arthik abhiyan
ad banner

भारतीय आलुमा विषादीको मात्रा ४७ प्रतिशत, ५२ बोरा विषादीयुक्त आलु नष्ट

Aug 13, 2019
प्रदेश ०४
Image Not Found
author avatar नरहरि पौड्याल

साउन २८, कास्की । पोखरामा विक्रीवितरणका लागि भारतबाट आयात गरिएको आलुमा विषादीको मात्रा ४७ प्रतिशत रहेको पाइएको छ । पोखराको पृथ्वीचोकस्थित कृषि उपज बजारमा विक्रीका लागि ल्याइएको सेतो आलुमा परीक्षणका क्रममा मानवस्वास्थ्यलाई नै प्रतिकूल असर गर्ने गरी विषादीको मात्रा अत्याधिक भेटिएपछि उक्त आलु नष्ट गरिएको छ ।

भारतबाट आयात गरिएको सेतो आलु विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला ईकाइमा जाँच गरिएको बाली संरक्षण प्रयोगशाला कास्कीका बाली संरक्षण अधिकृत संजीव बास्तोलाले बताए । ‘विषादी रोकावट दर ३० प्रतिशतसम्म हुँदा खान योग्य हुन्छ, यसको मात्रा ३० देखि ४५ प्रतिशतसम्म भएको अवस्थामा एक हप्ता अब्जर्भेशनमा राखेर पुनः प्रयोग गरेर योग्य भएमात्र खान सकिन्छ,’ उनले भने, ‘तर, परीक्षण गरिएको आलुमा ४७ प्रतिशत भेटियो, त्यस्ता वस्तुलाई नष्ट गर्नु पर्छ ।’ सचेत गराउनका लागि आलु नष्ट गरिएको उनको भनाइ छ ।

अधिकृत बास्तोलाका अनुसार पोखरा आएको तरकारी तथा फलफूलको कार्बामेट र अर्गानो फस्फेट जाँच गरिन्छ । नष्ट गरिएको आलुमा कुन विषादी प्रयोग गरिएको हो भनी पोखराबाट पत्ता लगाउन नसकिने उनले बताए । ‘पोखरामा हामीले क्याटागोरी मात्रै हेर्छौं, गहन तरिकाले हेर्ने मेसिन छैन,’ उनले भने, ‘क्याटागोरीमा फेल भएका तरकारी र फलफूल नष्ट गर्छौं, खान मिल्ने बजारमा विक्रीवितरण हुँदै आएका छन् ।’

५२ बोरा विषादीयुक्त आलु नष्ट
विषादी जाँचमा फेल भएका ५२ बोरा आलु नष्ट गरिएको छ । ४ जना व्यवसायीले भारतबाट ल्याएको सेतो आलुमा अत्याधिक विषादी भेटिएपछि समितिले आलु मानव स्वास्थ्यलाई हानिकारक हुने भन्दै नष्ट गरेको कृषि उपज बजारकी निमित्त बजार व्यवस्थापक रुपा दाहालले बताइन् ।

केही समयअगाडीदेखि विषादी जाँच हुन थालेको दाहालको भनाइ छ । ‘पहिले कर्मचारी अभावमा जाँच हुन सकेको थिएन, सरकारले कर्मचारी पठाएपछि परीक्षण हुँदै आएको छ,’ उनले भनिन्, ‘खान नहुने तरकारी बजारमा जाँदैन, सिधै नष्ट गर्छौं ।’ दाहालका अनुसार पोखरामा आलु, प्याज र फलफूल भारतबाट आउँछ । अन्य तरकारी गण्डकी प्रदेशका विभिन्न जिल्ला तथा सिजन अनुसार धादिङ, मकवानपुर, पाल्पा, चितवनलगायत तराईका जिल्लाबाट भित्रिन्छ ।

भारतबाट आयात हुने अन्य फलफूल र तरकारीमाहरुमा विषादीको मात्रा कम हुने गर्दछ । अहिलेसम्मको परीक्षणका क्रममा आलुबाहेक अन्य कृषिजन्य सामग्रीमा विषादी नभेटिएको दाहालले बताइन् ।

 

प्रतिक्रिया दिनुहोस्