arthik abhiyan
ad banner

जति भाउ बढे पनि सुन किन्नुहोस् : मार्क मोबियस

Aug 21, 2019 
अन्तरराष्ट्रिय
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । हालैका दिनमा अन्तरराष्ट्रिय बजारमा पहेंलो धातु सुन महँगिएको छ । अमेरिका र चीनबीच चलिरेको व्यापार विवाद तथा केन्द्रीय बैंकहरूले ब्याजदरमा गरेको कटौतीका कारण सुनको भाउले टेवा पाएको हो । नेपाली बजारमा पनि सुन अहिलेसम्मकै महँगो भएको छ । भाउ बढेपछि सुन पसलहरूमा सुन किन्ने मानिस खासै भेटिँदैनन्, तर बेच्नेको भने भीड लागेको छ । भाउ बढेको बेला बेचेर नाफा कमाउन सुन बेच्ने प्रवृत्ति बढेको हो । 

तर, मोबियस क्यापिटल पार्टनर्सका संस्थापक मार्क मोबियसले भने भाउ जति नै बढे पनि सुन किनेर राख्न सुझाव दिएका छन् । विश्वका प्रमुख केन्द्रीय बैंकहरूले मौद्रिक नीति खुकुलो बनाइरहेका छन् । डिजिटल मुद्राहरू अहिले चम्केका भए पनि यसले अन्ततः ‘हार्ड एसेट’ को माग बढाउने भएकाले सुनमा गरिएको लगानीले दीर्घकालमा ठूलै लाभ हुने उनको भनाइ छ । 

अहिले पैसाको आपूर्ति बढिरहेकाले सुनको दीर्घकालीन सम्भावना पनि बढेको र सुनको भाउ जुनसुकै स्तरमा बढे पनि किनेर राख्नु बेश हुने ब्लुम्बर्ग टिभीसँग कुराकारी गर्दै मोबियसले भने । सुनको भाउ बढेर कतिसम्म पुग्छ भन्नेबारे उनले केही पनि बताएका छैनन् । अमेरिका र चीनबीच लम्बिँदै गएको व्यापारयुद्धले अर्थतन्त्रमा पार्ने प्रभाव कम गर्न फेडेरल रिजर्भ लगायत अन्य प्रमुख केन्द्रीय बैंकले ब्याजदर कटौती गरिरहेका छन् । 

चीन लगायत अन्य देशमा पनि ब्याजदर घट्ने अपेक्षा मोबियसको छ । केन्द्रीय बैंकहरूको खुकुलो मौद्रिक नीतिका कारण यो महीना सुनको भाउ ६ वर्षकै उच्च विन्दुमा पुगेको थियो । आर्थिक मन्दी आउने संकेत बढेसँगै लगानीकर्ताहरूले सुनमा लगानी बढाएका छन् । 

बिट्क्वाइन लगायत डिजिटल मुद्राको बढ्दो भूमिकाले बहुमूल्य धातु बजारमा यस्ता मुद्राको वास्तविक मूल्यबारे बहस छेडिएको छ । यी मुद्राको बढ्दो लोकप्रियताले सुन लगायत परम्परागत सेफ हेभन एसेटप्रति आकर्षण घट्ने पो हो कि भन्ने चिन्ता पनि बढेको छ । तर, यसले सुनको खपत उल्टै बढाउने मोबियस बताउँछन् । डिजिटल मुद्राहरूको वृद्धि भए पनि सुनलगायत हार्ड एसेटको माग बढ्ने क्रिप्टोकरेन्सीहरूलाई ‘साइको करेन्सी’को संज्ञा दिँदै उनले भने । 

स्पट गोल्डको भाउ अगस्ट १३ मा प्रतिऔंस १ हजार ५५३ डलर पुगेको थियो । यो सन् २०१३ यताकै उच्च हो । मंगलवारको कारोबारमा भने यसको भाउ १ हजार ५०० डलरनजीक छ । यस वर्ष अहिलेसम्मको अवधिमा भने सुनको भाउ १७ प्रतिशत बढेको छ । मोबियसले जुलाईको शुरूतिर सुनको भाउ १ हजार ५०० डलरभन्दा माथि पुग्ने भविष्यवाणी गरेका थिए । 
 

प्रतिक्रिया दिनुहोस्