arthik abhiyan
ad banner

‘पठाओ लगायत कम्पनीलाई नियमन गर्नुपर्छ’

Aug 13, 2019 
यातायात
Image Not Found

काठमाडौं (अस) । निजी दुईपांग्रे सवारीसाधनबाट भाडामा यात्रु बोक्दै आएको पठाओ नेपालले ट्याक्सी सेवासमेत शुरू गरेपछि नेपाल मिटर ट्याक्सी व्यवसायी संघले यसको विरोध गरेको छ । मोबाइल एपमार्फत यातायात सेवा दिने नाममा पठाओ लगायत कम्पनी गैरकानूनी रूपमा चलिरहेको भन्दै संघले आपत्ति व्यक्त गरेको छ ।

यस्ता कम्पनीले व्यवसायी मारमा पर्नुका साथै ग्राहकसमेत ठगिरहेकाले नियमन गर्नुपर्ने संघले औंल्याएको छ । ‘कानूनी रूपमा सरकारले तोकेको भाडामा हामी मिटरमा चलिरहेका छौं,’ संघका अध्यक्ष अर्जुन गौतमले भने, ‘वैज्ञानिक भाडादर नहुँदा मिटरमा नचल्ने ट्याक्सी सेवालाई ठगीको धन्दा भनियो, तर अनलाइनबाट यसरी अवैज्ञानिक भाडादरमा चल्ने ट्याक्सीलाई चाहिँ कुनै कानून चाहिँदैन ?’ पठाओ जस्तै अन्य कम्पनी पनि आउन लागेकाले तिनलाई कानूनी दायरामा ल्याउन उनले सरकारसँग आग्रह गरे ।

मोबाइल एपमार्फत दुईपांग्रेमा ‘राइड शेयरिङ’ सेवा दिइरहेको पठाओले गत शुक्रवारदेखि सोही एपमार्फत ट्याक्सी सेवा शुरू गरेको थियो । पठाओले ३०० ट्याक्सीसहित काठमाडौं उपत्यकामा सेवा दिन थालेको हो । पठाओ एपमार्फत ग्राहकले दुईपांग्रेमा जसरी ट्याक्सी सेवा छनोट गर्न सक्छन् । सरकारले तोकेको भाडादरमा उसले १०० रुपैयाँ ‘सेवाशुल्क’ थपेको छ । 

सरकारले फ्ल्यागडाउन (शून्य किलोमिटर) रू. १४ र प्रतिकिलोमिटर रू. ३९ का दरले ट्याक्सी भाडा निर्धारण गरेको छ । यद्यपि पठाओ ट्याक्सीमा भने फ्ल्यागडाउनको रूपमा रू. ८६ बढी शुल्क राखिएको छ । यो सेवामा आबद्ध ट्याक्सी चालक सेवाग्राहीले बोलाएको ठाउँमा गई सेवा दिने भएकाले सेवाशुल्क राख्नुपरेको तर्क कम्पनीको छ । पठाओ नेपालका क्षेत्रीय निर्देशक असिममानसिंह बस्नेतले भने, ‘सो समयमा हुने पेट्रोल लगायत खर्चको रूपमा यो व्यवस्था गरिएको हो ।

यातायात व्यवस्था विभागले भने यस विषयमा आधिकारिक धारणा राखेको छैन । विभागका एक कर्मचारीले तोकिएको प्mल्यागडाउन नै सेवाशुल्क भएकाले छुट्टै सेवाशुल्क राख्नु नियमविपरित भएको प्रतिक्रिया दिए । विभाग अहिले महानिर्देशकविहीन रहेकाले नयाँ महानिर्देशकले चाहेमा यस विषयमा ठोस निर्णय हुने उनको भनाइ छ ।

‘पठाओ ट्याक्सी’ वा ‘पठाओ फूड’ सञ्चालनबारे मागिएको जनमतमा ९५ प्रतिशतले ट्याक्सी रोजेकाले तत्काललाई सोही सेवा शुरू गरिएको कम्पनीले बताएको छ । पठाओ फूड सञ्चालनको समेत तयारी भइरहेको कम्पनीकी बजार प्रबन्धक सुरक्षा हमालले जानकारी दिइन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्