arthik abhiyan
ad banner

लैंगिक विभेदविरुद्ध नेपालको सुधार

Aug 13, 2019
अन्तरराष्ट्रिय
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । कार्यस्थलमा हुने लैंगिक विभेदविरुद्ध नेपालले सुधार गरेको छ । रोजगारीमा लैंगिक विभेद विरुद्धको योजना ल्याउनेमा नेपालको अवस्थामा सुध्रिएको विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनले देखाएको हो । 

विश्व बैंकले सोमवार सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् २०१९ का लागि नेपालले महिला, व्यवसाय र कानून सूचकमा ५३ दशमलव १३ अंक पाएको छ । यो सूचकमा बेल्जियम, डेनमार्क, फ्रान्स, लातभिया र लक्जेम्बर्ग १०० अंकका साथ शीर्ष स्थानमा छन् । यो सूचकमा  नेपालभन्दा केही मुलुक मात्र पछि छन् । सूचकको अन्तिममा रहेको साउदी अरबले २९ दशमलव ६३ अंक पाएको छ । 

विश्व बैंकले यो सूचक निकाल्दा सम्बन्धित मुलुकमा महिलालाई एक्लै आवागमन गर्न, रोजगारी, तलब, विवाह, सन्तान, व्यवसाय, सम्पत्ति व्यवस्थापन र उपदान पाउने लगायत विषयलाई आधार मानेको थियो । प्रतिवेदन अनुसार नेपाल घरेलु हिंसामा रोक लगाउने मुलुकको सूचीमा पनि परेको छ । 

विश्व बैंकले नेपालमा महिलालाई एक्लै आवागमन गर्न स्वतन्त्रतामा १००, रोजगारी शुरू गर्ने मामिलामा ७५, तलब पाउनेमा ५०, विवाहको स्वतन्त्रतामा ६०, बच्चा पाउने स्वतन्त्रता शून्य, व्यवसाय सञ्चालनमा ७५, सम्पत्ति व्यवस्थापनमा ४० र उपदानको व्यवस्थामा २५ अंक दिएको छ । सबै विषयका लागि १०० पूर्णांक तोकिएको थियो । 

नेपालसँगै दक्षिण एशियामा अन्य मुलुकले पनि कार्यस्थलमा हुने महिला विभेद विरुद्धको अभियानमा सुधार गरेका छन् । महिला विभेदको अवस्थाको हिसाबमा दक्षिण एशिया विश्वमा सबैभन्दा कमजोर छ । तर, रोजगारीमा महिलाको विभेद विरुद्धको अभियानमा भने दक्षिण एशियाले उल्लेख्य सुधार गरेको छ । 

नेपालका साथै दक्षिण एशियामा अफगानिस्तान, माल्दिभ्स, पाकिस्तान, बंगलादेश र भारतले पनि कार्यस्थलमा हुने लैंगिक विभेदविरुद्धको अभियानमा सुधार गरेका छन् । दक्षिण एशियाली अर्थतन्त्रमध्ये ८८ प्रतिशतले कम्तीमा महिला विकासको एक सूचकमा सुधार गरेका छन् । 

त्यसैगरी, पूर्वी एशिया तथा प्यासिफिक क्षेत्रका अर्थतन्त्रमध्ये ८४ प्रतिशत र यूरोप तथा मध्य एशियाका अर्थतन्त्रमध्ये ७६ प्रतिशतले कम्तीमा एक सूचकमा सुधार गरेका छन् । 
 

प्रतिक्रिया दिनुहोस्