनीतिक अवस्था डामाडोल भइरहने गरेको छ । आफ्ना मान्छेले मात्र कुर्सीका लागि अवसर पाऊन् भन्ने सोच दलहरूमा छ । योग्य व्यक्तिले काम नपाउनु भन्दा लाजमर्दो कुरा अरू के होला ? त्यसैले अब हरेक सरकारी पद लागि खुला प्रतियोगिता मार्फत पूरा गरिनुपर्छ । 

देशको ऋणभार बढेको छ । उद्योग खुल्न सकेका छैनन् । व्यापारघाटा बढिरहेको छ । बैंकमा तरलताको समस्या छ । यिनै कारण हुन सक्छ युवा पुस्ता विदेश पलायन भइरहेको छ । तर, मुलुक हाँक्नेहरूले यसमा चिन्ता लिएको देखिँदैन । भ्रष्टाचार, गुटबन्दी, कर्मचारी फेरबदल, विज्ञहरूको रायसुझावको बेवास्ताकै कारण देश अघि बढ्न नसकेको हो । समग्रमा भन्नु पर्दा देशमा जुन प्रणाली आए पनि सर्वप्रथम राम्रो सोचको विकास गर्नुपर्छ । नकारात्मक र सानो पुरानो सोच त्यागी एकअर्कालाई सहयोग गर्नुपर्छ । एकअर्कालाई लाञ्छना लगाएर मुलुकको दु्रत विकास हुन सक्दैन । त्यसैले जनता सचेत हुन जरुरी छ । 

हामीमा अलिकति भए पनि राष्ट्रिय भावना हुनुपर्छ । विकासका लागि नेतृत्वलाई खबरदारी गरिरहनुपर्छ । यसो गर्न नसके देश बन्न निकै कठिन हो । 

रमेशकेशरी वैद्य

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्